Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौथो गुरिल्ला म्याराथन सम्पन्न

११ जिल्लाबाट धावकहरु सहभागी
२०७९ असार ४
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा चौथो गुरिल्ला म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । तत्कालीन माओवादीले २०५२ सालदेखि झन्डै १२ वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धताका लडाकु अर्थात 'गुरिल्ला’ हिँडेको रुकुम पश्चिम र पूर्व तथा रोल्पाका पहाडी बाटोलाई ‘गुरिल्ला मार्ग’को रुपमा विकास गर्ने उदेश्यका साथ चार बर्ष अघिदेखि म्याराथन हुदै आएको छ ।

शुक्रबार महतदेखि रोल्पासम्मको १० किलोमिटर र ६२ किलोमिटरको म्याराथन प्रतियोगिता सम्पन्न भएको आयोजक भूमे गाउँपालिका युवा विकास केन्द्रका संयोजक सुनिल रोकामगरले जानकारी दिनुभयो । युद्ध पर्यटनलाई विकास र विस्तार गर्न र जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित भुमे गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा १० किलोमिटरमा ३० जना र ६२ किलोमिटरमा ६९ जनाले प्रतिस्पर्धा गरेका थिए ।

केन्द्रका संयोजक रोकाका अनुसार १० किलोमिटरको प्रतियोगितातर्फ पुरुषमा रोल्पाका जिवन थापा मगर प्रथम हुनुभएको छ । उहाँले एक घण्टा दुई मिनेटमा निर्धारित दुरी पार गर्नुभएको थियो । रुकुम पूर्वका केशव बुढामगरले एक घण्टा ४ मिनेटमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गर्नुभएको छ भने रुकुम पूर्वकै सन्दिप बुढाले एक घण्टा ६ मिनेटमा निर्धारीत दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्नुभएको छ । महिलातर्फको १० किलोमिटर प्रतियोगितामा १ घण्टा ४० मिनेटमा दुरी पार गर्दै रुकुम पूर्वकी सुनकुमारी सुनार प्रथम, १ घण्टा ५० मिनेटमा दुरी पार गर्दै रुकुम पूर्वकै प्रीया पुनमगर दोस्रो र २ घण्टा ९ मिनेटमा दुरी पार गर्दै यसै जिल्लाकी विनिता शेर्पाली तृतीय हुनुभएको छ ।

उहाँहरु सबैलाई क्रमशः दश शजार, ६ हजार र तीन हजार नगदसहित प्रमाण पत्रले पुरस्कृत गरिएको युवा विकास केन्द्रका संयोजक रोकामगरले बताउनुभयो ।

यस्तै ६२ किलोमिटर दुरीको म्याराथन प्रतियोगितातर्फ ५ घण्टा ५३ मिनेट २ सेकेन्डमा निर्धारीत दुरी पार गर्दै कर्णाली स्पोर्टस जुम्लाका दलबहादुर कुवर प्रथम हुँदै ५० हजारको साथमा प्रमाणपत्र प्राप्त गर्नुभएको छ । निर्धारीत दुरी ६ घण्टा २१ मिनेट ६ सेकेन्डमा पार गर्दै रुकुम पूर्वका हिमाल बुढामगर दोस्रो हुँदा ६ घण्टा ३५ मिनेट ५० सकेण्डमा दुरी पार गर्दै रुकुम पश्चिमका दुर्गा बुढा तेस्रो हुनुभएको छ ।

यस्तै ६ घण्टा ३५ मिनेट ५० सेकेन्डमा दुरी पार गर्दै सोलुखुम्बुका सुमन कुलुङ राई चौथो र ६ घण्टा ३६ मिनेट १९ सेकेन्डमा दुरी पार गर्दै रुकुम पूर्वका कमान बुढा पाँचौ हुनुभएको छ । दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेलाई क्रमश ३० हजार, १५ हजार, ८ हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

६२ किलोमिटरको महिलातर्फको प्रतियोगितामा ६ घण्टा ५६ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पार गर्दै कर्णाली स्पोर्टस क्लब जुम्लाका मन्जु रावत प्रथम हुनुभएको छ । उहाँले ५० हजार हात पार्नुभएको छ । ८ घण्टा ३१ मिनेट ४० सकेन्डमा दुरी पार गर्दै सोलुखुम्बुकी अनिता राईले दोस्रो हुँदै ३० हजार हात पार्दा ८ घण्टा २५ मिनेट १ सेकेन्डमा दुरी पार गर्दै रोल्पाकी अस्मिता विक तेस्रो भई १५ हजार हात पार्नुभएको छ ।

८ घण्टा ५८ मिनेट १ सेकेन्डमा दुरी पार गर्दै चौथो भई भोजपुरका अनिता राईले ८ हजार र ९ घण्टा ५८ मिनेट २१ सेकेन्डमा दुरी पुरा गरि पाँचौ हुँदै रुकुम पूर्वका अनिता बुढामगरले पाँच हजार हात पार्नुभएको छ । दशौ स्थानसम्मकालाई पनि नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

१० किलोटिरको रुट महत हुँदै लाबाङ– धर्मशालाबाट पुनः महत थियो । ६२ किलोमिटर म्यारथनको रुट महतबाट सुरु भई लाबाङ–छोर्वाङ–गल्च्योल–तिल्घा–ढङ्नै–जलजला–थबाङ–पोर्पोछेडा–मारिङ–ठुलो लेक हुँदै महत रहेको युवा विकास केन्द्रका संयोजक रोकाले बताउनुभयो ।

प्रतियोगितामा ११ जिल्लाबाट धावकहरु सहभागी भएका थिए ।

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ०६:०६
प्रतिक्रिया दिनुहोस्