प्रदेश सांसदको ज्ञान सहायकमा कर्णालीका १२ युवा छनौट

रुकुम पश्चिमबाट भावना र सन्तोष

सुर्खेत / कर्णाली प्रदेशका बिभिन्न जिल्लाका १२ युवाहरु यहाँको प्रदेश सभा सांसदहरूको ज्ञान सहायक पदका लागि छनौट भएका छन् । पूर्व–व्यवसायीक संसदीय अभ्यास सहयोग कार्यक्रम (पीपीएसपी) कार्यक्रम मार्फत प्रदेश सांसदहरूको ज्ञान सहायक पदका लागि कर्णालीका ६ युवा र ६ युवती गरी १२ जना छनोट भएका हुन् ।

छनोट भएका १२ जना युवाले अबको ६ महिनासम्म प्रदेश सांसदको ज्ञान सहायका रुपमा काम गर्ने बताईएको छ ।

यूएस एम्बेसीको आर्थिक सहयोग, पोखरा रिसर्च सेन्टरको समन्वय तथा ॠति फाउण्डेशनको आयोजनामा पीपीएसपी कर्णालीको ३ वटा क्याम्प सम्पन्न भएका छन् । पहिलो क्याम्पमा कर्णालीका ५० जना युवा सहभागी थिए । दोस्रो क्याम्पमा २५ जना छनोट भएका थिए । त्यस्तै अन्तिम पीपीएसपी फेलोसिपका लागि २५ जनाबाट १२ जना छनोट भएका हुन् ।

छनोट भएका १२ जना युवा युवतीलाई विधेयकको मस्यौदा निर्माण, सार्वजनिक नीति निर्माण, सांसदको काम कर्तव्य, मन्त्रालयगत समितिका जिम्मेवारी लगायतका विषयमा ३ दिने तेस्रो क्याम्प सुर्खेतमा सम्पन्न भएको छ । युवाले नीति निर्माणमा सघाउने, आवश्यक सल्लाह सुझाव दिने, सूचना उपलब्ध गराउने, ग्रामीण क्षेत्रका गुनासा टिप्ने लगायतका काम गर्ने छन् ।

पीपीएसपी फेलोसिपका लागि रुकुम पश्चिमका भावना शर्मा र सन्तोष वली छनौट हुनुभएको छ । त्यसैगरी जुम्लाका सागर परियार, दैलेखका श्रवण कुमार आचार्य र प्रेमबदा खड्का, जाजरकोटबाट प्रेक्षा खनाल, सल्यानबाट भुपेन्द्र डिसी र सुर्खेतबाट सुभाष सापकोटा, विनीता बोगटी, एकता देवकोटा, गोविन्द खड्का र ओजस्पी पौडेल छनौट हुनुभएको ॠति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले बताउनुभयो ।


१२ जना युवाहरुलाई नीति निर्माणका लागि सघाउने र ज्ञान सहायको जिम्मेवारी दिइएको छ । नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गर्न नेपालमै पहिलो गण्डकी प्रदेशपछि कर्णालीमा पीपीएसपी फेलोसिप कार्यक्रम सञ्चालन गरिएको पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार छनोट भएका १२ जनाले प्रदेश सांसदलाई ग्रामीण क्षेत्रका आर्थिक, सामाजिक र राजनीति विषयका सवाल उठान गर्ने र नीति निर्माण सांसदलाई सघाउने छन् । आगामी ६ महिना सांसदका काम कारबाही सफल पार्नसम्म १२ जनाले  ज्ञान सहायक भएर काम गर्ने छन ।

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  २१:०६
प्रतिक्रिया दिनुहोस्