Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
अझै तुइनकै भर

१८ बर्ष पुरानो तुइनमा जोखिमपूर्ण यात्रा, बिद्यार्थी र सर्वसाधारणलाई सधै मर्का

कर्णाली सरकारले सम्भाव्यता अध्ययन गर्ने
tribeni2

रुकुम पश्चिम / सरकारले २०७२ सालमा तुइन बिस्थापन कार्यक्रम ल्याउँदा रुकुम पश्चिमका खिमबहादुर नेपालीलाई भेरी तर्न अब तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्दैन भन्ने लागेको थियो । आठबीसकोट नगरपालिका १४ निवासी नेपालीलाई सात बर्षसम्म पनि घर नजिकको तुइनबाट भेरी तर्नैपर्ने बाध्यता छ ।

जाजरकोटका ज्ञानबहादुर घर्तिलाई पनि त्यो बेला दुई बर्षमै तुइन हटेर झोलुङ्गे पुलबाट आउजाउ गर्न पाईने रहर जागेको थियो । अहिलेसम्म पनि पायक पर्ने ठाउँमा झोलुङ्गे पुल बन्दा तुइनकै भरमा भेरी तर्नुपरेको छ ।

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ ठुलाबगरमा देखि रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १४ छोटेबगर जोड्न तुइनकै सहारा लिनुपर्ने बाध्यता स्थानीयको रहेको छ । यहाँका करिब तीन सय घरधुरीका जनताको तुइन छोडेर झोलुङ्गे पुल तर्ने रहर अझै पुरा हुन सकेको छैन । ज्ञानबहादुरले पढ्न जानेआउने बिद्यार्थी, किनमेलको लागि आउजाउ गर्ने सर्वसाधारण सबैले यहि तुइन तर्नैपर्ने बाध्यता रहेको बताउनुभयो । सरकारले ल्याएको कार्यक्रम सुनेको तर आफूहरुले उपभोग गर्न नपाएको उहाँको गुनासो छ ।

आठबिसकोट नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष हुकुमबहादुर पुनले तुइनकै सहारामा त्यहाँका स्थानीयले आउजाउ गरिरहेको बताउनुभयो । १८ बर्ष पहिला स्थानीयले बनाएको तुईनबाटै बिद्यार्थी र सर्वसाधारणले आउजाउ गर्नुपरेको उहाँले जानकारी दिनुभयो । ‘बजार आउजाउ गर्ने, बिद्यालय पढ्न जाने, उपचारको लागि अस्पताल जाने, मेलापात जाने सबैले तुइनबाटै आउजाउ गर्छन्’, वडा अध्यक्ष पुनले भन्नुभयो, ‘१८ बर्ष पुरानो तुइन झन् जोखिमपूर्ण अवस्थामा रहेको छ ।’

जाजरकोटको ठुलाबगर र रुकुम पश्चिमको छोटेबगर आउजाउ गर्ने यहाँ करिब तीन सय घरधुरी छन् । दैनिक एक सय जति बिद्यार्थी आउजाउ गर्छन् । यो ठाउँ भन्दा १ किलोमिटर टाढा झोलुङ्गे पुल रहेको तर अपायक भएको वडा अध्यक्ष पुनले उल्लेख गर्नुभयो । स्थानीय सरकार आएपछि तुइनको समस्या समाधान हुने आशा बोकेका स्थानीयवासीहरु पनि निराश भएका छन् । तीन पटक झोलुङ्गे पुल अति आवश्यकता छ भनेर स्थानीय सरकारलाइ प्रस्ताव पठाउदा आश्वासन मात्रै पाउने गरेको बताईएको छ । झोलुङ्गे पुलसँगै यस क्षेत्रमा सडक, स्वास्थ्य र विद्यालयको समेत आवश्यकता खड्किएको छ ।

सम्भाव्यता अध्ययन गर्दै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले उक्त स्थानलमा झोलुंगे पुल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले नलगाड नगरपालिका १ जाजरकोटको ठुलाबगरको भरी नदिमा झोलुंगे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न योजना सिफारिस गरेको बताईएको छ । प्रदेश मन्त्री गणेश प्रसाद सिंहले पुलको सम्भाव्यता अध्ययनको लागि सिफारिस गर्नुभएको हो ।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्