सोसल मिडिया
रुकुम पश्चिम / रुकुम पश्चिमका पाँच स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९/०८० को लागि ३ अरब ४१ करोड बढीको बजेट वक्तव्य ल्याएका छन् । शुक्रबार जिल्लाका पाँचवटा स्थानीय तहले नगर तथा गाउँसभामा तीन अरब ४१ करोड २० लाख ७० हजार ९७६ बराबरको वजेट वक्तव्य पेश गरेका हुन् ।
जिल्ला सदरमुकाम समेत रहेको मुसीकोट नगरपालिकामा सबैभन्दा बढी वजेट प्रस्ताव गरिएको छ । नगर उपप्रमुख बिमल कुमार पुनले ८६ करोड ७२ लाख ७१ हजार ५ सय २५ रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कुल रकम मध्ये चालुतर्फ ४८ करोड ५२ लाख ४४ हजार ५ सय २५ रकम विनियोजन गरिएको छ भने पुँजीगत तर्फ ३८ करोड २० लाख २७ हजार रकम विनियोजन गरिएको छ ।
जिल्लाको चौरजहारी नगरपालिकाले ६६ करोड ९३ लाख १८ हजार ५७९ बराबरको बजेट ल्याएको छ । नगर उपप्रमुख इश्वरी शर्मा बिएमले नगरसभामा पेश गर्नुभएको वजेटमा चालुतर्फ ४० करोड ९५ हजार ५७९ रकम बिनियोजन गरेको जानकारी दिनुभयो भने पुँजिगत तर्फ २६ करोड ९२ लाख २३ रकम प्रस्ताव गर्नुभएको छ ।
आठबिसकोट नगरपालिकाले ६७ करोड बढीको वजेट प्रस्ताव गरेको छ । उप प्रमुख धनकुमारी शाहिले ६७ करोड ६३ लाख २५ हजार ४५० रुपैयाँ बजेट वक्तव्य ल्याउनभएको हो । विनियोजन बजेट मध्य चालु तर्फ ४४ करोड ३३ लाख २५ हजार ४५० र पुँजीगततर्फ २३ करोड २९ लाख ९९ हजार ९९८ रकम विनियोजन गरिएको छ ।
त्यसैगरी जिल्लाको सानीभेरी गाउँपालिकाले ७० करोड बढीको वजेट प्रस्ताव गरेको छ । गाउँ सभामा गाउँपालिका उपाध्यक्ष कमला रोकाले आगामी वर्षका लागि ७० करोड ५५ लाख ९० हजार बराबरको बजेट प्रस्ताव गर्नुभएको हो । संघ र प्रदेशबाट प्राप्त हुने, गाउँपालिकामा मौज्दात रकम र गाउँपालिकाको अनुमानित आन्तरिक आम्दानीका आधारमा आगामि वर्षको बजेट निर्माण गरिएको गाउँपालिकाले उहाँले जानकारी दिनुभयो ।
त्रिवेणी गाउँपालिकाले ४९ करोड बढीको वजेट प्रस्ताव गरेको छ । गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले ४९ करोड ३५ लाख ६५ हजार ४२२ बराबरको वजेट गाउँसभामा प्रस्तुत गर्नुभएको हो । कुल विनियोजित बजेट मध्य चालुतर्फ ३६ करोड ८० लाख ६५ हजार ४२२ बजेट बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ १२ करोड ५५ लाख बजेट बिनियोजन गरिएको छ ।
सबै स्थानीय तहले ल्याएका वजेट उपर छलफल चलिरहेको बताईएको छ । ६ ओटा स्थानीय तह रहेको रुकुम पश्चिममा बाँफिकोट गाउँपालिकाले भने बजेट ल्याउन सकेन । बाँफिकोट गाउँपालिकाले शुक्रबार नीति तथा कार्यक्रम मात्र गाउँ सभामा ल्याएको छ ।