Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीमा सर्वसाधारणको पैसा, श्रमदान र जग्गादानबाट बनाएको गाउँघर क्लिनिक भत्कियो

'नयाँ पाएपछि पुरानोलाई बेवास्ता'
tribeni2

रुकुम पश्चिम / भाैतिक संरचनाको अभावमा कतिपय स्थानमा सरकारी सेवा प्रभावकारी हुन नसकेको पाईन्छ भने कहिकतै भाडामा कोठा लिएर पनि सरकारी सेवा प्रवाह भैरहेको पाईन्छ । तर, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भने बनाएको भवन प्रयोग बिहिन हुँदा भत्किएको छ । सरोकारवाला निकायको बेवास्ताको कारण स्वास्थ्य सेवा प्रवाह हुने गरेको भवन भत्किएको स्थानीयको गुनासो रहेको छ ।

त्रिवेणी गाउँपालिका २ गैरीनेटामा रहेको सामुदायीक स्वास्थ्य इकाईको भवन भत्किएको हो । सुरुमा गाउँघर क्लिनिक सञ्चालन गरिएको यो भवन निर्माणका लागि यहाँका करिब १८० घरधुरीले प्रत्येक घरबाट एक हजारको दरले रकम संकलन गरेका थिए भने श्रमदान समेत गरेका थिए । यस वडाको गैरीनेटा, बाँदरपानी, पानीगैरा, चिनछहरे, उनेचौर टोलका स्थानीयले उठाएको रकम र एक हप्ताको श्रमदानबाट उक्त भवन निर्माण गरिएको स्थानीय डिल्लीरमण ओलीले जानकारी दिनुभयो ।

‘स्थानीय चित्रबहादुर केसीले जग्गादान गर्नुभयो, सबैले रकम संकलन गरेर बनायौ’, उक्त भवन निर्माण समितिका सचिव समेत रहनुभएका ओलीले भन्नुभयो, ‘अहिले बेवास्ता हुँदा क्षति भएको, भत्किएको छ ।’ यसको पुनमर्मत गरेर सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

सुरुमा गाउँघर क्लिनिक संचालन भएको सेवा पछि सामुदायीक स्वास्थ्य इकाईमा रुपान्तरण भएको थियो । करिब चार बर्ष गाउँघर क्लिनिक र आठ महिना सोहि भवनबाट सामुदायीक स्वास्थ्य इकाइ सेवा प्रवाह भएपछि गत बर्षको साउन महिनामा उक्त इकाई नयाँ भवनमा सरेको थियो । नयाँ भवनबाट सामुदायीक स्वास्थ्य इकाईले सेवा दिन थालेपछि पुरानो कार्यालय भवन प्रयोगविहिन भएको हो । जनताको रकम र श्रममा बनेको दुई कोठे उक्त भवन सबैतिरबाट बेवास्ता गरिदा अहिले भत्किएको हो ।

बर्षदिन सम्म पुरानो भवनको कुनै हेरचाह नभएपछि भत्किदै गएको स्थानीय कमला कठायतले बताउनुभयो । ‘जनताले त्यत्रो लगानी गरेर सरकारलाई दियौ’, कठायतले भन्नभयो, ‘अहिले सरकारले वास्ता नगर्दा भत्कियो ।’ महिला स्वास्थ्य आमा समुहको अध्यक्ष समेत रहनुभएकी उहाँले उक्त भवन मर्मत तथा संरक्षण गरेमा महिला भवन, बाल शिक्षा भवन तथा वडा कार्यालय समेत सञ्चालन गर्न सकिने जनाउनुभयो । अहिले उक्त स्थानबाट करिब तीन घण्टा हिडेर भाडामा बसेको वडा कार्यालयमा सर्वसाधारण जानुपर्ने बाध्यता छ ।

यस बिषयमा स्वास्थ्य समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष मोतिराम पुनले उक्त भवनको पुननिर्माण जरुरी रहेको बताउनुभयो । उहाँले रकम अलि बढी लाग्ने भएकोले स्थानीयवासीहरुसँग सल्लाह गरेर समस्या समाधान गर्ने समेत जनाउनुभयो । दुई कोठे उक्त भवनको वरपर लगाईएको पर्खाल समेत भत्किएको छ भने भवनको छानामा रहेको जस्तापाता हावाले उडाईदिएको छ । स्थानीयको लगानी र श्रममा बनेको उक्त भवन वेवारिसे नबनाईने वडा अध्यक्ष पुनले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्