Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : धान दिवसमा हिलोमा डोरी तान्ने र गोरु दौडाउने प्रतियोगीता

र्‍याली, प्रतियोगिता र धान रोपेर दिवस मनाईयो
tribeni2

रुकुम पश्चिम / असार १५ लाई दही चिउरा खाने दिन तथा धान दिवसको रुपमा मनाइदै आईएको छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने चलन रहेको छ । यो अवसरमा परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसी मनाउँदै दही चिउरा खाने गरेको र सबै नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा मनाउन विकास भएको पाईन्छ ।

असारमा माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर धान रोप्न सुरु गरिन्छ । रुकुम पश्चिममा पनि सचेतनामुलक र्‍याली, प्रतियोगिता र धान रोपेर यस वर्षको १९ औं राष्ट्रिय धान दिवस मनाईएको छ । कृषि विकास कार्यालय रुकुम पश्चिमले मुसीकोट नगरपालिका ४ स्थित मिलिजुली महिला सहकारी सस्थाको सहकार्यमा बुधबार नगरपालिका ४ को सोलाबाङ्गमा हिलोमा डोरी तान्ने र गोरु दौडाउने प्रतियोगिताका साथ दिवस मनाएको छ ।

धान रोप्नको लागि हिलाम्म बनाएर तयार पारिएको खेतमा उक्त प्रतियोगिता गरिएको हो । कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले पुरुष र महिला जनप्रतिनिधिहरु बीच छुट्टाछुट्टै हिलोमा डोरी तान्ने प्रतियोगिता गरिएको बताउनुभयो । उहाँले पुरुष जनप्रतिनिधि र कर्मचारी बीचमा भएको डोरी तान्ने प्रतियोगितामा कर्मचारीको समुह विजेता भएको बताउनुभयो ।

जनप्रतिनिधिहरुको समुहको नेतृत्व मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले गर्नुभएको थियो कर्मचारीको समुहको नेतृत्व प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले गर्नुभएको थियो । महिला जनप्रतिनिधि र कर्मचारी बिचको डोरी तानातानमा भने बराबरी भएको थियो । प्रतियोगितामा सहभागी सबै टिमलाई नगर पुरस्कार दिईएको समेत निमित्त प्रमुख केसीले जानकारी दिनुभयो ।

त्यसैगरी गोरु दौडाउने प्रतियोगितामा स्थानीय कमान गिरी प्रथम र शालिकराम ओली द्वितीय हुनुभएको थियो । उहाँहरु दुबैलाई नगद पुरस्कार दिईएको थियो । प्रतियोगिता लगत्तै सहभागीहरुले धान रोपाईमा सहभागिता जनाएको मिलिजुली महिला सहकारी सस्थाका कमला पुनले बताउनुभयो । उहाँका अनुसार स्थानीय सोलाबाङमा सचेतनामुलक र्‍याली निकालेर कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी र कृषक र स्थानीयवासीले दहि चिउरा खाएर धान दिवस कार्यक्रमलाई मनाइएको हो ।

किसानहरुले उत्सवका रुपमा मनाउने धान दिवसको बिशेष महत्व रहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले कार्यक्रममा जानकारी गराउनुभयो । उहाँले रुकुम पश्चिममा मात्र तीन जार २७ हेक्टर जमिनमा धान खेती हुने गरेको जानकारी गराउनुभयो । जिल्लामा बार्षिक १३ हजार मेट्रिन धान उत्पादन हुने गरेको समेत उहाँले उल्लेख गर्नुभयो । हालसम्म जिल्लाभर ६५ प्रतिशत क्षेत्रमा धान रोपाई सकिएको केसीले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्