पूर्ण खोप सुनिश्चितता र घोषणाका आधारहरु

  • कृष्णा खड्का

राष्ट्रिय खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम हो । यसलाई जन स्वास्थ्यको सफल मध्ये प्रमुख कार्यक्रमको रुपमा इंगित गरिन्छ । स्वास्थ्य क्षेत्रमा सवै भन्दा लागत प्रभावकारी र बाल मृत्युदर घटाउन प्रमुख भूमिका रहेको कार्यक्रमको रुपमा राष्ट्रिय खोप कार्यक्रमलाई लिईन्छ ।

यस कार्यक्रमको लागि लक्षित समुह भनेको १५ महिना मुनिका बालबालिकाहरु हुन् । यसमा १३ वटा सरुवा रोगहरु (क्षयरोग, रोटा, पोलियोमाइलाईटिस, न्यूमोनिया, मेनिन्जाईटीस, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, जापानिज ईन्सेफालाईटिस, दादुरा, रुबेला र जापानिज इन्सेफलाइटिस,टाइफाइड) बिरुद्दका खोपहरु दिईन्छ । यसका साथै गर्भवती महिलाहरु ः गर्भवती महिलाहरुका लागि टी.डी., धनुष्टंकार र भ्यागुते रोग बिरुद्ध) पनि खोप लगाईन्छ ।

खोप सेवा मासिक देशभरका १६ हजार भन्दा धेरै खोप केन्द्र र १७ हजार भन्दा धेरै खोप शेसनहरुका साथै निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरु मार्फत प्रदान गरिँदै आएको छ । संस्थागत खोपकेन्द्रहरुमा प्रत्येक महिना, प्रत्येक स्वास्थ्य संस्थामा खोप सेवा सञ्चालन हुन्छ भने बाह्य खोप केन्द्रहरुमा प्रत्येक महिना, साविकका गा.वि.स.हरुको वडाहरुमा कम्तिमा ३ देखि ५ वटा केन्द्रबाट खोप सेवा दिईन्छ । घुम्ती खोप केन्द्र अन्तर्गत गाउँपालिका र नगरपालिकाको स्वास्थ्य संस्थाको पकडक्षेत्रको पहुँचबाट टाढा भएका वस्ति, समुदाय र भौगोलिक क्षेत्रमा कम्तिमा वर्षको ४ पटक खोप केन्द्र स्थापना गरी खोप सेवा प्रदान गरिएको हुन्छ ।

खोप केन्द्रहरुको योजना गर्दा तराईमा आधा देखि १ घण्टा भित्र तथा पहाड र हिमाली क्षेत्रमा बढीमा १ घण्टा ३० मिनेट भित्रको दुरीमा खोप केन्द्र स्थापना गर्नुपर्दछ । हालको नयां संरचना अनुसार सवै स्थानिय तहहरुमा खोप कार्यक्रमको सुक्ष्म योजना तयारी एवं खोप शेसन पुनर्योजना गर्नुपर्दछ । 

खोप कार्यक्रमको मुख्य उद्देश्य भनेको खोप बाट बचाउन सकिने रोगहरु लाई शुन्य अवस्थामा कायम गर्ने हो । यसले रोगहरु नियन्त्रण, रोगहरु निवारण रोगहरु उन्मुलनमा टेवा पुर्याउदछ ।

पूर्ण खोपको परिभाषा

पूर्णखोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोपहरु, सबै बालबालिकाहरुले पूर्ण रुपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरु थप भएमा सो समेत लिएको अवस्थालाई सम्झनुपर्दछ । हाल पूर्ण खोप सुनिश्चितताको लागि १६ महिना देखि २३ महिना सम्म उमेरको बालबालिकाहरुमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ ।

पूर्ण खोपको औचित्य

हरेक बालबालिका जन्मेपछि स्वस्थ भएर बांँच्न खोप सेवा प्राप्त गर्नु संबिधानतः नैसर्गिक अधिकार हो । नेपालमा अझै २२ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएका छैनन् । हाम्रै वडा टोलमा समेत शुन्य खोप र खोप पूरा नभएका बच्चाहरु प्रशस्त छन् । दिगो विकास लक्ष्य अनुसार बालबालिका र महिलाहरुको मृत्युमा कमी ल्याउन र प्राप्त उपलब्धि कायम राख्नको लागि पूर्ण खोपमा औचित्य रहन्छ ।

यसका साथै नेपाल सरकारले अन्तराष्ट्रिय स्तरमा गरेको प्रतिबद्घताको कार्यान्वयन गर्न, खोप ऐनमा भएको ब्यवस्था अनुसार अनिवार्य खोप लिने र दिने कार्य कार्यान्वयन गर्न पूर्ण खोप जरुरी छ । खोप पहिलो आधारभुत र अत्यावश्यक सेवा हो । आधारभूत स्वास्थ्य सेवा स्थानीय तहवाट संचालन र ब्यवस्थापन हुने । खोप सेवाको दिगोपनाका लागि स्थानीय तह, सरोकारवालाहरुको संलग्नता र स्वामित्वको बढाउन जरुरी रहेको छ । यसका साथै सम्बृद्धि र विकासको लागि, स्वस्थ जनशक्ति बिकास लागि खोप पहिलो आधार हो ।

पूर्ण खोप सुनिश्चितता र दिगोपनाको रणनीति

- खोज र खोप
- घरधुरी सर्वेक्षण वर्षमा एक पटक (माघ, फाल्गनु र चैत्र भित्र)
- प्रत्येक वर्ष बैशाखमा पूर्णखोप सुनिश्चितता प्रमाणिकरण (वडा, पालिका र जिल्ला)
- खोप सेवाको दिगोपनाका लागि स्थानीय तह, सरोकारवालाहरुको संलग्नता र स्वामित्व
- पूर्ण खोप सुनिश्चितता र दिगोपनाको प्रकृया
- सर्वेक्षण र चेक जांच
- वैद्धिकरण
- प्रमाणिकरण

पूर्ण खोप वडा र पालिका घोषणाका आधारहरू :

पूर्ण खोप घोषणाको निम्न ३ आधारहरु पुरा भएको एकिन हुनुपर्दछ ।
(क) सर्वेक्षण (स्वास्थ्यकर्मिको संलग्नतामा)
वडा, स्वास्थ्य संस्थाको कार्यक्षेत्र भित्र : 
- १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिना भित्रै खोप पाए नपाएको पहिचान गरी वडा अनुसारको पूर्ण खोप विवरण तयार गरेको र अद्याबधिक भएको
- १५ महिना मुनिका सबै बालबालिकाको हाल लिईरहेको खोपको विवरण अध्यावधिक गर्न सूचि ९ीष्लभ ष्कितष्लन० तयार गरी खोप रजिष्टरमा वडा अनुसार विवरण अद्याबधिक भएको

(ख) सर्वेक्षण प्रतिवेदनको विश्लेषण, सुक्ष्म योजना तयारी र छुट खोप प्रदान

- वडा खोप समन्वय समिति र सरोकारवालाहरु समेतको सहभागितामा खोप केन्द्र पुनर्योजना तथा संचालन
- कुनैपनि खोप नपाएका र छुटेका (ड्रपआउट) बालबालिका लाई खोप प्रदान गरी पूर्णखोप भएको सुनिश्चिताको अभिलेख र प्रतिवेदन अधयावधिक भएको

(ग) प्रतिबेदन तथा दिगोपनाको लागि प्रतिबद्दता

- वडा खोप समन्वय समिति ̷ पालिका खोप समन्वय समितिबाट आफ्नो क्षेत्रमा रहेका १६ देखि २३ महिनाका सबै बालबालिकाले १५ महिनाको उमेरभित्रै सबै खोपको मात्रा पुरा गरेको निर्णयको प्रतिलिपि, अनुसूचि ७, अनुसूचि ४,५,६ अनुसारको प्रतिवेदन एवं अनुसूचि १४ अनुसारको पूर्ण खोपको दिगोपनाको लागि स्थानीय तहको साझेदारीमा संचालन गर्ने कार्ययोजना समेत पत्र साथ संलग्न गरि न.पा.̷ गा.पा, र जिल्ला स्तरमा पेश गरेको । सवै तहमा तोकिएका अनुसूचि अनुसारको अधिलेख, प्रतिवेदन र वैठकको निर्णयहरु अध्यावधिक हुनु पर्दछ ।

पूर्णखोप घोषणाको तथा दिगोपनाको लागि संचालन गर्नुपर्ने प्रकृया तथा गतिविधिहरु :
१. जिल्ला, न.पा. र गा.पा र वडा स्तरमा गर्नुपर्ने प्रकिया र गतिबिधिहरु (प्रत्येक वर्ष)

- सरोकार एवं सामmेदारहरुसंग वैठक, अभिमुखिकरण तथा नीतिगत निर्णय र योजनाको तयारी ।
- प्रत्येक वर्ष स्वास्थ्यकर्मी हरुबाट घरधुरी सर्वेक्षण र छुट बच्चा लाई खोप सेवा प्रदान ( माघ, फाल्गुन र चैत्र भित्र )
- वडास्तरमा खोप समन्वय समिति र स्वास्थ्य संस्थाको सहभागितामा सर्वेक्षण प्रतिवेदनको समिक्षा, खोप रजिष्टर संग भेरिफिकेसन, छुट बच्चालाई खोप दिने योजना तयारी र खोप प्रदान ।
- वडाबाट अनुसूचि (४,५,) अनुसारको प्रतिवदन तयारी र दिगोपनाको प्रतिबद्धता – अनसूचि १४) सहित अनुसूचि ७ को पत्र साथ पालिकामा प्रतिवेदन ।

२. जिल्ला, न.पा. र गा.पा र वडा स्तरमा गर्नुपर्ने प्रकिया र गतिबिधिहरु (प्रत्येक वर्ष)
- पालिका बाट वडाको सुलभ सर्वेक्षणको लागि निर्णय र प्रमाणीकरण र प्रतिवेदन गर्ने (अनुसूचि ८, ११ र १२) ।
- जिल्ला बाट पालिका भेरिफिकेसन गरी प्रमाणिकरण र प्रतिवेदन गर्ने (अनुसूचि ९,११ र १२)
- पालिका बाट वडा र जिल्ला बाट पालिका घोषणाको लागि सहमति दिने र सहभागि हुने(अनसूचि ११) ।
- जिल्ला बाट पालिका र पालिका बाट वडा लाई प्रमाणपत्र प्रदान र प्रमाणिकरण –अनुसूचि १२ ।
- सवै तहमा समिक्षा, अनुगमन र निर्देशन ।
प्रत्येक वर्ष सवै तहबाट सवै प्रकृया सम्पन्न गरि सवै वडा घोषणा पश्चात पालिका र सवै पालिका घोषणा पश्चात जिल्ला घोषणा/प्रमाणिकरण गर्दै विवरण अध्यावधिक गर्नु पर्छ ।

दिगोपनाको लागि रणनीति :

- प्रभावकारी एवम् गुणस्तरीय नियमित खोप सेवा सञ्चालन ।
- प्रत्येक वर्ष चैत्र महिना भित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण ।
- सर्वेक्षण प्रतिवेदनको समिक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणको लागि सुक्ष्मयोजना अध्यावधिक र छुट बच्चाहरुलाई खोप प्रदान ।
- स्थानीय तहको बार्षिक कार्यक्रममा पूर्णखोप घोषणा र दिगोपना कार्यक्रम समावेस र स्वीकृति ।
- प्रत्येक वर्ष वडा, स्थानीय तह र जिल्ला सभाबाट पूर्णखोप सुनिश्चितता भएको प्रमाणिकरण, सार्वजनिक र प्रतिवेदन ।
-खोपवाट वचाउन सकिने रोगहरुको खोजपड्ताल, निगरानी र रोकथाम (सर्भिलेन्स) ।

पूर्णखोप प्रदान गरी सर्वेक्षण गर्ने, प्रतिवेदन तयारी गर्ने, सरोकारवालाहरुलाई पूर्णखोप र भूमिकावारे जानकारी गराउने कार्यमा स्वास्थ्य संस्थाको हुन्छ । आफ्नो वडा, पालिका, जिल्ला पूर्णखोप सुनिश्चित गर्ने कार्यको योजना, नीति निर्माण, कार्यन्वयन, अनुगमन र घोषणा तथा दिगोपनाको व्यवस्थापन कार्यहरु स्थानीय तहको अपनत्व र नेतृत्वमा सञ्चालन हुनेछन् । तसर्थ पूर्ण खोप कार्यक्रम स्थानीय निकायको वार्षिक कार्यक्रममा समावेश हुनु जरुरी हुन्छ ।

- (खड्का, जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा खोप निरीक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्