Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अल्ट्रासाउण्ड मार्फत गाउँमै गर्भजाँच, ११ जना महिलाको पेटमा उल्टो बच्चा

ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम प्रभावकारी
tribeni2

रुकुम पश्चिम / ग्रामीण महिलाहरुलाई लक्षित गरेर रुकुम पश्चिममा गाउँमै भिडियो एक्सरे मार्फत महिलाहरुको गर्भजाँच गरिएको छ । जिल्लाको सानीभेरी गाउँपालिकाको विभिन्न चार स्थानमा १०६ जना महिलाको भिडियो मार्फत गर्भजाँच गरिएको हो । नियमित गर्भजाँच गर्नबाट बञ्चित रहेका महिलाहरुलाई लक्षित गरेर गाउँमै भिडियो मार्फत गर्भजाँच सेवा दिईएको हो ।

ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत सानीभेरी गाउँपालिका १ को चाईनाबगरमा १५ जनाको, २ को गिठाकोटमा २२ जनाको, १० को अर्मा २६ जनाको र ७ को छोटेबगरमा ४६ जनाको गर्भजाँच गरिएको जिल्ला अस्पताल सल्ले रुकुमका अस्पताल नर्सिङ निरीक्षक प्रेमा केसीले जानकारी दिनुभयो ।

ग्रामीण स्थानका महिलाहरु सुगम ठाउँमा गर्भजाँच गर्न जान नसक्ने भएकोले गाउँमै गएर अल्ट्रासाउण्ड मार्फत गर्भजाँच गरिएको नर्सिङ निरीक्षक केसीले बताउनुभयो । जाँचको क्रममा ११ जना महिलाको पेटको बच्चा उल्टो भेटिएकोले आवश्यक परामर्श सहित रेफर गरिएको उहाँले बताउनुभयो । अन्यको भने अवस्था सामान्य रहेको बताईएको छ ।

अल्ट्रासाउण्ड मेसिन र तालिमप्राप्त जनशक्तिको अभावको कारण अधिकांश महिलाहरुले भिडियो मार्फत गर्भजाँच सेवा लिन पाएका छैनन् । गर्भवती महिलाहरु सुगम ठाउँमा गएर गर्भजाँच गराउन नसक्ने, लाज मान्ने, सचेतना समेत नभएकोले अल्ट्रासाउण्ड सेवा लिन नसकेको बताइएको छ । गर्भजाँच गराउन आएका अधिकांश महिलाहरुले पहिलो पटक आफ्नो पेटको बच्चाको भिडियो मार्फत जाँच गरेको बताएका छन् । बेलैमा पेटको बच्चाको अवस्था थाह हुने भएको उनीहरुले प्रतिक्रिया दिएका छन् । यसले गर्दा बच्चा र आफ्नो समेत स्वास्थ्य अवस्था जान्न पाएकोले खुशि व्यक्त गरेका छन् ।

बेलैमा गर्भावस्थाको समस्या पत्ता लगाउन भिडियो एक्सरे मेसिननै बोकेर गाउँमा गएकोले मातृतथा शिशु मृत्युदर घटाउन यसखाले कार्यक्रम प्रभावकारी भएको बताईएको छ । सानीभेरी गाउँपालिकाका उपाध्यक्ष कमला रोकाले गर्भवती महिलाहरुको यो अवस्थालाई मध्यनजर गरेर गाउँमै अल्ट्रासाउण्ड सेवा प्रदान गर्दा असाध्यै प्रभावकारी भएको बताउनुभयो । उहाँले हरेक टोलमा रहेका गर्भवती महिलाको यसैगरी गर्भजाँच सेवा मिलाउन आवश्यक रहेको समेत उल्लेख गनुभयो ।

सानीभेरी गाउँपालिकामा पहिलो पटक गाउँमै अल्ट्रासाउण्ड मार्फत गर्भजाँच सेवा दिइएको हो । यस अघि जिल्लाको आठबिसकोट नगरपालिकामा उक्त सेवा दिईएको थियो ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्