मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध

रुकुम, रोल्पा लगायतका जिल्लाका लागि हिँडेका सवारी बाटोमै रोकिए

बाग्लुङ / मध्यपहाडी लोकमार्गको बाग्लुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । वर्षासँगै खसेको पहिरोका कारण लोकमार्ग अवरुद्ध भएको हो । बाग्लुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् । पहिरोसँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ ।

आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । यो सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रका सातवटा स्थानीय तहमा सडक सम्पर्क टुटेको छ भने लोकमार्गको बाटो भएर रुकुम, रोल्पा लगायतका जिल्लाका लागि हिँडेका सवारी बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्