Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्वास्थ्य सस्थामा सुत्केरी गराउनेको संख्यामा बृद्वि

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा स्वास्थ्य सस्थामा सुत्केरी गराउनेको संख्यामा बृद्धि भएको छ । अघिल्ला बर्षहरुमा भन्दा यस बर्ष स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुको संख्या बढेको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका जनस्वास्थ्य अधिकृत कालिबहादुर ओलीले चालु आर्थिक बर्षको जेठ मसान्त सम्ममा २ हजार ९५१ जना स्वास्थ्य संस्थामै सुत्केरी भएको बताउँनुभयो । उहाँले यो बर्ष घरमै भन्दा अस्पतालमा आएर सुत्केरी बनाउनेको संख्यामा बृद्धि भएको जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा दक्ष प्रसुतीकर्मीको सहायतामा तीन जनाले घरमै सुत्केरी गराएका थिए भने ०७७/०७८ मा ११ जनाले घरमै सुत्केरी गराएका थिए । चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा भने चार जनाले मात्रै घरमा सुत्केरी गराएको तथ्यांक रहेको छ ।

जनस्वास्थ्य निरीक्षक ओलीले आर्थिक वर्ष ०७६/०७७ मा दुई हजार ८६७ जनाले र ०७७/०७८ मा तीन हजार ४६ जनाले स्वास्थ्य सस्थामा सुत्केरी गराएको बताउनुभयो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा भने दुई हजार ९५१ जनाले स्वास्थ्य सस्थामै आएर सुत्केरी गराएका छन् । जसमध्य दुई हजार ६४७ सामान्य रुपमा, १८६ को अप्रेशन र ११८ जनाको भ्याकुम मेसिन मार्फत सुत्केरी गराईएको हो । जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा अप्रेशन गर्ने सुविधा रहेको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा व्यवस्थापन बिष्णुबहादुर बुढाथोकीले बर्थिङ सेन्टर थप हुँदा स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनेको संख्यामा बढोत्तरी भएको बताउनुभयो । जिल्लामा हालसम्म २० स्थानमा बर्थिङ सेन्टर रहेका छन् ।

उहाँका अनुसार सचेतना बृद्धिसँगै सरकारले गर्भवतीलाई लक्षित गरेर ल्याएका केहि कार्यक्रमहरुको कारण पनि यसो भएको उल्लेख गर्नुभयो । गर्भवती महिला लक्षित कर्णाली पोषण भत्ता कार्यक्रम, गर्भवती जाँच खर्च, नियमित यातायात खर्च जस्ता कार्यक्रमको प्रभावले पनि स्वास्थ्य सस्थामा सुत्केरी हुनेको सख्यामा बृद्धि भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालले पछिल्लो पटक भिडियो एक्सरे सहितका केहि सेवामा सहुलियत दिएको छ । जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न परिवार लगायतको अवस्था हेरेर स्वास्थ्य सेवामा छुट दिएको र उपचारको लागि आउने बिरामीहरुको संख्यामा बृद्धि भएको समेत अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्