Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भुमेमा मात्रै आशाको २ करोड ३१ लाख बजेट खर्च

सरोकारवालाहरुबाट संयुक्त अनुगमन
tribeni2

रुकुम पूर्व / पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) रुकुमले चालु आर्थिक वर्षमा रुकुम पूर्वको भूमे गाउँपालिकाका बिभिन्न वडाहरुमा २ करोड ३१ लाखको बजेट कार्यान्वयन गरेको छ । गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेका योजना मार्फत आशा आयोजनाले भूमे गाउँपालिकामा २ करोड ३१ लाख बजेट कार्यान्वयन गरेको हो ।

स्थानीय अनुकूलन कार्ययोजना (लापा) कार्यान्वयन अन्तर्गत भौतिक पूर्वाधार विकास तर्फ २७ वटा उप आयोजनाहरुमा एक करोड ९५ लाख ६ हजार एक सय र आयआर्जन तर्फ ६२ लाख ३७ हजार ८९५ बजेट कार्यान्वयन भएको आयोजना कार्यालयले जनाएको छ ।

भौतिक पूर्वाधार विकास अन्तर्गत ७ वटा सिचाई कुलो, ५ वटा मुहान संरक्षण तथा खानेपानी, ४ वटा बाढी पहिरो र गल्छि नियन्त्रण, ७ वटा सिचाई पोखरी, १ वटा नर्सरी स्थापना र ३ वटा सामुदायिक वन क्षेत्रमा बृक्षारोपन गरिएको छ । यसैगरि आयआर्जन तर्फ ३ वटा भकारो तथा बाख्रा खोर सुधार, ११ वटा तरकारी खेती उप आयोजना र २ वटा टिमुर खेती उप आयोजना सम्पन्न गरिएको छ ।

गर्वाङ भल नियन्त्रण उप आयोजना अनुगमनको क्रममा

गाउँपालिकामा सम्पन्न गरिएका केहि कार्यक्रमहरुको जिल्ला स्तरिय अनुगमन टोलीले संयुक्त अनुगमन समेत गरेको । बिहिवार भुमे गाउँपालिका १ मा रहेका गर्वाङ भल नियन्त्रण उप आयोजना र बालुवा रानीवास सिचाई कुलो उप आयोजना, भुमे गाउँपालिका २ मा रहेका धाङ्कुवाङ सिचाई उप आयोजना वडा नम्वर ६ मा रहेको जुगमारी खानेपानी तथा मुहान संरक्षण उप आयोजना र ठांटिपोखरी तटवन्ध निर्माण उप आयोजनाको अनुगमन गरिएको हो ।

अनुगमनमा रुकुम पूर्व जिल्ला समन्वय समितिका उप प्रमुख मोहन के.सी., प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, भूमे गाउँपालिका उप प्रमुख सबिना बुढा मगर, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, डिभिजन वन कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख जितेन्द्रसिंह खड्का, भूमे गाउँपालकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठ, भूमे गाउँपालिका वडा नं १ २ र ६ का वडाध्यक्षहरु लगाएत पत्रकारहरुको सहभागिता रहेको थियो ।

जुगमारी खानेपानी तथा मुहान संरक्षण उप आयोजना अनुगमन हुदै

अनुगमन पश्चात आशा आयोजना मार्फत भएका थुप्रै कार्यक्रमका बारेमा जानकारी प्राप्त गरेको र अनुगमन गरिएका आयोजनाहरु प्रभावकारी रहेको पाईएको जिल्ला समन्वय उपप्रमुख मोहन केसीले बताउनुभयो । अनुगमनमा सहभागि भूमे गाउँपापलका वडा नम्बर १ का वडाध्यक्ष मनकाजि पुनले आशा आयोजना मार्फत संचालन भएका आयोजनाहरुबाट समुदाय खुसी रहेको र आगामी दिनहरुमा समेत थप कार्यक्रमको अपेक्षा रहेको बताउनुभयो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको सहयोगमा आव ०७३,०७४ देखि पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) मार्फत स्थानीय अनुकूलन कार्ययोजना कार्यान्वयन गर्दै आइरहेको छ । आयोजनाको सुरुवाति देखि रुकुम पूर्व र पश्चिमका ३८ वटा वडाहरुमा कार्यक्रम कार्यान्वयन भैरहेको आशा आयोजना रुकुमका जिल्ला आयोजना संयोजक खिमराज वलीले जानकारी गराउनुभयो । संयोजक वलीका अनुसार ३८ वटा वडाहरुमा हालसम्म १ हजार ७० उप आयोजनाहरुमा ३४ करोड ६० लाख बजेट कार्यान्वयन भएको छ ।

धाङ्कुवाङ सिचाई उप आयोजना

आशा आयोजनाले मध्य पहाडका ७ जिल्लाहरु रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, सल्यान र रोल्पामा स्थानीय अनुकूलन कार्ययोजना मार्फत जलवायू परिवर्तनबाट जोखिममा रहेका समुदाय तथा घरधुरीहरुमा काम गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्