Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वको सुन्दर पर्यटकीय स्थल देउराली गुफा (शब्द र फोटोमा)

२०७९ असार २७
tribeni2

देउराली गुफा रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं ५ अन्तर्गत रुकुमगार खोलाको किनारमा अवस्थित छ । मध्यपहाडी लोकमार्ग देखि करिब आधा घण्टा, कच्ची बाटोको १५ मिनेट यात्रापछि गुफामा पुग्न सकिन्छ । यो गुफा स साना बुट्यानहरूको बिचमा रहेको छ ।

यहाँ दर्जनौं स साना तालहरू, नदी आकारका पानीका मुहानहरू, खुल्ला आकाशमा बादल लागेजस्ता आकृतिहरू र सर्पजस्ता स्वरुपहरु देख्न सकिन्छ । गुफाका भित्ताहरूमा विभिन्न किसिमका जनावर र देवताका आकृतिहरू पनि देख्न सकिन्छ । सेता र आकर्षक चुन ढुङ्गाहरूबाट बनेको यस गुफाभित्र सजिलै हिँड्डुल गर्न सकिन्छ । यस गुफाभित्र वर्षा झैँ सँधै पानी चुहिरहन्छ ।

देउराली गुफा कलात्मक आकृतिले सजिएको छ । झट्ट हेर्दा डर लाग्ने यस गुफा भित्र रहेका सुन्दर र कलात्मक ढुङ्गे आकृतिले सबैको मन लोभ्याउने गर्दछ । आकाशबाट झरी बर्सिए जस्तै सधैभरी पानी परिरहने उक्त ठाउँमा रहेका ढुङ्गा भने सफा र सुन्दर देखिन्छन । कुनै कलाकारले निर्माण गरे जस्तैगरि सजिएको सिढीबाट झरेर गुफाको दोस्रो तला पुग्न सकिन्छ । त्यही क्षेत्रमा बत्ती बाल्न सजाइएका पाला, गाइका थुन, हातिको टाउको, शिवलिङ्ग लगायत एकोहोरो हेरिरहन मन लाग्ने ढुङै ढुङ्गाका कलात्मक चित्रहरु रहेका छन् ।

ढिकी कुटेको, जातो पिसेको जस्ता वास्तविक चित्रण रहेका कलाकृतिहरु केहि मानवीय तुच्छ व्यवहारका कारण मेटिएका छन् । जथाभावी तोडफोडको कारण केहि ढुङ्गे आकृतिहरु हराएका छन् । अहिले स्थानीय सरकारले त्यसमा चासो दिई संरक्षण मा पनि ध्यान दिन थालेको छ । विगत २ वर्ष देखि देउराली गुफामा हरेक नयाँ वर्ष तथा चैते दशैको अवसरमा मेला पनि लाग्दै आएको छ ।

देउराली गुफा सामान्यतः ३ खण्डको छ । देउराली गुफामा पहिलो खण्डबाट प्रवेश गरी तेस्रो खण्डबाट निस्कन सकिन्छ । पहिलो खण्ड मूलद्वारबाट करिव ६ मिटरको दूरीमा रहेको छ । यो खण्ड अन्य खण्डहरूको तुलनामा साँगुरो र सानो छ । यस खण्डलाई दोस्रो र तेस्रो खण्डमा जानको लागि प्रवेशमार्गको रुपमा लिन सकिन्छ । यहाँ भित्र जान सजिलो होस् भनी प्रवेशद्वार र सिँढीहरू बनाइएको छ । यहाँ चुनढुङ्गाबाट बनेका आकर्षक पत्थरहरुमा गाईका थुनहरूजस्ता देखिने आकृतिहरुबाट पानीका धाराहरू चुहिरहन्छन् । यहाँ मन्दिरका गजुरजस्ता देखिने विभिन्न स्वरुपहरू पनि छन् । बुढापाकाहरू पहिले यस खण्डभन्दा माथि अर्को तला भएको र बिस्तारै पुरिएको कुरा बताउँछन् ।

पहिलो खण्डबाट केही ओरालो झरेपछि दोस्रो खण्डमा पुगिन्छ । यहाँ देवताहरू तपस्या गरिरहेका जस्ता स्वरुपहरू, हात्तीका सूँडहरू, विभिन्न जनावर र ती जनावरहरू कराउँदाका आकृतिहरू देखिन्छन् । यहाँ नदी, ताल, मन्दिरका गजुर तथा विभिन्न आकर्षक बुट्टाहरू पनि देखिन्छन् । यो खण्ड निकै फराकिलो र केही उज्यालो छ । पानी नचुहिने यो खण्ड धेरै मानिसहरू भेला भई नाचगान, बैठक, सभा सम्मेलन पनि गर्न सकिने खालको छ । यस खण्डको छेउछाउमा विभिन्न ससाना कुण्डहरु र गाईका थुनजस्ता आकृतिहरूबाट दुध चुहेजस्तै गरी पानी चुहिरहन्छ ।

दोस्रो खण्डबाट तेस्रो खण्डमा प्रवेश गर्दा केही ओरालो झर्नुपर्छ । पानी चुहिरहने यस खण्डमा यात्रा गर्दा पानीले रुझाउँछ । यो खण्ड अँध्यारो र डर लाग्दो हुँदाहुँदै पनि विभिन्न आकृतिहरूले सज्जिएको हुँदा निकै आकर्षक पनि छ । यस खण्डमा लाइट बालेर यात्रा गर्नु पर्दछ । यहाँ पर्यटकहरूले भालुको मुखजस्तो आकृतिमा पुजा गरी पैसा चढाउने गरेको पनि पाइन्छ । यहाँ देवताहरू, ससाना कुण्डहरू, विभिन्न बाजाहरू, जनावरहरू तथा मन्दिरका आकृतिहरू रहेका छन् । तेस्रो खण्डको यात्रा सकिएपछि निकासद्वारबाट बाहिर निस्कन सकिन्छ ।

देउराली गुफा वरपर दुईवटा अन्य गुफाहरू पनि छन् । देउराली गुफा पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण छ । यहाँ रुकुम पूर्वका विभिन्न गाउँबस्तीहरू तथा रुकुम पश्‍चिम, सल्यान, जाजरकोट, रोल्पा, बाग्लुङ आदि छिमेकी जिल्लाहरूबाट पर्यटकहरू आएर प्राकृतिक सौन्दर्य पारख गरी मनोरञ्जन लिने गर्दछन् ।

देउराली गुफासम्म पुग्ने मोटरबाटो निर्माण गरी गुफाभित्र मानिसहरू बस्ने व्यवस्था मिलाई यसको व्यापक रुपमा प्रचार प्रसार गर्न सके यो देशी विदेशी पर्यटकहरूको गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ । यहाँ पर्यटकहरूका लागि आवश्यक सेवासुविधाहरू (खानेपानी, शौचालय, चमेना गृह, प्रतीक्षालय, बिजुलीबत्ती, सुरक्षा आदि) को व्यवस्था गर्नुपर्ने देखिन्छ ।

- (चन्द्रबहादुर मल्लको सहयोगमा यो जानकारी तयार गरिएको हो)

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्