Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वृद्धाहरुको लागि बनाएको आश्रममा गजेडिहरुको अखडा

जिल्लाको एउटा मात्र वृद्धाश्रमको बेहाल
२०७९ असार २७
tribeni2

रुकुम पश्चिम / जुन लक्ष्य र उद्धेश्यले लगानी गरेर काम सुरु हुन्छ, सोहि अनुसार संचालन नहुँदा सोच माथी कुठाराघात त हुन्छ नै, लगानी समेत खेर जान्छ । झन् त उपयोगको साटो दुरुपयोग हुँदा सस्थाको गरिमा माथी नै प्रश्न चिन्ह उब्जन्छ । रुकुम पश्चिममा रहेको एक मात्र वृद्धाश्रम प्रयोगविहिन हुँदा बेहाल अवस्थामा पुगेको छ । जिल्ला सदरमुकामको मुसीकोट नगरपालिका १ मठमा रहेको गोकर्ण गिरी वृद्धाश्रम बेहाल अवस्थामा रहेको हो ।

वृद्धाश्रमको लागि बनेको एक वटा तीन कोठे पक्कि भवन, एक वटा हल भएको भवन, बाथरुम र शौचालय भवन लामो समयसम्म वेवास्तामा रहेको कारण अहिले भत्किने अवस्थामा पुगेको स्थानीयले बताएका छन् । जेष्ठ नागरिकहरुको आवास, सुरक्षा तथा मनोरञ्जनको उद्धेश्यका साथ तत्कालिन जिल्ला विकास समितिको करिब ४० लाख लगानीमा बनाईएको वृद्धा आश्रम निर्माण भए देखि प्रयोगमा नआएको हो । उक्त भवन २०६४ साल फागुनमा निर्माण सम्पन्न गरिएको हो ।

वृद्धाश्रम निर्माणको लागि स्थानीय गोकर्ण गिरीले साढे तीन रोपनी जग्गादान गर्नुभएको थियो । जग्गादाता गिरीको नातिनी निर्मला गिरीले सञ्चालक समिति र स्थानीय सरकार समेतको वेवास्ताको कारण जेष्ठ नागरिकहरुको लागि बनाईएको संरचना खेर गैरहेको बताउनुभयो । कतिपय जेष्ठ नागरिकहरुको लागि आवास, कतिपयको लागि दिवा सेवा समेत सञ्चालन गर्न सकिने अवस्था हुँदाहुँदै जिल्लामै पहिलो पटक बनेको वृद्धाश्रम प्रयोगविहिन भएको उहाँले जानकारी दिनुभयो ।

अहिले वृद्धाश्रम फोहोरले भरिएको छ । भवनमा वाईरिङ गरिएको तार र मिटर चुडालिएको छ भने ढोका र झ्यालहरु लथालिंग पारिएको छ । ‘हजुरबुवाले जुन सोच बनाएर जग्गादान गर्नुभयो, जुन उद्धेश्यले संरचना बनाईयो, त्यो भएन ’ निर्मलाले भन्नुभयो, ‘अहिले सबै वेवारिसे अवस्थामा देख्दा चित्त दुख्छ ।’ वृद्धाश्रममा बेला बेलामा गाजाँ खाने युवाहरुले होहल्ला गरेर स्थानीयलाई त्रसित बनाउने गरेको समेत उहाँले बताउनुभयो ।

स्थानीय सरकारले चाहेमा दिनभर घरमा गम्सिएर बसेका जेष्ठ नागरिकहरुलाई एकिकृत गरेर भजनकिर्तन, मनोरञ्जन, अनुभव आदानप्रदानको चौतारीको रुपमा प्रयोग गर्न सक्ने स्थानीयको भनाई रहेको छ । गत वर्ष सम्म समाज कल्याण मन्त्रालयले वृद्धाश्रम सञ्चालनको लागि बार्षिक पाँच लाख बजेट दिदै आएको थियो । तर, वृद्धाश्रमको रुपमा सञ्चालन नहुँदा सधै उक्त बजेट फ्रिज हुँदै आएको छ । 


वृद्धाश्रम सञ्चालन, रेखदेख तथा व्यवस्थापनको लागि सञ्चालक समिति समेत रहेको छ । तर समितिले विभिन्न वहानामा वृद्धाश्रमको वेवास्ता गरिरहेको स्थानीयको गुनासो छ ।

यस बिषयमा गोकर्ण गिरी वृद्धाश्रमका अध्यक्ष खेममान खड्काले नियमित सञ्चालन गर्न नसकिरहेको बताउनुभयो । जग्गा, भवन हुँदाहुँदै जेष्ठ नागरिकहरु राखेर नियमित र सुरक्षित स्यहारका लागि भौगोलिक रुपले अपायक स्थान गरेको र सम्भावित जोखिमहरुको समाधान तत्काल नहुँदा आश्रमको रुपमा सञ्चालन हुन नसकेको उहाँको भनाई छ । तथापी, उक्त सस्थाले विगतमा जेष्ठ नागरिकहरुको सेवा, सम्मान र अधिकारका लागि कार्य गरेको उहाँले जानकारी दिनुभयो ।

वृद्धाश्रमको भवन तथा जग्गालाई नजिकका जेष्ठ नागरिकहरुको लागि दिवा सेवा केन्द्र तथा जेष्ठ नागरिकको अधिकारको पैरवी गर्ने निकायको केन्द्रको रुपमा सञ्चालन गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । अब नयाँ कार्यसमिति चयन गरेर आम्दानीको भरपर्दो श्रोत एकिन गरेर संस्था सञ्चालन गर्न सकिने खड्काले बताउनुभयो ।

गोकर्ण गिरी वृद्धाश्रमको संचालक समितिमा राष्ट्रिय सभाका पूर्व सदस्य ठकेन्द्र प्रकाश पुरी, नेपाली काँग्रेसका कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय, मुसिकोट नगरपालिकाका निवर्तमान मेयर देविलाल गौतम, नेपाल बार एशोशियसन रुकुम पश्चिमका अध्यक्ष गणेश हमाल, रुक्मिणी क्याम्पसका प्रमुख मिनबहादुर पुन लगायत हुनुहुन्छ ।

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्