कविता - ठाऊँ

कविता - ठाऊँ
  • हेमन्त गिरी
हजुरले त सजिलै भनिदिनुभयो-
छोरी मान्छे भएपछि ठाऊँमा बस्नुपर्छ !
तर मैले
त्यो ठाऊँ नै भेटाउनै सकिन कहिल्यै !
 
जीवनमा पहिलो हुनु छ भनी
स्कूलमा अघिल्लो बेन्च रोजें !
मास्टरकै गिद्दे नजरहरुले
पछाडि सारिदिए, ओझेलमा पारिदिए !
 
ईश्वरले त ठाऊँ बताइदिन्छन कि भनी
मन्दिर पुगें !
आफ्नै लिंग मुनि
म जस्ता म हरुलाई घोप्ट्याइरहेको देखेपछि
परम्परा संग विरक्तिएर घर फर्कें !
 
घरका दिवारहरुलाई सोधें,
संघारहरुलाई सोधें-
कहाँ हो मेरो ठाऊँ ? भनी !
आमाका विवश आँखा संग डराए जस्तो
बाबाको डरलाग्दो बोली संग घबराए जस्तो
मौन बसी दिवारले छेकिरह्यो
समय तोकी संघारले रोकिरह्यो !
 
बजारले बरु कहिलेकाहिं
ठाऊँ देखाइदिन
खोजेजस्तो गरेथ्यो काँचका पर्दाहरुमा
नग्नता र निर्लज्जताका शर्तहरु सहित,
मैले मानिन !
 
कार्यालयले
या त रूप बेच्न मिल्ने
‘फ्रन्ट डेस्क’ देखाइदियो,
या रस चुस्न मिल्ने
‘सेक्रेटरियट’ कक्ष !
 
राज्यले कैलै शतमा हिसाब गरेन,
सधै प्रतिशतमा बाँढिरह्यो !
समाजलाई दोष कति मात्र दिइरहनु?
यसले त कैलै
सभ्यताको आधा हिस्सा नै मानेन !
 
जन्मेको दलान तेरो होइन भन्छन
खेलेको आँगन तेरो होइन भन्छन
ठिकै छ नि त,
सम्झौताको त्यो नयाँ ठाऊँलाई
मेरो बनाउँला भनेर
रुँदै रुँदै गुँड छोडी हिंड्दा पनि
सहनाईहरुले गीत बजाइदिन्छन-
नरोई नरोई ‘पराइघर’ जाऊ है भनेर !
 
खासमा मेरो ठाऊँ हो चाहिं कहाँ ?
जिम्मेवारीको जेठी औंला,
समाजको चोर औंला,
अवसरको माझी औंला,
बन्धन र वाचाहरुको साइँली औंला,
अनि
अधिकारको पुछारे औंला..!
यिनै पाँच औंला भित्रको
कैदखाना हो मेरो ठाऊँ !
 
यतिबेला मेरो पेटभित्र
म जस्तै एउटा म
बाहिर आउनलाई मुट्ठी कँसिरहिछे !
म उसलाई
बाहिर नल्याउनलाई मुट्ठी कँसिरहेछु !
भनिदिनूस्,
हजुरले मुट्ठी फुकाइदिनुहुन्छ ?!
उसलाई ठाऊँ देखाइदिनुहुन्छ !
 
कि..
मुट्ठी संगसंगै,
ऊ बेरिएका आन्द्राहरु पनि कँसूँ मैले ?!
कहिले सम्म लडिरहने
जननी र जीवनी एक आपसमै,
एउटा सानो ठाऊँको लागि
अन्त्यहीन युद्ध !
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्