Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूमेमा नौ अगुवा किसानलाई सम्मान

एक वडा, एक किसान सम्मान
२०७९ असार ३२
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको भूमे गाउँपालिकाले नाै जना अगुवा व्यावसायिक किसानहरुलाई सम्मान गरेको छ । भूमे गाउँपालिकाको कृषि सेवा केन्द्रको आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक विकास कार्यक्रम अन्तर्गत शनिबार खाबाङ बगरमा एक कार्यक्रमको आयोजना गरी प्रत्येक वडाका एक एक जना अगुवा कृषकहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

आर्गानिक जिल्ला रुकुम पूर्वमा कृषि कर्म मार्फत सहयोग पुर्‍याएका अगुवा किसानहरु छनोट गरी सम्मान तथा पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।

पुरस्कृत हुने उत्कृष्ट कृषकहरुमा वडा नम्बर १ का प्रकाश घर्ती, वडा नम्बर २ का ओम बहादुर बुढा, वडा नम्बर ३ का टेक प्रशाद पुन, वडा नम्बर ४ का ढाटी बुढा रहनु भएको छ । यस्तै ५ नम्बर वडाका संगिता बुढा, ६ नम्बर वडाका फुर्क बहादुर बुढा, वडा नम्बर ७ का बिष्णु सिंह बुढा, वडा नम्बर ८ का झुपलाल वली, र वडा नम्बर ९ का कामी पुनलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृतका लागि छनोट भएका कृषकहरुलाई गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठ र उपाध्यक्ष सबिना बुढा मगरले एक एक वटा काँसको करुवा सहित प्रमाण पत्र र दोसल्लाले सम्मान तथा पुरस्कृत गर्नु भएको हो । 

गाउँपालिकाका अध्यक्ष श्रेष्ठको अध्यक्षता रहेको अगुवा कृषक सम्मान तथा पुरस्कृत कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सबिना बुढा, प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह श्रेष्ठ, बिभिन्न वडा का वडा अध्यक्षहरु लगाएत कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन कृषि शाखाका ना.प्रा.स. शिखर विश्वकर्माले गर्नु भएको थियो ।

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्