Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा यस कारण नाचिन्छ झाँक्रि नाच

लुकुममा झाँक्रि नाचको रौनकता
२०७९ साउन ४
tribeni2

रुकुम पूर्वको भूमे गाउँपालिका १ लुकुममा झाँक्रि नाचको रौनकता सुरु भएको छ । मंगलबारदेखि सुरु भएको झाँक्रि नाच आगामी शनिबारसम्म चल्ने बताईएको छ ।

लुकुममा हरेक वर्षको साउने संक्रान्तिमा झाँक्रि नाच नाचिन्छ । झाक्रि नाचलाई राके तिवार अर्थात झाँक्रि राम पनि भनिन्छ । साउने संक्रान्तिलाई अठार मगरात क्षेत्रमा तिवार र राँके पर्वको रुपमा भव्य रुपले मान्ने गर्दछन् । यसै अवसर पारेर लुकुम गाउँमा हरेक बर्षको साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार र शनिबारमा जुन बार पहिला पर्छ त्यसै बार देखि सबै थरका झाँक्रीहरू मिलेर झाँक्रि मेला मान्ने गर्दछन् ।

स्थानीय मगर साँस्कृतिक अभियान्ता तिलक मगरका अनुसार परापूर्वकालमा दैवी प्रकोपका कारण यस स्थानमा हरेक दिन एकजना मानिस बोक्सी तथा राक्सेको शिकार हुन्थे । मानिसको मृत्युलाई कम गर्न र बोक्सी तथा राक्सेलाई शान्त पार्न लुकुम गाउँमा भैरम झाँक्रीको उत्पत्ति भयो । सोहि भैरम झाँक्रीले आफ्नो आलङ्कारिकबस्त्रका साथ ढ्यांग्रो बजाउँदै नाच्दै, तन्त्रमन्त्र जप्दै बोक्सीहरूलाई सदाको लागि जमिनमुनि धसिदिएर, ठूलो ढुङ्गाले च्यापेर आफू पनि सदाको लागि अलप भएका थिए । त्यही दिनको सम्झनामा बोक्सीहरूलाई गाडेकै ठाउँमा हरेक बर्ष झाँक्री मेलाको आयोजना गर्ने गरिएको छ ।

उक्त दिन जम्मा भएका झाँक्रीहरूले एक अर्काको ग्रहदशा हेराहेर गर्ने गर्दछन् भने गाउँका युवायुवती, राम्चेहरू (मेला हेर्नेहरु) र झाँक्रीका चुन्मी (सहयोगी) वा भान्जहरूका बीचमा एकअर्कालाई सिस्नो हानाहान गरेर रमाइलो गर्ने परम्परा रहेको स्थानीय सुनिल रोकाले बताउनुभयो । साउनको पहिलो मंगलबार वा शनिबार झाँक्रिहरु खोलाको छेवैमा पानीको मूलनेर झाँक्री बस्ने गर्दछन् । त्यतिबेला उनीहरुले जप्ने मन्त्रका कारण खोलाको राक्से बोक्सी केही खान पाईन्छ भनेर बाहिर निस्कन्छ, त्यति नै बेला मन्त्र जप्दै गरेका झाँक्रिहरुले आफ्नो बशमा पार्दछन् । उनीहरुले राक्से आयो भन्दै मन्त्रले नै बाधेर बेस्सरी दौडदै झोलेरी बिसौनी भन्ने ठाउँमा लैजान्छन् ।

उक्त ठाउँमा लैजादै गर्दा राक्सेले कसैको शरीरमा आक्रमण नगरोस् भन्ने उद्धेश्यले सिस्नोले हान्ने गरिन्छ । स्थानीयका अनुसार सिस्नो हान्नु भनेको शरीरमा रहेका अदृश्य भूतप्रेतलाई धपाउनु हो । त्यसैले कोही कसैलाई हानियो भने पनि रिसाउने गरिदैन् । अर्को दिन झाँक्री चुन्मी वा भान्जहरूले झाँक्री झालामाला लगाएर गाउँ भरि डुल्दै रमाइलो गर्ने गर्दछन् भने अन्य युवायुवतीहरूले हिलो छेपाछेप गरेर मेला बनाउने गर्दछन् ।

हिलो छ्याप्नुको पनि अर्कै रहस्य छ । भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढाले अघिल्लो दिन राक्सेलाई बाँधेर झोलेरी बिसौनीसम्म लिएका झाँक्रिहरुलाई फर्किदा राक्सेले नचिनोस र केही क्षती नगरोस् भनेर नै एक अर्कामा बेस्सरी हिलो छ्याप्ने प्रचलन रहेको बताउनुहुन्छ । लुकुम गाउँमा रहेका हरेका जातीबाट एक जना झाँक्रि अनिवार्य रुपमा मेलामा उपस्थित हुने गर्दछन् ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्