Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ढुवानी बेहोरेपछि आयोडिनयुक्त नुनको माग बढ्दै

दुर्गम गाउँसम्म ढुवानीकाे माग
tribeni2

रुकुम पश्चिम / ढुवानी खर्च सरकारले बेहोरेपछि पहाडि क्षेत्रमा आयोडिन नुनको माग बढ्दै गएको छ । नेपाल सरकारको कण्ठ रोग नियन्त्रण कार्यक्रम अन्तर्गत आयोडिन नुनमा ढुवानी खर्च बेहोरेपछि आयोडिन नुन प्रयोग गर्नेको संख्यामा बृद्धि भएको हो ।

रुकुम पश्चिमस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपो कार्यालयले जिल्लामा आयोडिन नुनको माग बढ्दै गएको जनाएको छ । डिपो कार्यालयका प्रमुख पुर्णराज गौतमले रुकुम पूर्व र रुकुम पश्चिममा रहेका चार वटा वितरण केन्द्र मार्फत आयोडिन नुन बिक्रि वितरण गर्दै आएको डिपो कार्यालयले यस वर्ष मात्र आठ हजार ३३७ क्विन्टल आयोडिन नुन बिक्रि भएको जनाउनुभयो । मुसीकोटस्थित डिपो कार्यालयबाट र अन्य तीनवटा वितरण केन्द्रबाट आयोडिन नुन बिक्रि वितरण हुँदै आएको हो ।

यस बर्ष रुकुम पश्चिममा रहेका मुसीकोट र चौरजहारी वितरण केन्द्रबाट ६ हजार ६२४ क्विन्टल नुन वितरण गरिएको छ भने रुकुम पूर्वको रुकुमकोट र तकसेरा वितरण केन्द्रबाट एक हजार ७१३ क्विन्टल आयोडिन नुन विक्रि तथा वितरण गरिएको छ । गत आर्थिक वर्ष ०७८/०७९ मा भने रुकुम पश्चिममा ६ हजार ४२० क्विन्टर र रुकुम पूर्वमा एक हजार ४२५ क्विन्टल नुन वितरण भएको थियो ।

यस वर्ष डिपोमा रुकुम पश्चिमको लागि प्राप्त सात हजार ७८५ क्विन्टल नुन मध्य एक हजार १६१ क्विन्टल नुन मौज्दात रहेको डिपो प्रमुख गौतमले जनाउनुभयो । त्यसैगरी रुकुम पूर्वको लागि प्राप्त एक हजार ८९० मध्य १७७ क्विन्टल मात्र आयोडिन नुन मौज्दात रहेको कार्यालयको तथ्यांकमा रहेको छ ।

डिपो प्रमुख गौतमले आयोडिन नुनमा सरकारले ढुवानी खर्च बेहोरेपछि सस्तो र फाईदाजनक आयोडिन नुन प्रयोग गर्नेहरु बढेको बताउनुभयो । उहाँले सरकारले पहाडी क्षेत्रका दुर्गम जिल्लाहरुमा दिएको ढुवानी अनुदानले सर्वसाधारणहरुलाई राहत पुगेको समेत बताउनुभयो ।

सर्वसाधारणहरुले भने दुर्गम क्षेत्रका वडाहरुमा पनि सहुलियत दरमा आयोडिनयुक्त नुन उपलब्ध गराउनुपर्ने माग गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनसँगको समन्वयमा स्थानीय सरकारले दुर्गम गाउँका पायक पर्ने स्थानहरुसम्म ढुवानीको व्यवस्था भएमा आयोडिन नुनको माग झनै बढ्ने अवस्था रहेको बताईएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्