Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रोपेको धानमा काँडेदार खपटे किराको प्रकोप

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा किसानले लगाएको धान बालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । जिल्लाको चौरजहारी नगरपालिका १०, ११ र १३ नम्वर वडामा लगाईएको धान बालीमा प्रकोप देखिएको हो ।

कृषि विकास कार्यालय रुकुम पश्चिमले जिल्लामै बढी मात्रामा धान उत्पादन हुने क्षेत्रमा काँडेदार खपटे किराको प्रकोप देखिएको जनाएको छ । किराले केहि दिनअघि रोपेको धानको बोटमा क्षति गरिरहेको चौरजहारी १० का किसान गोपा बिएमले बताउनुभयो । उहाँका अनुसार किराको प्रकोपका कारण धानको पातका टुप्पा सुक्दै गईरहेका छन् ।

धानबालीमा किराको प्रकोप देखिएपछि किसानले कृषि विकास कार्यालयमा प्रकोप नियन्त्रणको लागि जानकारी गराएको कार्यालयका प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँको करिब १५० हेक्टर क्षेत्रफल मध्य १५ हेक्टर क्षेत्रफलको धानमा क्षती गरेको छ । किरा सबैतिर सर्दै गईरहेकोले किसानहरुले चिन्ता गरेको उहाँले उल्लेख गर्नुभयो ।

जिल्ला कृषि विकास कार्यालयले असार ३० गते देखि प्रकोप देखिएको ठाउँमा विषादी छर्कन सुरु गरेको कार्यालय प्रमुख केसीले बताउनुभयो । अहिलेसम्म नौ हेक्टर क्षेत्रफलमा विषादी प्रयोग गरिएको र उक्त ठाउँमा किराको प्रकोप हटेको छ । अहिले पनि कृषि विकास कार्यालयले प्राविधिक खटाएर प्रकोप देखिएको ठाउँमा प्रत्यक्ष निगरानी गरिरहेको केसीको भनाई छ । चौरजहारी नगरपालिकाको आर्थिक सहयोग र कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा प्रकोप नियन्त्रणको काम भैरहेको छ ।

किराले धानको पातको टुप्पाबाट पातको हरितकण कोतरेर खादै पातको बीचको नसालाई असर पार्ने गरेको छ । किराको प्रकोबाट बच्नको लागि धानको ब्याडमा किराको अण्डा रहने भएकाले धान रोप्नु भन्दा पहिला टुप्पा काटेर रोप्न सकिने कृषि विकास कार्यालयको भनाई छ । जिल्लाका अन्य ठाउँमा पनि काँडेदार खपटे किराको प्रकोप हुन सक्ने भएकाले त्यस्तो प्रकोप देखिएमा जानकारी दिन कृषकहरुलाई अनुरोध गरिएको छ ।

कृषि सेवा केन्द्र चौरजहारीले नगरका तीन वटा वडामा लगाईएको धान बालीमा काँडेदार खपटे किराले निकै नै क्षति गरेकोले अन्य वडाका किसानहरुलाई बेलैमा सचेत रहन र नियन्त्रणका उपाय अपनाउन आग्रह गरेको छ । केन्द्रले धान खेतमा टम्म पानी जमाउन, प्रकोप भएको खेतमा नाईट्रोजनयुक्त मल कम मात्रामा प्रयोग गर्न, निममा आधारित बिषादी गर्न, कीराको प्रकोप धेरै भएमा अन्तिम बिकल्पको रुपमा दैहिक वा सम्पर्क रासायनिक बिषादीहरु पानीमा मिसाई किराको प्रकोप हेरी साँझपख छर्कन अनुरोध गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्