Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कविता-अर्थ पत्ता लगाऊँ

tribeni2
   - नरेन्द्र राणा
     
छरपस्ट छन् चिट्ठी पत्रहरू
असरल्ल छन् बोझिला फाइलहरू
तर पनि
म एकतमास सालिक झैं
हलचल नगरी हेरिरहेछु
थाह छैन- के ?
 
आइरहेछन् मानिसहरू
गइरहेछन् मानिसहरू
कसैले थुकिरहेछ
कसैले ढोगिरहेछ
भञ्ज्याङको झ्याङ जस्तो जिन्दगी
किन ह्याङ भइरहेछ ?
 
कोही आकाशमा पुग्ने बाटो
निर्माणका कुरा गरिरहेछन्
कोही पाताल उत्खननका निम्ति
डिपिआर र मास्टरप्लान बनाइरहेछन्
कुवाको गन्हाउने पानी जस्तै जिन्दगी
फराकिलो किन नभएको होला ?
 
दुःखका पहाड उक्लँदा पनि
दुनिया खित्का छाडिरहेछ
सुखका मैदानमा फिँजारिएका सपनाका बिस्कुनमा पनि
दुनियाँ आँसु झारिरहेछ
विपर्यको असमन्जसमा जिन्दगी
शान्त यति धेरै किन होला ?
 
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्