सोसल मिडिया
युवाहरुलाई बिदेश मोह छ । अधिकांश घरमा जेष्ठ नागरिक, महिला र बालबालिकालाई मात्रै देख्न सकिन्छ । गाउँमा मात्र हैन बिदेश मोहले युवाहरु रित्तिदै गएको सदरमुकाममा पनि हो । घरखेत बन्धकी राखेर, चर्को ब्याजमा ऋण निकालेर अमेरिका छिर्नेहरुको जमात ठुलै छ । कतिपय युवाहरु खाडि मुलुकमा श्रम बेचिरहेका पनि छन् । त्यसैले पनि स्वदेशमा श्रम गर्ने जनशक्ति अभाव हुँदै गएको छ । कृषि पेशामा आकर्षण छैन, खेतीयोग्य जमिन बाँझै छन् ।
तर, रुकुम पूर्वको सिस्ने – ६, की २१ वर्षिय निशा शाही हमाल बिदेश मोहको अपवादको पात्र हुनुहुन्छ । माटोमा अन्न फलाउने कोई नभए, पेट भर्ने अन्नको अभाव देखेकी निशा उत्पादनमुखी कृषि पेशामा हुनुहुन्छ । विदेशमा रगत, पसिना र हड्डि घोटाएर आउने पैसा भन्दा कम छैन स्वदेशमै उहाँको कमाई ।
निशाले २०७५ सालमा सुरु गरेको तरकारी खेती अहिले ठुलो व्यवसाय बनेको छ । विगत ४ वर्ष देखी यहि पेसाबाट लाखौँ आम्दानी भईरहेको छ । सुरुमा एक रोपनी जग्गा भाडामा लिई कृषि पेसामा संलग्न भएकी निशा अहिले १० रोपनी जग्गामा तरकारी खेती गरिरहनुभएको छ ।
७ वर्ष अघि अर्थात २०७२ सालमा १५ बर्षको उमेरमा उमेर बिहे गरेकी निशा अहिले घर व्यवहारमा पनि पोख्त हुनुहुन्छ । बिहे भएसँगै श्रीमान, सासु र ससुराको रेखदेखसँगै घर व्यवहार पनि धान्दै आएकी उहाँले अहिले साबित्रा बहुद्धेश्यीय कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर असल केषि कर्ममा जोडिनुभएको छ ।
निशाका श्रीमानको केही पेशा थिएन । बाख्रा पालेर भएपनि जीवन निर्वाह गर्ने सोचले उहाँका श्रीमानले फर्म दर्ता गर्न कस्सिनुभयो । तर, सोचेजस्तो आम्दानी नभएपछि विदेशको यात्रा तय गर्न प¥यो र उहाँ विदेश नै जानुभयो । पढाईमा असाध्यै रुची राख्ने निशाले भने सरकारी जागिर खाने सपना देख्नुभएको थियो । अनेक बाध्यताको कारण सोचेजस्तै पढाईलाई निरन्तरता दिन नसकेपछि सरकारी जागिरको सपना त्यतिकै तुहियो । श्रीमान परदेशमा, काखमा सानो छोरा, घरको जिम्मेवारीले निशालाई झन् जिम्मेवार बनायो । केहि इलम गर्नुपर्छ भन्ने सोचर उहाँले छिमेकीको एक रोपनी जग्गन भाडामा लिएर सुरु गर्नुभयो तरकारी खेती ।
गर्दैजाँदा कृषि पेशामा अझ चासो र ईच्छा पलायो उहाँको । जसको कारण अहिले १० रोपनी जग्गा भाडामा लिएर खेती भैरहेको छ । अहिले निशाको बारीमा मौसमी र बेमौसमी गरेर थरिथरीका तरकारीहरु उत्पादन हुन्छन् । बिशेष गरेर बन्दा, काउली, टमाटर, खुर्सानी, भिन्डी, भ्यान्टा, आलु, प्याज फल्छन् । सबैभन्दा बढि टमाटर नै उत्पादन हुने गरेको उहाँ बताउनुहुन्छ । एक सिजनमा १०/१२ क्विन्टल टमाटर बिक्रि हुन्छ उहाँको । बर्षमा करिब पाँच लाख बचत हुन्छ तरकारी बेचेर ।
घरसम्म मोटर बाटो पुगेको छ । त्यसैले तरकारी बिक्रि वितरण गर्न समस्या छैन । अझ पछिल्लो समय त झन मानिसहरु तरकारी लिन बारीमै आईपुगेको उहाँ बताउनुहुन्छ । बजारको भन्दा सस्तो र बोटैबाट टिपेको ताजा तरकारी पाईने हुँदा तरकारी किन्नेको लाईन हुन्छ निशाको बारीमा ।
निशाको बारीमा अहिले १९ वटा टनेल छन् । ४ वटा फलामका र १५ वटा बाँसबाट निर्माण भएका छन् । जसमध्य ४ वटा टनेलमा टमाटर र अन्यमा विभिन्न किसिमका तरकारीहरु उत्पादन गरिरहेका छन् । उत्पादित तरकारी ढुवानीको लागि अब आफ्नै गाडी किन्ने सोच बनेको छ उहाँको । निशको कृषि व्यवसायमा परिवारको पूर्ण साथ रहेको छ ।
३ वर्षसम्म एक्लै खेती गरिरहेकी निशालाई थप मद्धत गर्न उहाका श्रीमान पनि विदेशबाट फर्किसक्नुभएको छ । उहाँका सासु र देवरले पनि काम सघाईरहनुभएको छ । गोडमेल गर्दा र बिरुवा रोप्दा आफू र परिवारले मात्रै नभ्याईने हुँदा कामदार पनि लगाउने गरेको उहाँको भनाई छ ।
युवा उमेरमा कृषि पेशामा लागेकी उहाँलाई यो पेशाबाट निराश हुनु परेको छैन । उहाँलाई एकिकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले अनुदान पनि उपलब्ध गराएको छ । यो वर्ष मात्रै निशाले उक्त कार्यालयबाट नमुना फर्म स्थापना कार्यक्रमको ५ लाख बजेट समेत अनुदान प्राप्त गर्नुभएको छ । यसले आफूलाई अझ सहयोग पुगेको उहाँले सुनाउनुभयो ।
कृषि कार्यालयका प्रमुख पिताम्बर बस्नेतले निशा अरुको पनि प्रेरणाको पात्र भएको बताउनुभयो । सानै उमेरकी निशाले कृषि क्षेत्रमा देखाएको मेहनत र चासोका कारण पनि जिल्लाका अरु किसान भन्दा अब्बल साबित भएको बस्नेतको बुझाई छ । कार्यालयबाट अनुदान पाउने मध्य निशा उत्कृष्ट किसान हुनुहुन्छ ।