Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
मगर संग्रहालय

एक करोड लगानीमा रुकुमपूर्वमा मगर संग्रहालय संचालन हुँदै

मगरको मौलिकता जोगाउन संग्रहालय निर्माण
२०७९ साउन ११
tribeni2

रुकुम पूर्व /  मगर समुदायको मौलिकताको संरक्षण गर्न रुकुम पूर्वमा मगर संग्रहालय निर्माण भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका – १०, तकमा मगर संग्रहालय निर्माण भएको हो । गत आर्थिक वर्षमा मगर संग्रहालयको भवन निर्माण गरिएको छ भने यस वर्ष थप व्यवस्थापन गरेर सञ्चालन बताईएको छ ।

मगर समुदायको कला, संस्कृति, रहनरहन, परम्परागत संस्कार, भेषभूषा, भाषा, साँस्कृतिक पहिचानलाई संरक्षण गर्दै पुस्तान्तरण गर्नको लागि मगर संग्रहालय निर्माण गरिएको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तिले बताउनुभयो । मगर समुदायको बाहुल्यता रहेको रुकुम पूर्वमा संग्रहालय निर्माणको बिशेष महत्व रहेको उहाँले उल्लेख गर्नुभयो ।

मगरले प्रयोग गर्ने भाँडावर्तन, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री संग्रहालय राखिने र अवलोकनको व्यवस्था मिलाईने पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाले बताउनुभयो । मगर समुदायले उत्पादन गरेका सामाग्रीहरु समेत संग्रहालयमा राखिने उहाँले जानकारी दिनुभयो । संग्रहालयमा परम्परागत धनुष, नरसिंगा, पञ्चेबाजा, घुँघरु, ढुन्डी, सुरही, हाते पिरुङ्गा, दिया टुक्की, ठेकी, जाबे झोला, तुला जस्ता अन्य घरेलु उत्पादनका वस्तुलगायत मगर जातिहरुले हातले बुनेका कपडाहरु राखिने उपाध्यक्ष बुढाले उल्लेख गर्नुभयो । त्यस्तै मगर समुदायसँग जोडिएका र प्रयोग गर्दै आएका वस्तु तथा सीप र उनीहरुसँग जोडिएका कला, संस्कृति, भेषभूषालगायतका सामग्री संग्रहालयमा राखिने छ ।

पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा संग्रहालयको लागि भवन निर्माण गरिएको छ । संग्राहलय भवनमा एउटा टिकट कोठा, कर्मचारी कक्ष र म्युजियमको लागि ठुलो हल निर्माण गरिएको छ । आर्थिक वर्ष ०७८/०७९ मा ५३ लाख ३६ हजार १५० को लागतमा भवन निर्माण गरिएको मगर संग्रहालय भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष बर्मप्रताप बुढाले बताउनुभयो ।

उहाँका अनुसार पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको ४८ लाख र उपभोक्ताको पाँच लाख ३६ हजार १५० श्रमदानबाट संग्रहालयको लागि भवन निर्माण सम्पन्न गरिएको छ । संग्रहालय भवनमा अहिले सजावटको काम चलिरहेको छ ।

गत वर्षको वजेटबाट संग्रहालय भवन बनाईएको छ भने यस वर्ष संचालन तथा व्यवस्थापनको काम हुने पुथा उत्तरगंगा गाउँपालिकाका सव इन्जिनियर नबिन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटन डिभिजन कार्यालयले यस वर्ष मगर संग्राहलय संचालनका लागि ५० लाख बजेट छुट्याएको छ । उक्त वजेटबाट संग्राहलय व्यवस्थापन तथा संचालन गरिने समेत उहाँले बताउनुभयो । 

जिल्लामा पर्यटन प्रवद्र्धनका लागि मगर संग्रहालय सहयोगी हुने भएकोले थप विकास र प्रवद्र्धनमा राज्यले थप लगानी गर्नुपर्ने स्थानीयले बताएका छन् । मगर समुदायका मौलिक परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्न समेत संग्रहालय उपयोगी हुने बताईएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्