Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

क्युबाङ र चुन्बाङका लसुनले मूल्य नपाउँदा घरमै थन्किए

चुनबाङमा मात्र ४३२.३५ मेट्रिकटन लसुन उत्पादन
२०७९ साउन १६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वका बिभिन्न स्थानमा किसानले उत्पादन गरेको लसुनले उचित मूल्य नपाउँदा घरमै थन्किएका छन् । पुथा उत्तरगंगा गाउँपालिका १२ को क्युबाङ, लुसन पकेट क्षेत्र समेत निर्धारण गरिएको भूमे गाउँपालिका ९ को चुन्बाङमा उत्पादन गरिएको लुसनले मूल्य नपाएको किसानले गुनासो गरेका छन् ।

पुथा उत्तरगंगा गाउँपालिका १२ को क्युबाङका कर्मधन पुनले गाउँका करिब १५० घरले उत्पादन गरेको लसुनले बजार नपाउँदा किसान चिन्तित भएको बताउनुभयो । उहाँले लसुन बिक्रि नहुँदा कतिपयले घरमै प्रयोग मात्र गर्ने र कतिले फाल्न बाध्य भएको समेत जनाउनुभयो ।

भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङका पूर्व वडा अध्यक्ष प्रवेश पुनले किसानले आफूले भने अनुसारको लसुनको मूल्य नपाएको बताउनुभयो । गत बर्षभन्दा कम मूल्यमा कतिपयले बिक्रि गर्न बाध्य भएको बताउनुहुदै उहाँले व्यवसायीक किसानको लसुन बिक्रि नभएको उल्लेख गर्नुभयो । बजारको माग नहेरेर बढी उत्पादन बढी भएकोले पनि उचित मूल्य पाउन नसकेको उहाँले जनाउनुभयो ।

लसुनको पकेट क्षेत्र समेत रहेको चुनबाङमा उत्पादन भएको लसुनले उचित मुल्य नपाउनु दुखद् भएको स्थानीयले बताएका छन् । गत बर्ष प्रतिकिलो एक सयमा बिक्रि भएको लसुन अहिले ५० देखि ६० रुपैयामा बिक्रि हुने गरेको छ । यसले व्यवसायीक किसानलाई मार परेको किसानको गुनासो रहेको छ । यस मूल्यले किसानको लगानी र दुख नउठ्ने लसुन उत्पादक किसान गञ्जु खड्काले बताउनुभयो । उचित मूल्य नपाएपछि अहिले यहाँका घरघरमा थुपारिएर लसुन राख्नुपरेको खड्काले जनाउनुभयो । अघिल्लो वर्ष १८ क्विन्टल लसुन उत्पादन गरेर बिक्रि गरेको तर यस वर्ष १० क्विन्टल मात्र उत्पादन हुँदा पनि उचित मूल्यमा बिक्रि हुन नसकेको उहाँले बताउनुभयो ।

अहिले चुनबाङका हरेक घरमा तीन देखि १० क्विन्टलको हाराहारीमा लसुन छ । लसुनले उचित मुल्य र बजार नपाएको भन्दै अर्को वर्ष लसुन उत्पादन घट्ने किसानको भनाई छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार यस वर्ष चुनबाङमा मात्र ४३२.३५ मेट्रिकटन लसुन उत्पादन भएको । कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले यो उत्पादन गत वर्षको तुलनामा १२.१३ प्रतिशतले वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार चुनबाङको करिब ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुन खेती हुँदै आएको छ ।

किसानहरुले स्थानीय सरकारले लसुनको बजार र मूल्यको बिषयमा सहजिकरण गरिदिने आशा बोकेका छन् । लागतमूल्य, श्रम र उचित मुनाफा हेरेर मूल्य निर्धारण भरेर लसुनले बजार पाएमा किसानहरुले उत्पादनमा निरन्तरता दिने जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्