Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
युद्ध फिचर तथा स्मारक पार्क

महतमा युद्ध भुलाउने र शान्ति फैलाउने स्मारक

युद्ध पर्यटनको नमूना काम
tribeni2

रुकुम पूर्व / तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वताका राज्यपक्ष र माओवादी बीचको लडाईको चेपुवामा परेको महतमा युद्ध फिचर तथा स्मारक पार्क निर्माण भएको । भूमे गाउँपालिका ६, महतमा रहेको स्मारक युद्ध पर्यटनको नमूना कार्यको रुपमा विकसित हुँदै गएको छ ।

‘बाक्लो र चिटिक्क मिलेको मगर बस्ती – ‘महत गाउँ’ । गाउँको सिरानमा तत्कालीन अवस्थामा रहेको प्रहरीको नमूना चौकी । चौकी आक्रमणको योजनासहितको प्रशिक्षणमा तत्कालीन जनमुक्ति सेनाका कमाण्डर तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनसहितका लडाकुको मूर्ति । चौकी आक्रमण र प्रहरीले गरेको आत्मसमर्पणको झलक । अनि, तत्कालीन डिएसपी ठूले राईको अपहरणको सन्देश । केही शवहरुका चित्र । त्यो कहालीलाग्दो विगत भुलाउन गाउँको बीचैमा बुद्धको मूर्ति र छेवैमा शान्ति स्मारक ।’ महतमा बनाईएको ‘युद्ध फिचर तथा स्मारक पार्क’ को सचिव चित्र यहि हो ।

प्रहरी चौकी आक्रमण पश्चातको सांकेतिक तस्बिर ।

सशस्त्र द्वन्द्वताका राज्यपक्ष र माओवादी बीचको दोहोरो भिडन्त, माओवादी आक्रमण, राज्यको एकोहोरो चेपुवामा निसास्सिएको रुकुमपूर्वको महत गाउँको कहानी यसै पार्कले सम्झाउँछ, र शान्तिको चीर कामना गरिरहन समेत प्रेरित गर्छ । भूमे गाउँपालिकाले यहाँको ऐतिहासिक भूमिलाई युद्ध पर्यटनको रुपमा चिनाउन बनाएको युद्धस्मारक पार्कको यो विशेषताले सबैलाई मोहित पारेको छ, आकर्षण बढाएको छ ।

‘महतमा लडाईं कसरी भयो भन्ने जिज्ञासा महत गाउँको सिरानसँगैको भित्तामा टाँसिएको चित्रले देखाउँछ’ युद्ध स्मारक पार्कका परिकल्पनाकार रामसुर बुढा भन्नुहुन्छ, ‘अब युद्ध नहोस्, शान्ति होस् भन्ने कामनालाई गाउँको बीचमा रहेको शान्ति स्मारक र बुद्धको सालिकले प्रष्ट्याउँछ ।’

युद्ध पर्यटनको विकास

महत गाउँमा मात्र ५८ जनाले जनयुद्धका कारण ज्यान गुमाए । उनैको सम्झनामा युद्ध फिचर तथा शान्ति स्मारक निर्माण गरिएको छ । तत्कालीन जनमुक्ति सेनाका कमाण्डर पासाङसहितका लडाकुदस्ताको मूर्ति राखिएको छ । । माओवादीले आक्रमण गर्ने बेलाको प्रहरी चौकी, त्यो बेलाको महत गाउँ चित्रमा बनेको छ । जसलाई संरक्षण गरेर गाउँपालिकाले युद्ध पर्यटनको रुपमा विकास गर्दैछ ।

महत गाउँमा रहेको प्रहरी चौकीमा २०५६ असोज ५ गते माओवादीले आक्रमण गरेको थियो । आक्रमणका मुख्य कमाण्डर नन्दबहादुर पुन सहितका लडाकुको मूर्ति तयार गरेर युद्ध स्मारक पार्कमा राखिएको छ । प्रशिक्षण दिँदै गरेका पासाङसँगै अहिलेका भूमे गाउँपालिका अध्यक्ष तथा तत्कालिन १ नम्बर प्लाटुन कमाण्डर होमप्रकाश श्रेष्ठ र २ नम्बर प्लाटुन कमाण्डर हरिबहादुर पुनको मूर्ति सजाईएको छ । हिमाल र बरुणको टोलीले प्रहरी चौकी आक्रमणका लागि पासाङको फौजलाई सहयोग गरेको थियो । त्यसैगरी घाइतेहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी कृष्ण रेग्मी (हाल सिस्ने गाउँपालिका अध्यक्ष) र अर्का प्लाटुन कमाण्डर किशोर घर्तिको मूर्ति बनाईएको छ । चितवन र दाङबाट दक्ष कालिगढहरु ल्याएर गाउँपालिकाले गाउँमै मूर्ति बनाएको हो ।

भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढाको परिकल्पनामा निर्माण भएको यो युद्ध स्मारक पार्कमा मुर्ति, प्रहरी चौकी, महत गाउँ, उद्धारको लागि आएको हेलिकप्टर, विद्यालयको चित्र सजाईएको छ । रामसुरको परिकल्पना अनुसार यी युद्ध फिचर हेर्ने र आक्रमणको रहर गर्न चाहनेहरुले अभ्यास समेत गर्न सक्ने बताइएको छ । सबै काम पूरा भएपछि प्लाष्टिकको बन्दुक, हतियार र गोलीको समेत व्यवस्था गरेर युद्धअभ्यासको नक्कल गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

शान्ति र विकासको चाहना

महत गाउँको बीचमा राखिएको गौतम बुद्धको मूर्ति र सहिद स्तम्भ ।

‘हामी शान्ति चाहन्छौं’ भन्ने सन्देश दिन बुद्धको मूर्ति बनाइएको र ‘मृतकको सम्झनामा’ शान्ति स्मारक निर्माण गरिएको रामसुरले उल्लेख गर्नुभयो । गाउँको सिरानमा निर्माण गरिएको युद्ध फिचरमा दुई पक्षबीचको लडाईंको दृश्यलाई प्रदर्शन गरिएको छ, जसले युद्ध अब स्मरणमा मात्रै रहोस् भनेर सन्देश दिन खोजिएको छ । युद्ध फिचर राखिएको स्थानलाई युद्ध स्मारक पार्कको रुपमा प्रचार गरिदैछ । ‘जनता विकास र समृद्धि चाहन्छन्, यसका लागि स्थायी शान्ति आवश्यक छ’ भन्ने सन्देश प्रवाह गर्न युद्ध फिचर र शान्तिको स्मारक निर्माण गरिएको हो ।

उच्च स्तरको प्रहरी अधिकृत अपहरण


महत गाउँको प्रहरी चौकीमा माओवादीले आक्रमण गरेर तत्कालीन डिएसपी ठूले राईलाई अपहरण गरेको थियो । सशस्त्र द्वन्द्वको बेला माओवादीले नेपाल प्रहरी उच्चस्तरको अधिकृत अपहरण गरेको यो पहिलो घटना हो । भोलिपल्ट गाउँमा प्रहरी पसेर दुई जना सर्वसाधारणको हत्या गरेको थियो । आक्रमणमा परेर दुई जना प्रहरी र प्रहरीको संरक्षणमा रहेका दुई जना काँग्रेस कार्यकर्ताको ज्यान गएको थियो । त्यसको केही दिनपछि असोज ३० गते गाउँकै सात जनालाई गिरफ्तार गरी नजिकैको जंगलमा लगेर छ जनाको हत्या गरिएको थियो ।

पटक पटक क्षती

भूमे गाउँपालिकाको ६, महत गाउँ ।

तेस्रोपल्ट २०६० साल असोज ५ गते सेनाले गाउँ घेरा हालेर चलाएको गोली लागेर १७ जना सर्वसाधारणको मृत्यु भएको थियो । जसमध्ये ६ वर्षीय, १० बर्षीय र १४ बर्षीय नावालकका साथै ७६ वर्षीय वृद्धले समेत ज्यान गुमाउनुपरेको थियो । साविकको महत गाविसमा मात्रै राज्यपक्षबाट ५२ जनाले ज्यान गुमाएका थिए भने विद्रोही पक्षबाट ६ जनाले ज्यान गुमाएका थिए ।

त्यही दर्दनाक पीडालाई बिर्साएर ज्यान गुमाएकाहरुको योगदानलाई कदर गर्न गाउँको बीचमा गौतम बुद्धको मूर्ति, बुद्धमूर्तिसँगै मृतकहरुको नाम अंकित स्तम्भ र गाउँको सिरानमा युद्धस्मारक पार्क बनाइएको छ । युद्ध संग्रहालय निर्माण गर्ने भनिएको चुन्वाङ भूमे गाउँपालिकाभित्रै पर्ने र गुरिल्ला पदमार्ग पनि यही बाटो भएर अगाडि बढ्ने भएका कारण पनि भूमेको भूमिलाई युद्ध पर्यटनमा चिनाउने गरी काम भएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । यसको सकारात्मक प्रचार, युद्धको स्मरण, सहिदको सम्मान र शान्तीको कामनासँगै पर्यटनको विकास यस पार्कबाटै गर्न सकिने विश्वास उहाँको छ ।

गाउँपालिकाका अनुसार गत वर्षसम्म पार्क निर्माणका लागि ६८ लाख ५० हजार खर्च गरिएको छ । आर्थिक वर्ष ०७४/०७५ देखि युद्ध स्मारक पार्क निर्माणको काम थालनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्