सोसल मिडिया
आफ्नो २८ बर्षे राजनीतिक जीवनमा निरन्तरको संघर्षपछि रुकुम पश्चिमको जिल्ला समन्वय समिति हाँक्दै हुनुहुन्छ, लुम्बिनी गौतम । उहाँ २०७९ को स्थानीय चुनाव अन्तर्गत गत जेठ ३१ समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको हो । मुलुकका ७७ वटा समन्वय समितिको प्रमुख पदमा निर्वाचित चार जना महिला मध्य उहाँ एक हुनुहुन्छ । कर्णाली प्रदेशमा रहेका जिल्ला समन्वय समिति मध्य प्रमुख पदमा जित्ने एक्लो महिला हुनुहुन्छ ।
लुम्बिनी गौतम २०३७ सालमा साविकको खलंगा गाउँ विकास समितिको सेरिगाउँमा जन्मनुभएको हाे। उहाँले राजनीति पनि यहि भुगोललाई आधारशिला बनाएर सुरु गर्नुभयो । पारीवारिक पृष्ठभूमिकै प्रेरणाले उहाँलाई राजनीतिमा तानेको हो । २०५१ सालमा अनेरास्ववियू क्रान्तिकारी विद्यार्थी संगठनको इकाइ कमिटीबाट आफ्नो राजनीतीको जग बसालेकी गौतम सुरु देखि नै संगठनको प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ । विद्यार्थी संगठनको जिम्मेवारीमा अब्बल साबित भएकी उहाँ सशस्त्र जनयुद्धको समयमा पूर्णकालिन रुपमा माओवादी पार्टीमै होमिनुभयो ।
५ कक्षामा अध्ययन गर्दागर्दै करिव तीन/चार महिना विद्यालय, घर छाडेर पार्टीको अभियानमा हिडेदेखि राजनीतिप्रति झन् नजिक भएको उहाँको बुझाई छ । अनेरास्ववियू क्रान्तिकारीको १५ औं सम्मेलनबाट पहिलो महिला जिल्ला अध्यक्ष बनेकी लुम्बिनीले लगातार तीन कार्यकाल संगठनको अध्यक्ष भएर नै चलाउनुभयो । त्यतिवेलाको समयमा पनि प्रायःजसो जिल्लामा संगठन तथा पार्टीको महिलाहरु अध्यक्ष बन्न पाउदैनथे ।
लुम्बिनीको कार्यकालपछि हालसम्म रुकुममा अनेरास्ववियू क्रान्तिकारीले महिला अध्यक्ष पाउन सकिरहेको छैन । राजनीतिमा खारिदै गएकी उहाँले लगातार चार कार्यकाल अनेमसंघको अध्यक्ष भएर संगठनलाई चलाएमान बनाएको अर्काे अनुभव पनि छ ।
२०५७ सालमा विद्यार्थीको केन्द्रीय सदस्य बनेपछि भने लुम्बिनी विद्यार्थी राजनीतिबाट अलग हुनुभयो र पूर्ण रुपमा पार्टीमा लाग्नुभयो । भातृ संगठन छोडेर पूर्णरुपमा पार्टीमा लागेपछि लुम्बिनीले धेरै जिम्मेवारी समाल्ने अवसर पाउनुभएको छ । अवसरलाई भरपुर सदुपयोग गरेकै कारण अहिलेपनि पार्टीमा टिकीरहेको उहाँ बताउनुहुन्छ ।
सशस्त्र युद्धको बेला माओवादी केन्द्रको पहिलो जिल्ला महिला सेक्रेटरी बनेकी लुम्बिनीले सशस्त्र युद्धकै क्रममा क्षेत्रीय व्युरो सदस्य भएर कमाण्ड समाल्नुभएको थियो । विभिन्न आरोह र अवरोह छिचोल्दै आउनुभएकी गौतम यतिवेला नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी सदस्य समेत हुनुुहुन्छ । एउटा काँधमा दुधे बच्चा र अर्काे काधमा बन्दुक बोकेर सशस्त्र युद्धका विभिन्न जिम्मेवारीहरु समाल्न साहस गरेकी लुम्बिनीले महिला भनेर पछाडि धकेल्ने समाजको अगाडि जिल्ला समन्वय समितिमा आफ्नो पाँच बर्षे कार्यकालमा जिल्लाका महिलाको कमजोरस्थिति उकास्ने र शसक्त बनाउने योजना बनाइरहेको बताउनुहुन्छ ।
‘पदभार ग्रहण गरेकै दिनबाट जिल्लामा पूर्वाधार र सामाजिक विकास निर्माणलाई तिव्रता दिने प्रण गरेको छु’, लुम्बिनी भन्नुहुन्छ, ‘जिल्लाको समग्र विकासमा जहाँ जे आवश्यक्ता पर्दछ, त्यसकै आधारमा अघि बढ्ने योजना रहेको छ ।’
जिल्लामा रहेका ६ स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम बनाउदाँ देखि नै जिल्लाको आवश्यकतालाई र समन्वयको पाटोलाई मध्यनजर गरेर अघि बढेको पनि उहाँ उल्लेख गर्नुहुन्छ ।
सवै पालिकाहरुलाई तथा जिल्लामा क्रियाशिल कार्यालयलाई सन्तुलित विकासमा लगाउन, समन्वयकारी ढगंबाट काम सम्पादन गर्न, मागहरुको उचित सम्बोधन गर्न, गुनासोहरुको सुनुवाई गर्न आफ्नो अगाडि चुनौति रहेपनि यसलाई कुशलतापूर्वक सम्पादन गर्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । राजनीतिसँगै जनताको सेवा आफूले रोजेको विषय भएकोेले आफ्नो कार्यकालमा केही न केही राम्रो कुराको सुरूवात गर्ने चाहना उहाँको छ ।
समाज परिवर्तनका लागी नै ज्यानको माया मारेर जनयुद्धमा होमिएको सम्झिदै समाजमा फरकपन ल्याउनको लागीे नेतृत्व गर्ने भनेर राजनीतिमा लागेकी र अनियमितता तथा भ्रष्टाचार रोक्न कस्सिएर लाग्ने उहाँको योजना छ । आजको परिवेशमा पनि महिलाहरुले विभिन्न कार्यालय, संघसस्था वा राजनीतिक दलको प्रमुखको जिम्मेवारी समाल्न सक्दैनन् भन्ने पितृसत्तावादको अघि नयाँ तरिकाले अघि बढ्नुपर्ने उहाँको बुझाई छ ।
अधिकांस स्थानीयतह, जिल्ला समन्वय समितिको प्रमुख, प्रदेश सभा वा संघीय सांसदमा पुरुषकै हाबी रहेकोले महिलाको निर्णायक र प्रभावकारी सहभागीताको लागि पार्टीभित्रै वा अन्य ठाउँमा अनेक संघर्ष तथा बिद्रोह समेत गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । समाजसँग लडेर राजनीतिमा पुगेपछि प्रमुख जिम्मेवारी समाल्नको लागी पनि फेरी अर्को लडाईं लड्ने साहस प्रत्येक महिलाले गर्नुपर्ने उहाँको बुझाइ रहेको छ ।
रुकुममा आएको महिला नेतृत्वबाट तमाम् आशाहरु उदाएका छन् । समाज र सिंगो देश परिवर्तनका खातिर केही न केही गर्नुपर्छ भन्ने भाव बोकेर राजनीतिमा जोडिनुभएकी लुम्बिनी गौतम अत्यन्तै संवेदनशिल भएर नै कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने कुरामा प्रतिबद्ध हुनुहुन्छ । आफ्नो कार्यकाल सम्झनालायक बनाउन जनता माझमै रहेर काम गर्ने उहाँको तिब्र चाहना रहेको छ ।