रुकुममा बढ्दै पारिवारीक विवाद, फैसला भएका मध्य ५४ प्रतिशत मुद्धा सम्बन्ध बिच्छेदका

बाल विवाहको असर भयावह
२०७९ साउन २१

रुकुम पश्चिम : रुकुम जिल्ला अदालतमा दर्ता भएका र फैसला भएका मुद्धाहरुको संख्या हेर्दा रुकुम पश्चिममा सम्बन्ध बिच्छेदका मुद्धा बढी मात्रामा रहेका छन् ।

जिल्ला अदालत रुकुम पश्चिमका अनुसार गत आर्थिक वर्ष ०७८/०७९ मा अदालतको लगतमा जम्मा भएका मध्य ४३.८८ प्रतिशत मुद्धा सम्बन्ध बिच्छेदका रहेका छन् । अदालतका निमित्त श्रेष्तेदार बिष्णुप्रसाद पौडलले बितेको वर्ष अदालतको लगतमा ६६० वटा मुद्धा आएकोमा २८७ वटा सम्बन्ध बिच्छेदका रहेको बताउनुभयो । कुल मुद्धा मध्य ४६६ वटा देवानी, १८८ मुद्धा फौजदारी र ६ वठा मुद्धा पुनरावेदन तर्फका छन् । देवानी अन्तर्गत २८७ मुद्धा मात्र सम्बन्ध बिच्छेदका रहेका छन् ।

रुकुम जिल्ला अदालतमा जम्मा भएका कुल मुद्धा मध्य ३०३ वटा मुद्धा अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएका थिए । अघिल्लो वर्ष लगत सरिआएमा मुद्धा मध्य १९१ वटा देवानी, ११२ वटा फौजदारी र पाँच वटा पुनरावेदन तर्फका मुद्धा रहेका छन् । यस वर्ष भने अदालतमा २७५ देवानी, ८१ वटा फौजदारी र एक वटा पुनरावेदन तर्फका मुद्धा दर्ता भएको निमित्त श्रेष्तेदार पौडेलले उल्लेख गर्नुभयो ।

६५ प्रतिशत मुद्धा फछ्र्यौट

रुकुम जिल्ला अदालतले आर्थिक वर्ष ०७८/०७९ मा दर्ता भएका मुद्धा मध्य ६५.३० प्रतिशत मुद्धा फट्र्यौट भएको जनाएको छ । अदालतका निमित श्रेष्तेदार पौडेलले गत वर्ष जम्मा भएका ६६० मध्य ४३१ वटा मुद्धा रुकुम अदालतबाट फछ्र्यौट भएको जानकारी दिनुभयो । ३३१ वटा देवानी, ९६ वटा फौजदारी र चार वटा पुनरावेदन अन्तर्गतका मुद्धा फैसला भएका हुन् । २२९ वटा मुद्धा भने फैसला हुन बाँकि रहेका छन् । बाँकि रहेका मुद्धा मध्य १३५ वटा देवानी, ९२ वटा फौजदारी र दुई वटा पुनरावेदन अन्तर्गतका मुद्धा हुन् ।

फैसला भएका मुद्धा मध्य ५४.५२ प्रतिशत मुद्धा भने सम्बन्ध बिच्छेदका रहेका छन् । दर्ता अभिलेखमा रहेका २८७ मध्य २३५ वटा सम्बन्ध बिच्छेदका मुद्धा फैसला भएका हुन् । लगतमा रहेका मध्य ५२ वटा भने फैसला हुन बाँकि रहेको अदालतले जनाएको छ ।

निमित श्रेष्तेदार पौडेलका अनुसार गत आर्थिक वर्षमा पारिवारीक विवादका मात्र ३८५ सम्पत्ति सम्बन्धीका ६६ मुद्धा आएको आएका थिए । जसमध्य २९६ वटा पारिवारीक विवाद र २७ वटा मात्र सम्पत्ति सम्बन्धीका मुद्धा फैसला भएका छन् । नियमित मिसिलको काम भईरहेतापनि कोरोना संक्रमण र चुनावको समयको कारण सबै खालका मुद्धा फैसलामा केहि ढिलाई भएको अदालतले जनाएको छ ।

बाल विवाह प्रमुख समस्या

अदालतमा पारिवारीक सम्बन्ध विवादका मुद्धाहरु बढी मात्रामा पुग्नुमा बालविवाह मुख्य समस्या रहेको बताईएको छ । सानै उमेरमा विवाह गर्दाका व्यक्तिगत चाहना र पारिवारीक अवस्था फरक भैदिने भएकोले बेमेल सुरु हुने र अदालतसम्म पुग्ने गरेको अधिवक्ता रचना मल्लको बुझाई छ ।

उहाँका अनुसार सानै उमेरमा बिवाह गरेर सन्तान जन्माउने, पारिवारीक जिम्मेवारी र दायीत्व बढ्ने तर आम्दानीको श्रोत नहुँने हुँदा कलह सुरु हुने गरेको छ । चेतनाको अभाव र बेरोजगारी समस्याले पनि पारिवारीक कलह निम्त्याउने गरेको उहाँको भनाई छ ।

महिला मानव अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष ब्युझना पुन देवकोटा पनि सम्बन्ध विच्छेदका घटनाहरु बढ्नुमा बाल विवाह प्रमुख कारण रहेको उल्लेख गर्नुहुन्छ । उहाँले बाल विवाहपछि वैदेशिक रोजगारी, पितृसतात्मक सोच र घरेलु हिंसाको प्रभावको कारण सम्बन्ध बिच्छेदको अवस्था बढी मात्रामा आउने गरेको बताउनुभयो ।

सरकारले बाल विवाह सम्बन्धमा बनाएका कानूनहरु अक्षरशः कार्यान्वयन गर्दै, स्थानीय सरकार समेतले सचेतनाका कार्यक्रम, नैतिक शिक्षाका गतिविधिहरु प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने राय उहाँको छ ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्