कर्णालीको सुन्दरता

'मलाई अहिले रारा फिभर भएको छ'

  • अञ्जली राना

कर्णाली सुन्दरताको प्रतिबिम्व हो । कर्णाली स्वर्गको पर्यायवाची शब्द । एकता र सद्भावनाले भरिपूर्ण कर्णाली प्रकृतिको वरदान हो ।

कर्णाली भन्ने बित्तिकै कतिपयको मनमा गरिबी, अशिक्षा र विकट जस्ता भावना सृजित हुने गर्छन् । तर, कर्णालीलाई नदेखी, यसको मनोरम दृश्यमा लुकामारी नखेली विचार बनाउने छुट कसैलाई छैन । यो लेखको सुरुवातमा नै सम्पूर्ण घुमन्तेहरूलाई स्वर्ग घुम्ने निम्तो दिन्छु ।

कर्णालीको सुन्दरतालाई शब्दमा बयान गर्दा सायदै मेरा शब्दहरू अपूर्ण र अधुरा हुन्छन् ।मैले सधैं सौन्दर्यको बखान सुनेकी थिएँ । हेरेकी थिइनँ । पुस्तकमा पढेकी थिएँ । महसुस गरेकी थिइनँ ।

समयले एकपटक मुगु जिल्लामा अवस्थित रारा ताल घुम्ने साइत जुरायो । रारा तालको आँगनमा पाइला टेकेपछि थाहा पाएँ । मैले बखानमा सुनेको र पुस्तकमा पढेको सौन्दर्य यही हो । मलाई त्यो महसुस भयो ।

रारा पुगेपछि फ्याट्ट कसैले भनिदियो– ‘स्वर्गीय राजा वीरेन्द्रले त्यतिकै यस तालको नाम स्वर्गकी अप्सरा राखेका रहेनछन् ।’ यस तालको बारेमा जान्न झन् उत्सुक हुँदै गइरहेकी थिएँ । पछि थाहा पाएँ । रारा ताललाई मुगुको हीरा समेत भनिंदोरहेछ । हुन त यहाँ बसोबास गर्ने मानिसको दैनिकीको सहारा पनि बनेको छ यो ताल ।

मैले सोचें– यो तालसँग दुनियाँभरका पर्यटकहरूलाई लोभ्याउन सक्ने प्राकृतिक र आनन्दित दृश्य, रहनसहन, यहाँका मानिस सबैको अग्र्यानिक पहिचान छ । यस्तो वातावरणले जस्तो मनलाई पनि पगाल्दिन सक्ने ताकत राख्छ । यो राराको मात्र होइन, देशकै हीरा बन्न सक्छ । एकपटक दिमागमा आएको विचार जस्तो विकास कहाँ सम्भव छ र ? यसरी पनि सोचें ।

राराको आँगनमा पाइला टेकेपछि यो जन्म पूरा भयो जस्तो महसुस हुने रहेछ । प्रकृतिको सुन्दर दृश्यले बाँधिराख्छ । फर्कंदा पनि फिभर रहिरहन्छ । हो, मलाई अहिले रारा फिभर भएको छ ।

रारालाई नजिकैबाट नियाल्न पाउँदाको परम आनन्दलाई शब्दमा कसरी कैद गरूँ ? जुन आनन्द शब्दमा कैद भइजाओस्, त्यो आनन्द के परम आनन्द ? नाइँ म सक्दिनँ । तपाईं एकपटक आफैं घुम्नुस् । पुग्नुस् । मेरा शब्दमा रारा होला तर माथि मैले जुन आनन्दको वर्णन गरें त्यो तपाईंले पुगेर मात्र महसुस गर्न सक्नुहुन्छ ।

रारासम्मको यात्रा तय गर्न पाउनु एउटा दुर्लभ अवसर रह्यो मेरो लागि । मध्यपश्चिम विश्वविद्यालयले दिएको यो सुनौलो अवसर थियो । कर्णालीवासी भएर पनि कर्णालीको सेरोफेरो नदेख्नु अर्काे विडम्बना पनि थियो । जति यात्रा त्यति सिकाइ र अनुभव जोडिंदै जाने हुनाले सम्पूर्ण साथीहरू पनि उत्तिकै उत्सुक थिए । वर्षायामको वास्ता नै नगरी हामीले धेरै जोखिम र उत्साहका साथ यात्रा तय गर्‍यौं ।

गाडीको झ्यालबाट देखिएको मन बहलाउने दृश्य नजिकैबाट चुमिरहूँ जस्तो लाग्ने । कल्पनाभित्रको कर्णाली र वास्तविक कर्णालीबीच कैयौं अन्तर रहेछ । यहाँको सबथोक जसलाई मानिसले अनेकथरी परिभाषा दिएर वर्णन गरे– तिनीहरू यहाँका सुन्दरता, गहना हुन् । तिनीहरूले कर्णालीको आकर्षण थप बढाएका छन् । कतिपय परिभाषाको अर्थ लाग्यो त कतिपय परिभाषाको अनर्थ ।

जहाँ हेरे पनि अवसर नै अवसरले बाँधिएको छ कर्णाली । गरिबी र बेरोजगारी यहाँका परिभाषा होइनन् । अवसर र सम्भावना कर्णालीका परिभाषा हुन् । नढाँटी भन्छु– कर्णाली प्रकृतिले धेरै धनी छ । यात्राकै क्रममा मैले देखेका कर्णालीभित्रका अवसर र सम्भावनाका दृश्य झुटा होइनन् । यहाँका नदी, नाला, हिमाल, अनेकथरी चराचुरुङ्गी, वन्यजन्तु, जडीबुटी जसले कर्णाली भरिएको छ । यिनी झुटा होइनन् ।

म इमानदार भएर भन्छु– मैले देखेका सबै–सबै सत्य हुन् । भ्रम म मात्र हुँ । मैले आफूलाई भ्रम किन भनेको भने कर्णाली एकपटक यसरी कोही घुम्यो भने ऊ पहिलाको ऊ रहँदैन । ऊ प्रकृति बनिहाल्छ । ऊभित्रको मानवीयता जाग्न थाल्छ । ऊ यहीं बस्न चाहन्छ । यसैमा रमाउन चाहन्छ ।

दिमागमा धेरै पटक हिट गरिरहेको थियो । प्रशस्त मात्रामा खेर गइरहेको पानीको उचित उपयोग कसरी हुन सक्ला ? प्राकृतिक रूपमा धपक्क बलेको कर्णालीलाई कृत्रिम प्रकाशको लेपन लगाउन सके कर्णालीवासीको जीवनयापन सहज हुनेथियो । अझै पनि सोलार बालेर रात काट्नुपर्ने बाध्यताले बाहिरबाट गएका पर्यटकहरूलाई भावुक बनाउँदो रहेछ ।

कर्णालीको स्याउले कतिपयलाई आत्मनिर्भर पनि बनाएको रहेछ । कर्णालीमा बसोबास गर्ने मानिस हुन् वा सिङ्गो देशमा । हामीले आत्मनिर्भर हुन र यहाँका मानिसहरूलाई आत्मनिर्भर बनाउन स्वदेशी सामानको उत्पादन र खरिदमा ध्यान दिन जरूरी छ ।

स्वदेशी सामान राम्रो नभए उक्त सामान खरिद गरी उत्पादकलाई खबरदारी गर्न सकिन्छ । तर, स्वदेशी सामानलाई हामीले महत्व नदिने हो भने देशले आर्थिक समृद्धि हासिल गर्न युगौं कुर्नुपर्ने हुनसक्छ ।

कर्णाली घुम्नको लागि राम्रो सडक निर्माण अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । पर्यटकहरूलाई आवतजावतमा सहज भयो भने कर्णालीमा पर्यटकको घुइँचो लाग्ने कुरामा कुनै शंका छैन । आर्थिक विकासका लागि पर्यटकीय विकास हुनु अनिवार्य हुन्छ । सुरुमा जुन पर्यटकीय गन्तव्य छन् उक्त गन्तव्यमा पुग्ने सडक व्यवस्थित गर्न सके पर्यटकीय चाप बढ्ने देखिन्छ ।

जुम्ला जिल्लाको सिंजा नेपाली खस भाषाको उद्गमस्थल हो । जुन कर्णाली प्रदेशभित्र पर्दछ । कला र संस्कृतिले पनि भरिपूर्ण कर्णाली यात्राका क्रममा हरेक मोड, घर, घुम्तीहरूमा केही न केही कलात्मक दृश्यको अवलोकन गर्न पाइन्छ । ठाउँ–ठाउँमा भेटिएका र देखिएका ती घरहरूले एकआपसमा जोडिएर सद्भाव र एकताको भावलाई झल्काउँछन् ।

कर्णाली घुम्नुभयो भने एउटा कुरा साझा भेट्टाउनुहुनेछ । परिश्रमको पसिना बगाएर जीवन जिउने आत्मविश्वास सबैमा हुन्छ । आफ्नै मौलिकतामा बाँच्नु यहाँका मानिसको पहिचान हो । यहाँका कथा, व्यथाहरू रचिए, बेचिए तर तिनै कथा व्यथाहरू बुझ्न कसैले चाहेनन्, खोजेनन्, सकेनन् ।

काठमाडौं सहरसँग कर्णालीलाई तुलना गरेर विकटको संज्ञा दिइयो । तर, हामीले कर्णाली प्राकृतिक सुन्दरता र यहाँको स्वच्छ, सफा वातावरणसँग काठमाडौंलाई कहिल्यै तुलना गरेनौं । म कर्णाली सबै घुमेकी छैन । जति घुमें त्यतिले मलाई झन् घुम्न प्रेरित गरेको छ ।

हामी धनी भएको महसुस गराएको छ । नरेश भण्डारीद्वारा लिखित पुस्तक ‘चाँदीको घेरामा’ भने जस्तै ‘हामी सुनको सिरानी लगाएर नुनको खोजी गरिरहेका कर्णालीवासीहरू हौं ।’

(लेखक मध्यपश्चिम विश्वविद्यालय कानुन संकायमा अध्ययनरत छिन् ।)

(अनलाइन खबरबाट)

 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्