Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनकपुर चुरोट कारखानाको जग्गामा मुसिकोटले बनाएको तरकारी संकलन केन्द्र संचालनमा आएन

५० लाख बढी बजेट खर्च
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा तरकारी संकलन केन्द्र संचालनको लागि लाखौ बजेट खर्च गरेर बनाईएको भवन प्रयोग बिहिन अवस्थामा रहेको छ । जिल्लाको मुसीकोट नगरपालिका ५ बागबजारमा निर्माण गरिएको तरकारी संकलन केन्द्रको भवन निर्माण भएको लामो समय बितिसक्दा पनि संचालन हुन सकेको छैन ।

एक वर्ष अघि नै तरकारी संकलन केन्द्र संचालन गर्नेगरी निर्माण सम्पन्न गरिएतापनि हालसम्म पनि संचालनमा आउन नसकेको हो । जनकपुर चुरोट कारखाना लिमिटेडको नाममा रहेको जग्गामा मुसीकोट नगरपालिकाले तरकारी संकलन केन्द्र संचालन गर्ने उद्धेश्यले भवन बनाएको थियो । नगरपालिकाले तरकारी संकलन केन्द्र संचालनका लागि बनाईएको उक्त भवनका लागि ५० लाख रकम खर्च भएको जनाएको छ ।

आर्थिक वर्ष ०७५/०७६ बाट निर्माण सुरु गरिएको उक्त संकलन केन्द्र बजेट अभावका कारण दुई वर्षसम्म निर्माण ठप्प भएको थियो । त्यस वर्ष २२ लाख रकमले संकलन केन्द्रसम्म पुग्ने सडक निर्माण देखि संकलन केन्द्र निर्माणको लागि जमिन सम्याउने काम भएको थियो । मुसीकोट नगरपालिकाको १२ लाख र कृषि विकास कार्यालयको १० लाख बजेटमा संकलन केन्द्रसम्म पुग्ने सडक निर्माण र जमिन सम्याउने काम मात्र भएको थियो ।

आर्थिक वर्ष ०७७/०७८ मा नगरपालिकामा प्राप्त थप ३० लाख बजेटबाट तरकारी संकलन केन्द्र भवनको निर्माणको काम पुरा गरिएको थियो । नगरपालिकाको २० लाख र सहरी शासकीय आयोजना अन्तर्गत कर्णाली प्रदेश मार्फत कृषि विकास कार्यालयमा आएको १० लाख बजेटले तरकारी संकलन केन्द्र भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

यस बिषयमा मुसीकोट नगरपालिकाका कार्यबहाक नगरप्रमुख समिरजंग मल्लले अघिल्लो स्थानीय सरकारको पाला नै भवन बनिसकेको हुनाले निर्माण प्रक्रिया र संचालनको प्रक्रिया बारेमा थप छलफल गर्न बाँकि रहेको जनाउनुभयो । नगरपालिकाका प्रवक्ता समेत रहनुभएका उहाँले अर्काको नाममा रहेको जग्गालाई नगरले प्रयोग गर्न मिल्ने आधार हेरेर तथा प्रक्रिया पुरा गरेर मात्र प्रयोगमा ल्याउन उपर्युक्त हुने बताउनुभयो ।

तरकारी संकलन केन्द्रको लागि सडक सुविधा अलि नरहेकोले सकभर हाट बजारको रुपमा संचालन गर्न सकिने समेत उहाँले बताउनुभयो । आफ्नै वडाको क्षेत्र र सरकारी लगानी भैसकेको हुनले अब तत्कालै छलफल गरेर उपयोगमा ल्याईने मल्लले जानकारी दिनुभयो ।

जिल्लामा तरकारी संकलन केन्द्र नहँुदा कृषकले उत्पादन गरेको तरकारीले उचित वजार नपाएको किसानहरुको गुनासो छ । कृषकले उत्पादन गरेको तरकारी डोकोमा बोकेर डुलाउँदै बिक्रि गर्नुपर्ने बाध्यता रहेको छ । संकलन केन्द्र निर्माणपछि विभिन्न ठाउँबाट सदरमुकाम खंलगामा आउने तरकारी थोक मुल्यमा खरिद गरि संकलन केन्द्रबाट बिक्रि गरिने नगरपालिकाको योजना हालसम्म अघि सर्न सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्