सोसल मिडिया
रुकुम पश्चिम : रुकुम पश्चिममा संचालनमा रहेको हिंसा पीडित महिलाका लागी अल्पकालिन आवास गृह (सेफ हाउस) पीडितहरुको भरपर्दो सहारा बनेको छ । मुसीकोट नगरपालिका १, मा रहेको सेफ हाउसबाट हिंसा पीडितहरुलाई निरन्तर मनोसामाजिक परामर्शसँगै खाना र आवासको व्यवस्था हुन थालेपछि भरपर्दो आफ्नो साहारा लागेको पीडितहरुले प्रतिक्रिया दिएका छन् ।
चौरजहारी नगरपालिकाकी कल्पना ओली (नाम परिवर्तन) ले आफ्नो श्रीमानको मृत्युपछि ६ महिने छोरा सहित घरबाट निकालिँदा सेफ हाउसले आफुलाई सुरक्षा दिएको बताउनुभयो । आफ्नै परिवारले नाबालक छोरासहित उहाँलाई घरबाट निकालिदिदा गास, बासको व्यवस्था सेफ हाउसले गरेको थियो । गत असारमा आफन्तबाटै सडकमा निकालिएपछि सेफ हाउसले मनोसामाजिक परामर्श सहित उद्धार गरेको कल्पनाले बताउनुभयो ।
नौ महिनाको बच्चा पेटमा हुँदा घरेलु हिंसामा परेकी रुकुमपूर्वको सिस्ने गाउँपालिकाकी गीता बुढा (नाम परिवर्तन) ले सेफ हाउसमै बच्चा जन्माएको बताउनुभयो । ‘परिवारकै कारण मानसिक रूपमा विक्षिप्त भएकी थिए, २२ दिन यहि बसे, बच्चा पनि जन्मियो,’ उहाँले भन्नुभयो ‘बच्चा जन्मिएपछि माइतीको सहारामा सेफ हाउसले पु¥याईदियो ।’ सेफ हाउस पीडाको बेलाको सहारा बनेको उहाँको बुझाई छ ।
कल्पना र गीताको जस्तै ६७ जना हिंसा पीडित महिलाहरुलाई गत आर्थिक वर्षमा सेफ हाउसले सेवा दिएको छ । सेफ हाउसका व्यवस्थापक सिर्जना बुढाका अनुसार गत वर्ष घरेलु हिंसामा परेका १४ जना, जबरजस्ती करणीमा पीडित बनेका पाँच जना, हराएकाहरु पाँच जना, गालीगलौज तथा मानसिक समस्या पीडित २९ जनाले सेवा लिएका छन् । त्यसैगरी गत वर्ष नै बहुबिबाह मुद्धाका एक जना, बेवास्तामा परेका सात जना, सम्बन्ध बिच्छेदका चार जना र अन्य दुई जना पीडितलाई सेफ हाउसले सेवा दिएको छ ।
बलात्कारको सिकार भएका, घरेलु हिंसाको चपेटामा परेर मानसिक विचलनको अवस्थामा पुगेका पीडित महिलाहरुको लागि सेफ हाउस सहारा बनेको बुढाले जानकारी दिनुभयो । २०७२ साल अघि हिंसा पीडित, असहाय महिलाहरु सडकमा बिचल्ली अवस्थामा हुने गरेको पाईएतापनि सेफ हाउस सञ्चालन भए यता त्यस्ता महिलाले संरक्षण र सहयोग पाईरहेको व्यवस्थापक बुढाले जनाउनुभयो । उहाँका अनुसार हिंसाका घटनाहरु बढेसँगै सेफ हाउसकोे आवश्यकता झन् बढ्दै गएको छ ।
सेफ हाउसका मनोविर्शकर्ता निशा रावल परिवार र समाजबाट तिरस्कृत बनाईएका महिलाहरुहरु मानसिक विचलन हुन नदिन र थप अनर्थ हुनबाट रोक्न सेफ हाउसमा परामर्श दिईने बताउनुहुन्छ । पीडामा परेका महिलाहरुको लागि उद्धार, सुरक्षा र परामर्शको लागि सेफ हाउस आवश्यकता रहेको उहाँका बुझाई छ । हिंसामा परेका, मानसिक रुपमा आघात पुगेका र गोपनियताको सुरक्षाको कारण सेफ हाउसको सेवा प्रभावकारी भएको मनोविमर्शकर्ता रावत बताउनुहुन्छ । आवास गृहको दीर्घकालीन व्यवस्थापनमा स्थानीय सरकारले पनि जोड दिनुपर्ने मनोविमर्शकर्ता निशा रावलको भनाई रहेको छ ।
निरन्तर पीडितहरुको पक्षमा पैरवी गर्दै आएको सेफ हाउसको नियमित र प्रभावकारी संचालनको लागि आफ्नै भवनको अभाव रहेको छ । महिला परामर्श भवनमा सञ्चालित सेफ हाउसलाई मुसीकोट नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र सामाजिक विकास कार्यालय रुकुम पश्चिमले आर्थिक सहयोग गर्दै आएका छन् । कार्यालयमा मनोविमर्शकर्ता सहित तीन जना कर्मचारी रहेका छन् ।