Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा सडक निर्माणमा काम गरेका कामदारले ज्याला पाएनन्

मुख्य ठेकेदारले पेटी ठेकेदारलाई झुलाएको आरोप
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारीमा सडक निर्माणको काममा लागेका मजदुरहरुले ठेकेदारबाट ज्याला पाएका छैनन् । चौरजहारी नगरपालिका ४ को मन्कोट देखि ५ नम्बरको खहरेसम्मको सडक खण्डमा ग्राभेल र नाला निर्माणको लागि काम गरेका मजदुरले ज्याला नपाएका हुन् ।

सडक निर्माणको लागि काम गरेका करिब ४० जना मजदुरले काम गरेको ६ महिना बितिसक्दा पनि रकम नपाएको चौरजहारी नगरपालिका ४ का अतिराम रोकायले जानकारी दिनुभयो । उहाँका अनुसार चौरजहारी नगरपालिका ४ मन्कोटका २० जना र वडा नम्वर ७ नार्जिका २० जना कामदारले ज्याला पाएका छैनन् । सबै जनाको गरेर करिब १० लाख रुपैया पाउन बाँकि रहेको रोकायले बताउनुभयो ।

पुस ९ गते फागुन १७ गतेसम्म आफुले नाला निर्माणको लागि काम गरेको र हालसम्म ज्याला नपाएको उहाँले दुखेसो गर्नुभयो । पटक पटक ज्यालाको लागि ताकेता गर्दा आफूलाई स्थानीय ठेकेदारले पैसा नभएको खाली चेक थमाईदिएर सम्पर्कविहिन भएको रोकायले उल्लेख गर्नुभयो ।

महिना दिनसम्म घरको काम छोडेर सडकमा काम गरेर श्रमको मूल्य नपाएको अर्का मजदुर थलबहादुर भण्डारीले बताउनुभयो । उहाँले आफुलाई काममा लगाउने स्थानीय ठेकेदार नारायण बुढाले पैसा नदिन सक्छु, मुद्धा हालेपनि मलाई केहि हुदैन भन्दै पन्छिने गरेको समेत बताउनुभयो । उहाँले कतिपयले दुई महिनासम्म पनि काम गरेर हालसम्म पारिश्रमिक नपाएको जानकारी दिनुभयो ।

चौरजहारी नयाँ शहर आयोजना अन्तर्गतको उक्त सडकको काम द क्याभान कन्ट्रक्सन प्रा.ली.ले पाएको थियो । उक्त कन्ट्रक्सनबाट मन्कोट खहरे सडकखण्डमा ग्रोभल र नाला निर्माणको जिम्मा पेटी ठेक्का गर्ने चौरजहारी नगरपालिका ५ बेतेनीका ठेकेदार नारायण बुढाले लिएका थिए । ज्याला माग गर्ने केहि मजदुरलाई पैसा बिनाको चेक दिएर ठेकेदार बुढा सम्पर्कविहिन भएको श्रमिकको गुनासो रहेको छ ।

चौरजहारी नयाँ शहर आयोजनाले भने उक्त काम बापतको रकम सम्बन्धित मुख्य ठेकेदारलाई भुक्तानी भैसकेको जनाएको छ । भ्याट बाहेक ३५ करोडमा चौरजहारीमा कालोपत्रे र मन्कोट – खहरे सडकखण्ड ग्राभेल र नाला निर्माणको गर्ने सम्झौता भएको थियो । कालोपत्रको काम यस वर्ष हुने तर मन्कोट–खहरे सडकखण्डको काम सकिएकोले भुक्तानी भैसकेको आयोजना कार्यालयले जनाएको छ । मुख्य ठेकेदारबाट पेटी ठेकेदार र पेटी ठेकेदारबाट कामदारले रकम पाए नपाएको जानकारी कार्यालयमा नभएको बताईएको छ ।

यस बिषयमा मुलपाटी अनलाईसँगको सम्पर्कमा पेटी ठेकेदार नारायण बुढाले आफूलाई मुख्य ठेकेदार कम्पनी द क्याभान कन्ट्रक्सन प्रा.ली.ले पैसा नदिएको बताउनुभयो । मुख्य ठेकेदारले नै रकम नदिएको हुनाले कामदारहरुलाई बेलैमा पैसा दिन नसकेको उहाँले जनाउनुभयो ।

गाउँका दाजुभाई सबैको सहयोगले आफूले काम सम्पन्न गरेतापनि मुख्य ठेकेदारले आफुले पाउनुपर्ने रकम नदिएकोले कामदारलाई ज्याला दिन ढिलाई भएको बुढाले स्पष्ट पार्नुभयो । पटक पटक द क्याभान कन्ट्रक्सन प्रा.ली.को चौरजहारीस्थित कार्यालय धाउँदा पनि आफूलाई वेवास्ता गरेको गुनासो उहाँले गर्नुभयो । कामदारहरुसँग सम्पर्क गरेर आवश्यक छलफल गर्ने समेत उहाँले बताउनुभयो ।

चेक बाउन्सको मुद्धाको तयारी

सडकखण्डमा काम गरेका कामदारहरुले पैसा नभएको चेक दिएर झुक्काएको बताएका छन् । बैंकमा पैसा निकाल्न जाँदा खातामा पैसा नै नभएकोले कानूनी प्रक्रिया अनुसार अदालत जाने मजदुरहरुको तयारी छ । श्रमको मूल्य नदिने ठेकेदार बिरुद्ध कानूनी लडाईमा जान बाध्य भएको अतिराम राेकायले बताउनुभयो । तीन जनालाई खाली चेक दिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्