Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राजापानीको विद्यालयमा गएको पहिरो महिना दिनसम्म हटेन

विद्यार्थीलाई कक्षा कोठामा जानै सकस
tribeni2

रुकुम पश्चिम / निरन्तरको वर्षाको कारण रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा रहेको एक विद्यालयमा आएको पहिरो महिना दिनसम्म पनि पन्छाईएको छैन । जिल्लाको मुसीकोट नगरपालिका –१, मा रहेको राजापानी आधारभूत विद्यालयमा माथीबाट आएको पहिरो हालसम्म पनि नहटाईएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक डण्डबहादुर खड्काका अनुसार पहिरो गएको महिनादिन भैसकेको छ । पहिरोको कारण विद्यालयको नयाँ भवन पछाडि स्टोर गरेर राखिएको काठ र जस्तापाता पुरिएका छन् । विद्यालयको भवन निर्माणको लागि भनेर राखिएका काठ र जस्तापाता महिना दिनसम्म पहिरोमै पुरिएको खड्काले उल्लेख गर्नुभयो । यसले विद्यालयको सम्पत्तिमा क्षति भएको उहाँको भनाई छ । वर्षासँगै विद्यालय माथीबाट झरिरहेको पहिरोको कारण विद्यालयको प्राङ्गनमा पहिरो थुप्रिएको प्रधानाध्यापक खड्काले जानकारी दिनुभयो ।

विद्यार्थीलाई आउजाउमै सकस

विद्यालय वरिपरी हिलो र पहिरो हुँदा विद्यार्थीहरुलाई आवतजावतमा समस्या भैरहको छ । बाल शिक्षा देखि कक्षा पाँचसम्म पढाई हुने उक्त विद्यालयमा ६२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा हिलाम्य हुँदै वालबालिका पुग्ने गरेका छन् । प्रधानाध्यपक खड्काले हिलोमा विद्यार्थीका जुत्ता चप्पल अड्किने, लगाएका पोशाक अर्को दिन लगाउन नमिल्ने जस्ता समस्या महिनादिन देखि झेलिरहेको बताउनुभयो ।

पहिरोको डर, विद्यालयको आँगनमा थुप्रिएको हिलोको कारण विद्यार्थीहरु डराएर विद्यालय जाने गरेको अभिभावकहरुको गुनासो छ । विद्यालयमा पहिरोले निम्त्याएको समस्याको विषयमा नगरपालिका, प्रशासन, नेपाली सेना समेतलाई जानकारी गराएको तर हालसम्म पहिरो पन्छाउने काम हुन नसकेको विद्यालय प्रशासनले जानकारी गराएको छ ।

घिउखोला–राजापानी–गाराघाट सडकखण्ड अन्तर्गत राजापानीमा खसेको उक्त पहिरोका कारण बाटो अवरुद्ध समेत रहेको छ । पहिरोका कारण दैनिक मोटरसाइकलमा यात्रा गर्नेहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् भने ठूला सवारी साधन ठप्प भएका छन् । जिल्ला सदरमुकाम मुसीकोटबाट आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका विभिन्न ठाउँमा जाने बाटो बन्द भएपछि स्थानीयलाई आउजाउमा समेत समस्या भएको स्थानीय खिमला पुनले बताउनुभयो । उहाँका अनुसार सडकखण्डका विभिन्न ठाउँमा खसेको पहिरोको कारण पनि दैनिक उपभोग्यका सामग्री ढुवानीमा समस्या भएको छ ।

उक्त पहिरोका कारण एक घर समेत जोखिममा रहेको छ । स्थानीय नवराज खड्काको घर पहिरोको जोखिममा रहेको राजापानी आधारभूत विद्यालयका प्रधानाध्यपक खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्