सानीभेरीमा र्‍याफ्टीङको तयारी

२०७९ साउन ३०

रुकुम पूर्व / पर्यटन प्रर्वद्धनका लागि रुकुम पूर्वको सिस्ने गाउँपालिकाले सानीभेरी नदिमा र्‍याफ्टीङ सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाले आगामी मंसिर महिनाबाट सञ्चालनमा आउने गरी काम थालेको हो ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लामा र्‍याफ्टीङ समेत सञ्चालन गरेर थप लाभ लिन सकिने बताउनुभयो । त्यसका लागि गाउँपालिकाले वडा नम्वर ६ स्थित धाउने तरबरामा र्‍याफ्टीङको लागि टिकट घर निर्माण गरिरहेको अध्यक्ष रेग्मीले बताउनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशको पर्यटन विभागको सहयोगमा टिकट घर निर्माण कार्य भैरहेको छ । विभागले टिकट घरको लागि १५ लाख बजेट विनियोजन गरेको छ ।

टिकट घरको फिनिसिङको काम चलिरहेको जानकारी दिनुहुँदै गाउँपालिका अध्यक्ष रेग्मीले दशै तिहार अघि टिकट नै टिकट घर निर्माणको काम सक्ने उल्लेख गर्नुभयो । त्यस लगत्तै सानीभेरी नदिमा र्‍याफ्टीङ सञ्चालनमा ल्याउने योजना गाउँपालिकाको रहेको उहाँको भनाई छ । र्‍याफ्टीङको लागि आवश्यक सामाग्रीहरुको माग गरिसकेको गाउँपालिकाले जनाएको छ । सानीभेरीमा तरबरादेखि रुकुम पश्चिमको बाँफिकोट २, कुनाखेतसम्मको करिब ८ किलोमिटरमा ¥याफ्टीङ सञ्चालन गर्ने अध्यक्ष रेग्मिले बताउनुभयो । र्‍याफ्टीङको लागि तीन जनालाई नेपालगञ्ज पठाएर एक महिने तालिम समेत प्रदान गरिएको छ । गत वर्ष वर्ष सानीभेरीमा र्‍याफ्टीङको सम्भाव्यता अध्ययन गरिएकोको थियो 

गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा पनि सानीभेरीमा र्‍याफ्टीङ सञ्चालनको योजना समावेश गरेको थियो । जसका लागि चार लाख बिजेट पनि बिनियोजन गरेको गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो । प्राकृतिक सौन्दर्यता, पहाडी र हिमाली जिल्लाको हावापानी सहति पर्यटनको प्रचुर सम्भावना बोकेको यस जिल्लामा पहिलो पटक र्‍याफ्टीङ सञ्चालनमा ल्याउन लागिएको उपाध्यक्ष रेउलेले जानकारी दिनुभयो । यस कार्यले आन्तरिक र बाह्य पर्यटकलाई जिल्लामा भित्र्याउन सकिने गाउँपालिकाले जनाएको छ ।
 

 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्