सोसल मिडिया
साउन २८ गते शनिबार रुकुम पूर्वको सुरक्षा निकायका दुई प्रमुखहरु चढेका भ्यान जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११, नपुग्दै दुर्घटनामा पर्यो । एक प्रहरी जवानको मृत्यु भयो भने दुई जना प्रहरी नायब उपरिक्षक सहित पाँच जना सुरक्षाकर्मी घाईते हुँदा हेलिकप्टर मार्फत उद्धार गरियो ।
सहिदको नाममा नामाकरण गरिएको उक्त सहिद मार्गको सोहि स्थानमा तीन वर्ष पहिला मिनिट्रक दुर्घटना भएको थियो । दुर्घटनामा परेर एक जनाको घटनास्थलमै ज्यान गएको थियो । २०७५ मा सेरा गाउँ नपुग्दैको पहिलो मोडमा टिपर दुर्घटना भएको थियो । त्यो बेला एक जनाको ज्यान गएको थियो भने एक जना घाईते भएका थिए ।
देश र जनताको लागि भन्दै प्राण आहुती दिएका सहिदहरुको सम्मानमा नामाकरण गरिएको सहिद मार्ग ठेकेदार कम्पनीको कारण अलपत्र अवस्थामा रहेको छ । जसको कारण बेला बेला सडक दुर्घटना हुने गरेको स्थानीयले बताएका छन् । पुथा उत्तरगंगाका १० का मैत्या घर्तिले साँघुरो सडकले बेला बेला दुर्घटना निम्त्याउने गरेको बताउनुभयो । बाटोको ट्रयाक खोलेर ठेकेदारले सहिद मार्ग अलपत्र बनाउँदा सडकखण्ड सुधार हुन नसकेको घर्तीले बताउनुभयो ।
सहिद मार्ग सडक आयोजना अन्तर्गत रुकुम पूर्वको काँक्री–हुकाम खण्डको काम अलपत्र अवस्थामा रहेको हो । जिल्लाको भूमे गाउँपालिकाको काँक्रीदेखि पुथाउत्तरगंगा गाउँपालिकाको हुकामसम्मको ५२ किलोमिटरमध्ये झन्डै १४ किलोमिटर खण्ड ग्राभेल हुन सकेको छैन । ट्रयाक खोलेर छोडिएको छ । एक खण्ड काँक्रीदेखि रिकाधुरीसम्मको काम सकिए पनि रिकाधुरीदेखि क्युवाङचौरसम्मको खण्ड ग्राभेल हुन सकेको छैन । बेला बेला जाने पहिरोको कारण यो स्थानमा यात्रुहरुले दुःख पाउने गरेका छन् । यो सडकखण्डको काम लामो समयदेखि अलपत्र छ ।
काँक्रीदेखि हुकामसम्म दुई खण्ड बनाएर बहुवर्षीय ठेक्का आह्वान गरिएको थियो । दुवै ठेक्का कोसी न्यौपाने जेभीले लिएको थियो । उक्त ठेकेदार कम्पनी कालो सूचिमा परेपछि सप्तकोशि जलाधार निर्माण कम्पनिले उक्त कामको जिम्मा लिएको थियो । ०७६ मंसिरसम्म सबै काम सकिनुपर्ने सम्झौता भएको थियो । दुई खण्डको गरी ४३ करोड बजेटमा सडक चौडा बनाउने र ग्राभेल गर्ने जिम्मा निर्माण कम्पनीले लिएको थियो ।
जिम्मा लिएको ठेकेदार कम्पनीले काम सुरुवात गरेर तिब्रता दिन सकेको छैन । बाटोको डबल कटिङ्ग र ग्राभेल गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले लापरबाहि गर्दा सहिद मार्गको गुणस्तर सुधार हुन नसकेको पुथा उत्तरगंगा गाउँपालिकाका सव इन्जिनियर नबिन दाहालले बताउनुभयो । विगतमा कोरोना महामारी र अहिले वर्षाको कारण भन्दै सडकको मर्मत तथा सुधार हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।