Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

द्वन्द्वको कारण जागिर गुमाएका पाँच शिक्षकको पुनर्बहाली

tribeni2

रुकुम पश्चिम / सशस्त्र द्वन्द्वको समयमा विस्थापित भई जागिर गुमाएका रुकुमपश्चिमका पाँच जना शिक्षक पुनर्बहाली भएका छन् । सोमबार शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले उहाँहरुलाई पुनर्बहाली गरेर नियुक्ती पत्र प्रदान गरेको हो ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार पुनर्बहालीको पत्र बुझेर पाँच जना शिक्षकहरु दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन जानुभएको छ । इकाई प्रमुख तारा प्रकाश पुनका अनुसार ओमप्रकाश बिसी, रामबहादुर बुढामगर, जीतबहादुर शाह, मधुसुदन अधिकारी र नगरबहादुर खड्कालाई पुनर्बहाली गरिएको हो । पुनर्बहाली हुने पाँचै जना शिक्षकहरू प्राथमिक तहको दरबन्दीमा रहेको कार्यालयले जनाएको छ ।

पुनर्बहाली भएका शिक्षकहरूलाई रिक्त रहेका विद्यालयहरूमा पुनर्बहालीको पत्रसहित पठाइएको हो । इकाई प्रमुख पुनले ओमप्रकाश विसीलाई त्रिवेणी गाउँपालिका, रामबहादुर बुढा मगरलाई बाँफीकोट गाउँपालिका, जीतबहादुर शाहलाई सानीभेरी गाउँपालिका, मधुसुदन अधिकारी र नरबहादुर खड्कालाई आठविसकोट नगरपालिका अन्तर्गत पदस्थापनका लागि पत्र दिएर पठाएको बताउनुभयो ।

सरकारले माओवादी जनयुद्ध र आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीहरूलाई पुनर्बहाली र क्षतिपूर्ति दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले देशभरका ५८६ जना शिक्षक तथा कर्मचारी व्यवस्थापनको निर्णय गरेको थियो । पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षमा गठित कार्यदलले २०७३ मंसिरमा दिएको प्रतिवेदन अनुसार मन्त्री परिषद्ले सो निर्णय गरेको थियो ।

शिक्षकहरूले विद्यालयमा हाजिर भएको मिति देखिको तलब भत्तालगायतका सुविधा दिने तर सेवाबाट हटाइको मितिदेखि पुनर्बहाली भई हाजिर नहुन्जेलको अवधिको तलब भत्ता, बिदा, पोसाक, चाडपर्व खर्चलगायत सुविधा नदिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्