Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ठेकेदारको ठगी, चौरजहारीका व्यापारीको बिचल्ली !

नयाँ शहरको भवन बनाउने ठेकेदार करोड नतिरेर टाप
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारीका व्यापारीहरु एक ठेकेदारको चंगुलमा फसेका छन् । ठेकेदारले आफूलाई ठकेर गायव भएको भन्दै व्यापारीको अवस्था बिजोग भएको जनाएका छन् । नयाँ शहर आयोजना कार्यालय चौरजहारीको भवन निर्माण गर्दाको लाखौको भुक्तानी नगरेर ठेकेदार हिडेपछि व्यापारीहरुको बिजोग भएको हो ।

रोयल कन्ट्रक्सन धनगढीको तर्फबाट नयाँ शहर आयोजना चौरजहारीको कार्यालय भवन निर्माण गरेको निशानभूमि कन्ट्रक्सन सल्यानले यहाँका व्यापारीहरुलाई एक करोड रकम नदिएर भागेपछि व्यापारीहरु समस्यामा परेको हुन् । ठेकेदार डिल्ली प्रकाश केसीले भवन निर्माणको लागि काम गरेका मजदुर, सामानको खरिद तथा ढुवानी खर्च, नगद सापटी र अन्य सहित एक करोड बढी रकम नतिरेर भागेको व्यापारीहरुले जनाएका छन् ।

चौरजहारी नगरपालिका १, पुरानो बजारमा व्यापार गर्ने बि.एण्ड बि. सल्लायर्सका प्रोपराईटर तेजबहादुर बिष्टले ठेकेदार डिल्ली प्रकाश केसीबाट आफुले मात्र ४७ लाख ७८ हजार २६५ रकम पाउन बाँकि रहेको बताउनुभयो । आफ्नो क्षेत्रमा सरकारी भवन निर्माण हुन लागेपछि यहाँका व्यापारीहरुले ठेकेदारको विश्वास गरेर सामाग्री उपलब्ध गराएर आयोजना कार्यालयको भवन निर्माणमा सहयोग गरेको तर भुक्तानी पाईसकेपछि ठेकेदार गायब भएको उहाँले बताउनुभयो । आफ्नो पसलबाट सामान लिएको, अप्ठ्यारो परेको भन्दै नगद समेत लिएर नतिरेको बिष्टले बताउनुभयो ।

कालिका ग्रिल उद्योगका सञ्चालक हिरासिं खत्रीले आफुले नयाँ शहर आयोजनाको भवन बनाउँदा लिएको सामाग्रीको एक रकम पनि भुक्तानी नपाएको बताउनुभयो । उहाँले ठेकेदारबाट आफूले १० लाख ५६ हजार रकम पाउन बाँकि रहेको जनाउनुभयो । भवन निर्माण पश्चात कार्यालयबाट भुक्तानी भएपछि आफूले रकम पाउला भन्ने आशा बोकेको दुई बर्ष बितिसक्दा पनि हालसम्म ठेकेदार सम्पर्कमा नआएको उहाँले उल्लेख गर्नुभयो ।

सम्मान इलेक्ट्रोनिक्सका कमल लामिछानेले ठेकेदारको विश्वास गरेर सामान दिदा आफ्नो बिचल्ली हुने अवस्थामा पुगेको बताउनुभयो । साहुऋण गरेर चौरजहारीमा सञ्चालन गरेको पसल बन्द गर्ने अवस्थामा पुगेको उहाँको भनाई छ । लामिछानेले ठेकेदारबाट पाँच लाख रकम पाउन बाँकि रहेको बताउनुभयो ।

उक्त भवन निर्माणको लागि निर्माण सामाग्रि र ज्याला समेत गरेर ठेकेदार कम्पनीले एक करोड रकम तिर्न बाँकि रहेको व्यापारीहरुले जनाएका छन् ।

मूलटीलाई प्राप्त विवरण अनुसार कालिका काष्ठ उद्योगमा नौ लाख, बाग्लुङ हार्डवेयरमा एक लाख सात हजार ९४५, तुलसा शर्माले १० लाख १७ हजार १५६ रकम ठेकेदारबाट लिन बाँकि रहेको छ । त्यसैगरी चौरजहारीका विभिन्न व्यापारी, कामदारहरुलाई समेत गरेर ठेकेदारले एक करोड रकम तिर्न बाँकि रहेको छ । ठेकेदारले मेडिकल, फेन्सी स्टोर, होटेल लगायतका स्थानमा पैसा तिर्न बाँकि छ । 

ठेकेदार केसीले कालिका मेडिकल स्टोलमा एक लाख ३० हजार, तुले कामीले लगाएका कामदारहरुलाई एक लाख ४२ हजार, भक्तबहादुर घर्तीलाई ४२ हजार, मनिस भण्डारीलाई ७० हजार, नविन फेन्सी स्टोरमा दुई लाख पाँच सय, सिद्धार्थ हार्डवेयरमा एक लाख ६९ हजार ५०३, सल्यानी होटेलमा तीन लाख ४४ हजार ७६० तिर्न बाँकि रहेको बताईएको छ । त्यसैगरी पलम्बर राजेश चौधरीलाई ८० हजार, रिम बहादुर अधिकारीलाई तीन लाख ५० हजार, दिपक चौधरीले ८० हजार, केशव गिरीले २२ हजार, प्रेम घर्तिले २ लाख २६ हजार पाउन बाँकि रहेको जनाएका छन् । सल्यानको कुमाख गाउँपालिकाबाट आएका कामदारहरुले पनि ज्याला पाएका छैनन् ।

दुई बर्ष अघि नै भवन निर्माण भएको थियो । भवन सम्पन्न पश्चात ठेकेदार डिल्ली प्रकाश केसीले नयाँ शहर आयोजनाको कार्यालयबाट सम्झौता अनुसारको रकम निकाशा पाईसकेका छन् । आयोजना कार्यालयले भवन निर्माण वापत रोयल कन्ट्रक्शनले भ्याट सहित दुई करोड १६ हजार रकम भुक्तानी लिईसकेको छ ।

प्रहरी सामु रकम तिर्न कबुल

इलाका प्रहरी कार्यालय चौरजहारीमा ठेकेदारले उधारो तिर्न गरेको लिखित कागज

चौरजहारीका २० जना व्यापारी र कामदारको जिम्मा लिएका व्यक्तिहरुले २०७७ भदौमा पैसा भुक्तानी नहुन्जेल नयाँ शहर आयोजनाको कार्यालय सञ्चालन हुन नदिने भन्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । कार्यालय हस्तान्तरणको बेलामा थप समस्यामा नपार्न ठेकेदारले बिन्ती गरेपछि प्रहरी कार्यालयमा रकम तिर्न कबुल गरेर छाडिएको थियो । ठेकेदार केसीले प्रहरी कार्यालयमा व्यापारीहरुबाट लिएको रकम तिर्न लिखित कागज समेत गरेका थिए ।

उनले प्रहरीमा मजदुर र ट्याक्टर ढुवानीको रकम २०७७ असोज मसान्तसम्म, ग्रील, काष्ठ र हार्डवेयरको रकम २०७७ कार्तिक मसान्तसम्म, नगदी सापटी र अन्य बाँकि रकम २०७७ मंसीर मसान्तसम्म र अन्य छुटपुट रकम बिल भरपाईको आधारमा तिर्न सहमत रहेको कागज प्रहरीमा गरेका थिए । तर हालसम्म पनि व्यापारीलाई रकम तिरेका छैनन् ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्