Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालय

विशेष छात्रवृतिले वन विज्ञान पढ्नेलाई आकर्षण

tribeni2

रुकुम पश्चिम / वन विज्ञान तहमा अध्ययनरत विद्यार्थीहरुलाई सरकारले पूर्ण छात्रृवत्ति दिएपछि विद्यार्थीहरुको पढाईमा आकर्षण बढेको छ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ मा रहेको सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालय वन विज्ञान अध्ययन गर्न चाहनेहरुको लागि पहिलो रोजाई समेत हुने गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को आंगिक शिक्षालयको रुपमा रहेको यस शिक्षालयमा सरकारले पूर्ण लगानीमा विशेष छात्रवृति कक्षा सञ्चालन गरेकोले पढाईमा आकर्षण बढेको शिक्षालय प्रमुख सुरेश चन्द्र गुप्ताले जानकारी दिनुभयो । उहाँले ‘डिप्लोमा ईन फरेस्टी’ पढ्नको लागि नेपालको पूर्व देखि पश्चिम जिल्लाबाट विद्यार्थीहरु आउने गरेको बताउनुभयो ।

खाना, आवास, यातायात, पोशाक, अध्ययन शुल्क समेत निशुल्क भएपछि नेपालको पूर्व देखि पश्चिम क्षेत्र सम्मका बिद्यार्थीहरु आएर पढिरहेका छन् । विशेष छात्रबृति कार्यक्रममा झापा, सिरहा, सप्तरी देखि बझाङ, कालिकोटका विद्यार्थीहरु अध्ययन गरिरहेको शिक्षालयले जनाएको छ ।

शिक्षालय प्रमुख गुप्ताका अनुसार गत वर्षदेखि यस शिक्षालयमा पूर्ण छात्रवृति कार्यक्रम सञ्चालन भएको छ । यस कार्यक्रम अन्तर्गत २० जना छात्र र १३ जना छात्र गरेर ३३ जनाले पूर्ण छात्रवृति कोटामा वन सहायक प्रशिक्षकको लागि अध्ययन गरिरहेका छन् । प्रमुख गुप्ताले सरकारले आत्मनिर्भर जनशक्ति उत्पादनका लागि विशेष छात्रवृति दिएकोले विद्यार्थीहरुको लागि राम्रो अवसर भएको उल्लेख गर्नुभयो ।

यस कार्यक्रममा छनौट भएर अध्ययन गरिरहेका सबै बिद्यार्थीहरुको खर्च सरकारले नै बेहोर्ने गरेको शिक्षालय प्रशासनले जनाएको छ । शिक्षालयका प्रशासकीय सहायक यमबहादुर सुनारका अनुसार ३३ जना विद्यार्थीहरुको मासिक खर्च, पोशाक खर्च, यातायात खर्च, होस्टेल खर्च सरकारले नै बेहोर्ने गरेको छ । उहाँका अनुसार विद्यार्थीहरुलाई मासिक तीन हजार पाँच सय निर्वाह भत्ता, बार्षिक दुई हजार पाँच सयको दरले विद्यालय पोशाक, घर आउँदा जाँदाको खर्च बार्षिक एक हजार पाँच सय सरकारले उपलब्ध गराउने गरेको छ । शिक्षालयले छात्र र छात्राहरुको लागि छुट्टाछुट्टै आवास सुविधा पनि उपलब्ध गराएको छ ।

डिप्लोमा तहको तीन वर्षे वन विज्ञान संकायमा तीन बर्ष अघिदेखि कक्षा सञ्चालन भएतापनि गत वर्षबाट मात्र विशेष छात्रबृति कक्षा सञ्चालन भएको हो ।

शिक्षालय प्रमुख गुप्ताले पूर्ण रुपमा शुल्क लाग्ने कार्यक्रम अन्तर्गत पनि बार्षिक चार जना गरिब तथा जेहेन्दार विद्यार्थीले छात्रबृति पाईरहेको बताउनुभयो । फुल पेमेन्टमा अध्ययन गरिरहका तेस्रो वर्षका ३९ जना विद्यार्थीहरुले अहिले ओजेटि गरिरहेको प्रमुख गुप्ताले बताउनुभयो । दोश्रो वर्षमा ३५ जना र प्रथम वर्षमा ३२ जनाले डिप्लोमा इन फरेस्टी अध्ययन गरिरहेका छन् । यस वर्ष देखि शिक्षालयले तीन वर्षे डिप्लोमा तहको सर्वेक्षक (जियोमेट्रिक इन्जिनियरिङ) को पढाई सूचारु गर्ने जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्