Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सँगै सुतेका पतिले अर्कै महिलासँग फोनमा कुरा गरेपछि टाउको छिनाएर निसीखोलामा ....

tribeni2

बागलुङ / ओछ्यानमा सँगै सुतेका पतिले अर्कै महिलासँग फोनमा कुरा गरेको भन्दै टाउको छिनाएर खोलामा फालेको सुन्दा पत्यार नलाग्न सक्छ । तर, बागलुङको निसीखोलामा यस्तो घटना घटेको छ ।
घटना साउन २५ गतेको हो । बागलुङको निसीखोला ५ कामी डाँडाकी २३ वर्षीया कुमारी कामीले २५ वर्षीय पति गुनबहादुर विकको हत्या गरिन् । उनले हत्या गरेको प्रहरी समक्ष स्वीकार पनि गरेकी छन् ।
गत साउन २५ गते राति उनले पतिको टाउको छिनाएर निसीखोलामा बगाएको घटना हालै सार्वजनिक भएको हो । साउन २५ गते हत्या गरेर फाले पनि भदौ १ गते टाउको बिनाको शव खोलामा भेटिएको थियो । शव भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा पत्नी कुमारी र उनकी बहिनी १८ वर्षीया मनिषालाई पक्राउ गरेको छ । घटनाको १० दिनपछि मात्रै प्रहरीले कुमारीलाई पक्राउ गरेको हो ।
२५ वर्षीय विक रोजगारीका लागि मलेसिया जानका लागि भिसा लागेर बसेका थिए । भिसा लागेपछि केही दिनदेखि रक्सी पिउने, घुम्ने र मेला भर्न जाने योजना बुन्दै गरेको र सोही अनुसार साथीहरुलाई फोन गर्ने क्रममा अन्य महिलाको नाम लिएको सुनेर रिसाएकी पत्नी कुमारीले सुतेकै स्थानमा घनले हानेर बेहोस पारेकी थिइन् ।

त्यसपछि चिर्पट दाउराले हानेर हत्या गरेपछि खुकुरीले घाँटी रेटेर छिनालेको प्रहरीसँगको बयानमा बताएको प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले बताए ।

प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीका अनुसार मृतकको टाउको अझै भेटिएको छैन । घटनामा मृतककी साली मनिषाले पनि साथ दिएको खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि ज्ञवालीसहित अन्य चार जना प्रहरी अधिकृत खटिएका थिए । घटनास्थल पत्ता लगाउन पनि प्रहरीलाई हम्मे परेको थियो ।
सुरुमा प्रहरीले खोलाको किनारदेखि युवाले रक्सी पिएको स्थानसम्म अनुसन्धान गर्दा पनि पत्ता लगाउन नसकेको जनाएको थियो । पत्नीको बयानपछि मात्रै सुतेकै स्थनमा हत्या गरेको पत्ता लागेको हो । हत्यापछि बहिनीसँगै मिलेर घर सफाइ गरेको, रगत लागेको सबै स्थानमा लिपपोत गरेको देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी र घनसमेत बरामद गरेको जनाएको छ । भदौ ६ गते आइतबार प्रहरीले अभियुक्तलाई सार्वजनिक समेत गरेको छ । विवाह भएको ६ वर्षमा गुनबहादुरले धेरै महिलासँग फोन र म्याजेज गर्ने र पत्नीलाई चिढ्याउने गरी भ्वाइस म्यासेज पठाएको भेटिएको प्रहरीको अनुमान छ ।

लेख्नपढ्न नजानेकी पत्नीले सुन्नसक्ने गरी भ्वाइस म्यासेज पठाउने गरेपछि पत्नी कुमारी पतिप्रति आक्रोशित थिइन् । उनले घटना भएकै दिन पनि सँगै सुतेकै स्थानबाट अर्कै महिलासँग कुराकानी गरेको र मेला घुम्न जाने योजना बनाएको कुरा सुनेपछि राति नै हत्या गरेको बयानका क्रममा बताएकी छन् । प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  ०६:०८
प्रतिक्रिया दिनुहोस्