Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
यातायात व्यवस्था सेवा कार्यालय

स्थापना देखि नै कामविहीन चौरजहारीको यातायात कार्यालय

'दुई वर्ष कार्यादेश भएन, एक वर्ष जनशक्ति पाईएन'
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ मा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएदेखि हालसम्म कामविहिन अवस्थामा रहेको छ । कार्यालय खोलिएको तीन वर्ष पुग्न लाग्दा पनि कार्यालयले सेवा प्रवाह गर्न सकिरहेको छैन । कार्यालय स्थापनाको सुरुको दुई वर्ष कार्यादेश नपाईको र गत वर्ष कार्षदेश पाएर पनि कर्मचारी नहुँदा सेवा प्रवाह हुन नसकेको कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख प्रदिपकुमार रेग्मीले आवश्यक जनशक्ति नहुँदा कार्यालय खोल्ने, दिनभरि कुर्ने र बन्द गर्ने काम मात्र भइरहेको बताउनुभयो । काम गर्ने रहर र इच्छा शक्ति हुँदाहुदै चाहिने जनशक्ति नहुँदा कामविहिन हुनुपरेको रेग्मीको भनाई छ । ‘तामझामका साथ कार्यालय खोलेको तीन बर्ष बित्न थाल्यो,’ निमित्त प्रमुख रेग्मीले भन्नुभयो, ‘सुरुका दुई वर्ष कार्यादेश पाईएन, कार्यादेश र बजेट व्यवस्थापन भएपछि कर्मचारी पाईएको छैन ।’

सात जनाको दरबन्दी भएको कार्यालयमा अहिले दुई जना मात्र नियमित कर्मचारी छन् । निमित्त कार्यालय प्रमुख र कार्यालय सहयोगीले कार्यालय कुरेर कस्ने काम भैरहेको रेग्मीले उल्लेख गर्नुभयो । सुरुका दुई वर्ष कार्यादेशका लागि पटकपटक कर्णाली प्रदेशको यातायात निर्देशनालय, पूर्वाधार कार्यालय, मुख्यमन्त्रीको कार्यालय लगायतमा आग्रह, पत्राचार गरेपछि गत वर्ष मात्र कार्यादेश पाईएको उहँको भनाई छ ।

चौरजहारी नगरपालिका १ मा २०७६ भदौ २६ मा कार्यालयको स्थापना गरिएको थियो । तीन वर्षसम्म पनि कार्यालयबाट कुनैपनि सेवा प्रवाह भएको छैन । काम नहुँदा खटाईएका कर्मचारीहरु हाजिर लगाएर कार्यालय समय बिताउन बाध्य भएका छन् । हाजिर भएका कतिपय कर्मचारीहरू सरुवा मिलाउँदै अन्यत्र जान थालेका छन् भने सेवाग्राहीहरू सुर्खेत, दाङ र नेपालगन्ज गएर सेवा लिन बाध्य छन् ।

कार्यालयमा उपसचिव, अधिकृत, नायब सुब्बा, खरिदार, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी सहित सात जनाको दरबन्दी छ । सुरुमा दरबन्दी अनुसारका कर्मचारी कार्यालय आएपनि हाजिर गरेर घर पायक सुरुवा मिलाउदै गएको निमित्त प्रमुख रेग्मीले बताउनुभयो । काम नहुने भएपछि अरु कर्मचारी अन्यत्रै सरुवा भएर गएको र नयाँ कर्मचारीहरु कोहिपनि नआएकोले सेवा सुचारु हुन नसकेको हो ।

अहिले यातायात कार्यालयको काम सुर्खेत र जुम्लाबाट मात्र भइरहेको छ । लगातार विभाग र मन्त्रालय धाउँदा कार्यादेश र वजेट सहमति पाईएको र तत्काल कर्मचारी व्यवस्थापनको लागि मन्त्रालयमा पत्राचार गरिएको निमित्त प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

घर नजिकैको पायक पर्ने स्थानबाट सेवा पाउने आशा बोकेका स्थानीयवासी लामो समयसम्म कार्यालयले सेवा प्रवाह नगर्दा सुर्खेत, नेपालगन्ज र दाङ जानुपर्ने बाध्यता रहेको बताउँछन् । चौरजहारी १ का रिमप्रसाद शर्माले कहिले कार्यादेश नहुने, कहिले बजेट त कहिले कर्मचारी नहुँने समस्याले घर पायक सेवा पाउने आशा बोकेका सर्वसाधारण निराश भएको बताउनुभयो । घरनजिकै कार्यालय हुँदापनि कामका लागि जिल्लाबाहिर जाने बाध्यताको अन्त्य हुनुपर्ने उहाँको माग छ ।

जनशक्ति व्यवस्थापन भएमा सवारी साधनको कागजात र सवारी चालक अनुमतिपत्र नविकरण, नयाँ गाडि दर्ता तथा नविकरण, रुट परमिट लगायतका सेवा प्रवाह यस कार्यालयबाट हुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्