Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
नयाँ शहर आयाेजना

न घडेरी न खेती : नयाँ शहर बसाउने आशामा ५८० रोपनी खेतीयोग्य जग्गा बाँझै

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा रहेको नयाँ शहर आयोजना चौरजहारीले जग्गा एकिकरणको लागि छनौट गरेको जमिन बाँझै रहेको छ । ‘टाउन प्लानिङ’ गर्ने भन्दै कार्यालयले सर्वसाधारणलाई खेती नगर्न भनेपछि यहाँको ५८० रोपनी जग्गा बाँझै रहेको हो ।

नयाँ शहर आयोजना अन्तर्गत चौरजहारी नगरपालिका –१ मा योजना गरिएको घारीगाउँ चौरजहारी जग्गा एकिकरणको काम समयमै हुन नसक्दा जमिन बाँझै रहेको हो । नयाँ शहर आयोजना कार्यालयले असारमै सम्पन्न गरिसक्नुपर्ने डिपिआर जिम्मेवार निकायको ढिलासुस्तीको कारण हुन नसकेको जनाएको छ । शहरी विकास तथा भवन निर्माण विभागसँग सम्झौता गरेको अर्बान प्लानिङ कन्सल्टेन्टले असारमै डिपिआर गरेर काम सुरु हुने योजना पश्चात किसानलाई यस पटक खेती नगर्न सूचना गरेकोले खेतीयोग्य जमिन यसपटक बाँझै रहेको आयोजना कार्यालयले जनाएको छ ।

आयोजना कार्यालयका निमित्त आयोजना प्रमुख कमल दर्लामी मगरले कन्सल्टेन्टले ब्लकको लाईनिङको काममा गाईड नगरिदिदा प्लटिङको काम हुन नसकेर जग्गा बाँझै रहेको बताउनुभयो । यहि कामको लागि गत वर्ष आएको दुई करोड बजेटको काम हुन नसकेको र यस वर्ष ६ करोड सोहि शिर्षकमा आएको कार्यालयले जनाएको छ ।

यस विषयमा अर्बान प्लानिङ कन्सल्टेन्टका मनिष जोशीले आफ्नो कारणले ढिलाई नभएको बताउनुभयो । सर्भे गरेर रोडको डिजाईन सहितको नक्शा नयाँ शहर आयोजना कार्यालयलाई पहिरो चरणमा बुझाईसकेको जानकारी दिनुहुँदै जोशीले जग्गा प्लटिङ गर्नलाई जग्गादाताहरुसँग बसेर छलफल गर्न मात्र बाँकि रहेको उल्लेख गर्नुभयो । ‘ब्लकको प्लान गर्नलाई जग्गा योगदान गर्नेहरुसँग बैठक बस्न बाँकि हो, हामी एक हप्तामै आएर गर्छौ,’ जोशीले भन्नुभयो, ‘नक्शा बनाएर र सडकको डिजाइन गरेर बुझाई सकेकोले नापी, मालपोत र नयाँ शहर आयोजनाको काम बाँकि रहेको छ ।’

यहाँका ९५९ घरधुरीले ‘टाउन प्लानिङ’को लागि नयाँ शहर आयोजनालाई जग्गा उपलब्ध गराएका छन् । राम्रो उब्जनी हुने जमिन घडेरीको लागि दिएका किसानहरुले जमिन बाँझै राख्नु परेको भन्दै चिन्ता गरेका छन् । चौरजहारी नगरपालिका १ घारीगाउँका भद्रलाल शर्माले घडेरीको काम सुरु हुने भएकोले खेती नगरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘न घडेरीको काम सुरु भयो न त खेती गर्न पायौ, जमिन बाँझै रह्यो ।’

सोहि वडाको नाखिरा गाउँकी सीता गिरीले धान र मकै रोप्ने सिजनमा रोप्न नदिएपछि जमिन बाँझै रहेको जनाउनुभयो । सबै गाउँलेको जमिन खालि रहेकोले यस पटक धान र मकैको अभाव हुन सक्ने उहाँको बुझाई छ ।

२०७२ सालमा नयाँ शहर आयोजनाको काम सुरु भएको थियो । आठ वर्षसम्म आयोजनाले सुस्त गतिमा काम गरेको स्थानीयको गुनासो रहेको छ । आयोजना कार्यालयले बसपार्क निर्माण, सौर्य बत्ति जडान, सामुदायीक तथा नगरपालिका भवन निर्माण, सडक ग्राभेलको काम सम्पन्न गरेको जनाएको छ । यस वर्ष सडक कालोपत्रे, सभाहल निर्माण, ल्याण्डफिल साईट निर्माण, जग्गा एकिकरणको काम सम्पन्न गर्ने आयोजना कार्यालयले जनाएको छ ।

डिपिआरको ढिलाई, विभागमा कर्मचारीहरुको सरुवा, कानूनी प्रक्रिया, सरकारले विगतमा जग्गाको कित्ताकाँट रोक्न गरेको निर्णय लगायतका कारण नयाँ शहर आयोजनाको काममा ढिलाई भईरहेको आयोजना कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्