Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मतदाता नामावली अध्यावधिक कार्यको उद्धेश्य, महत्व र प्रक्रिया

tribeni2
  • कुमारी रिमा मल्ल

नेपालको संविधानले राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचन संचालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने तथा निर्वाचन प्रयोजनको लागी मतदाताको नामावली तयार गर्ने जिम्मेवारी निर्वाचन आयोगलाई दिएको छ । यसैगरि निर्वाचन आयोगले ऐन, २०७३ को दफा ११ को खण्ड (ख) बमोजिम मतदाता पहिचानको लागी आवश्यक व्यवस्था मिलाउने कर्तव्य निर्वाचन आयोगको रहेको छ ।

मतदाता नामावली ऐन, २०७३ ले मतदाता नामावलि संकलन तथा अध्यावधिक गर्ने विधि र प्रक्रियाहरु तोकेको छ । उल्लिखित कानुनी प्रावधान बमोजिम आयोगले निर्वाचनको सन्चालनका लागी आवश्यक पर्ने मतदाता नामावली संकलन तथा अध्यावधिक गरि अन्तिम मतदाता नामावली तयार गर्दै आइरहेको छ ।

नेपाल सरकारले मिति २०७९ मंसिर ४ मा प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने गरि निर्वाचनको मिति तोकेको छ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नको लागी निर्वाचनको आधार स्तम्भको रुपमा रहेको मतदाता नामावलीलाई निर्धारित समय भित्रै तयार गरिसक्नुपर्ने हुन्छ । 

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश (२) को व्यवस्था बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागी मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने व्यवस्था बमोजिम निर्वाचन मिति घोषणा भएको दिनसम्म संकलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावलीलाई अध्यावधिक तथा दावी विरोधको प्रक्रिया पूरा गरि अन्तिम मतदाता नामावली प्रकाशन गर्नुपर्ने हुन्छ ।

अतः मतदाता नामावली अध्यावधिक गरि त्रुटिरहित मतदाता नामावली तयार गर्नको लागी निर्वाचन कार्यालयमा मतदाता नाामावली अध्यावधिक कार्यक्रम सन्चालन गरि अन्तिम मतदाता नामावली प्रकाशन गर्नुपर्ने हुन्छ ।

उद्देश्य :

मतदाता नामावली अध्यावधिक (दावी विरोध समेत) कार्यक्रमको उद्देश्य भनेको आयोगले तयार गरेको फोटो सहितको मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न एवम् अध्यावधिक गर्नको लागी सहज पहुँच प्रदान गर्ने हो ।

यसका साथै मतदाता नामावलीमा दोहोरो नाम परेका मतदाताको विवरण एवम् त्रृटिहरु हटाउने, निर्वाचनको घोषणा भएको मितिसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्ने र आगामी मंसिर ४ मा हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी अध्यावधिक मतदाता नामावली तयार गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रम संचालन हुने स्थान र अवधि :

यो कार्यक्रम मिति २०७९ साउन २२ गते २०७९ भदौ ३१ गतेसम्म विभिन्न क्रियाकलाप सहित अनुसूचि १ बमोजिम सन्चालन हुनेछ । मतदाता नामावली अध्यावधिक दावी विरोधको कार्यक्रम मिति २०७९ भदौ १२ देखि २०७९ भदौ १९ गतेसम्म अनुसूचि २ मा उल्लेख गरिएका क्रियाकलाप सहित सवै निर्वाचन कार्यालयहरुमा संचालन हुनेछ ।

सूचना प्रकाशन :

कार्यक्रम सन्चालन हुने स्थान, अवधि, समय र प्रक्रियासहित तयार गरिएको अनुसूचि २ बमोजिम सूचना तथा कार्यक्रम प्रमुख नाम दर्ता अधिकारीले मिति २०७९ भदौ १२ गते सम्ममा आफ्नो कार्यालयमा टाँस गर्नुपर्नेछ ।

यस्तो सूचना प्रमख नाम दर्ता अधिकारीले जिल्ला तथा स्थानीय स्तरको सर्वसाधारण जनतासंग सरोकार राख्ने जिल्ला सदरमुकामस्थित स्थानीय तह, मालपोत, नापी, जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयमा टाँस गर्ने व्यवस्था मिलाउनु पर्नेछ । साथै उक्त सूचना सवै स्थानीय तहको वडा कार्यालयमा मिति २०७९ भदौ १२ गते प्रकाशन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

नामावली प्रकाशन तथा निवेदन, उजुरी वा सूचना संकलन :

२०७८ चैत्र १३ मा प्रकाशित अन्तिम मतदाता नामावली र तत्पश्चात मिति २०७९ साउन १९ गतेसम्म संकलन भएका मतदाताको विवरण मध्ये निर्वाचन हुने मितिको अघिल्लो दिन मिति २०७९ मंसिर ३ गते सम्ममा १८ वर्ष उमेर पुरा भएका मतदाताहरुको नामावली तयार गरि सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा सर्वसाधारणको जानकारीको लागी मतदाता नामावलीको डिजिटल कपि मतदाता नामावली ऐन, २०७३ को दफा १३ को बमोजिम प्रकाशन गरिनेछ ।

प्रमुख नाम दर्ता अधिकारीले जिल्ला भित्रका सम्बन्धित वडाका मतदाताहरुको नामावली सम्वन्धित स्थानीय तह मार्फत सवै वडाहरुमा टाँस गर्ने व्यवस्था मिलाउनु पर्नेछ । आयोगबाट प्राप्त नामावलीको पिडिएफ फाइल निर्वाचन कार्यालयले छपाई गर्नुपर्नेछ । छपाइको क्रममा केही समस्या आएमा आयोगको सूचना प्रणाली शाखासँग समन्वय गर्नुपर्नेछ ।

प्रकाशित नामावलीको आधारमा कुनै पनि मतदाताले मतदाता नामावली ऐन, २०७३ को दफा १४, १५, १६ र १८ बमोजिम निवेदन, उजुरी वा सूचना निम्न बमोजिम दिन सक्नेछन ।
(क) सवैले शुद्ध विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा अनुसूचि ३ (क) बमोजिमको ढाँचामा कुनै पनि मतदाताले उजुरी गर्ने,

(ख) प्रकाशित नामावलीमा रहेको विवरणमा कुनै त्रुटि फेला परेमा सम्बन्धित मतदाता वा निजको परिवारको कुनै सदस्यले अनुसूचि ३ (ख) बमोजिमको ढाँचामा त्यस्तो त्रुटि सच्याउन,

(ग) कुनै मतदाताको नाम एक भन्दा बढि स्थानको मतदाता नामावलीमा कायम रहेको भए एक स्थानमा मात्र कायम गरि अन्य स्थानमा रहेको नाम हटाउनको लागी अनुसूचि ४ बमोजिमको ढाँचामा सम्बन्धित मतदाताले निवेदन दिन,

(घ) मतदाता नामावलीमा नाम कायम रहेको कुनै मतदाताको विवाह गरि अन्य स्थानमा गएमा अनुसूचि ५ (क) बमोजिम मतदाता नामावलीमा नाम कायम रहेको, कुनै मतदाताले बसाइँसराइ गरी अन्य स्थानमा गएमा त्यस्तो मतदाताको नाम मतदाता नामावलीबाट हटाउन अनुसूचि ५(ख) बमोजिम मतदाता नामावलीमा नाम कायम गरि रहेको, कुनै मतदाताले नागरिकता त्याग गरेमा अनुसूचि ५ (ग) बमोजिम र मतदाता नामावलीमा नाम कायम रहेको, कुनै मतदाताको मृत्यु भएमा निजको परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले त्यस्तो मतदाताको नाम मतदाता नामावलीबाट हटाउन अनुसूचि ५ (घ) बमोजिमको ढाँचामा सूचना दिन,

(ङ) कुनै मतदाताले मतदाता नामावलीमा निजको नाम कायम रहेको वडा भित्रको कुनै अर्काे मतदानस्थलमा नाम सार्न चाहेमा मतदाता नामावली ऐन, ३०७३ को दफा १४ बमोजिम विवरण सच्याउने निवेदन सरह अनुसूचि ६ बमोजिमको निवेदन दर्ता गरि मतदानस्थल सम्बन्धि विवरण सच्याउने प्रक्रिया अगाडि बढाइने छ । यसको लागी मतदाता वा निजको एकाघरको सदस्यले दिएको निवेदनमा उल्लेख गरेको कारण प्रमुख नाम दर्ता अधिकारीलाई मनासिय लागेमा निवेदकले थप प्रमाण पेश गर्नुपर्ने छैन ।

प्राप्त निवेदन उपर कारबाही :

प्रमुख नाम दर्ता अधिकारीको कार्यालयको सदस्य भएका निवेदन उजुरी वा सूचना उपर प्रमुख नाम दर्ता अधिकारीले अनुसूचि २ मा निर्धारित समयभित्रै निर्णय गरि सक्नुपर्नेछ । निर्णय बमोजिम विवरण सच्याएका मतदाताहरुको अनुसूचि ७ (क) बमोजिमको ढाँचामा तयार गरी नाम हटाइएका मतदाताको विवरणलाई अनुसुचि ७ (ख) बमोजिमको ढाँचामा तयार गरी सर्वसाधारणको जानकारीको लागी तोकिएको मितिमा आफ्नो कार्यालयमा प्रकाशन गर्नुपर्दछ ।

सूचना गरी सकेपछि त्रृटि सच्याउने, नाम हटाउने वा दोहोरो नाम हटाउने सम्बन्धमा भएको निर्णयको आधारमा विवरण आयोगबाट निर्धारित ढाँचामा तयार गरी प्रमाणित विवरण र सोको सफ्टकपि आयोगको सूचना पूविधि शाखामा पठाउनु पर्नेहुन्छ । विवरण प्राप्त भए पश्चात आयोगको सूचना शाखाले केन्द्रिय सर्भरमा एउटा अध्यावधिक गर्नेछ ।

विवरण अध्यावधिक भइसकेपछि कुनै मतदाताले एक भन्दा वढी स्थानबाट नाम दर्ता गराएको वा एक भन्दा वढी पटक दर्ता गराएको फेला परेमा मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम मतदाताको नाम निज स्थायी बसोबास गर्दै आएको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा कायम गरि अन्य स्थानमा रहेको नाम केन्द्रीय सर्भरबाट नाम हटाउने पर्नेछ । यसरी दोहोरो फेला परि हटाइएका मतदाताको छुट्टै विवरण तयार गरि अभिलेख राख्नुपर्नेछ ।

दोहोरो परेको नामावली हटाइसकेपछि मतदाता नामावली ऐन, २०७३ को दफा २० को उपदफा (२) बमोजिम आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीको विवरण आयोगको वेवसाइटमा प्रकाशन गरिने छ ।

कार्यक्रम संचालन तथा जनशक्ति परिचालन :

मतदाता नामावली अध्यावधिक (दावी विरोध समेत) कार्यक्रम निर्वाचन कार्यालय मार्फत संचालन हुन्छ । जिल्ला स्तरमा मतदाता नामावली तयार एवम् अध्यावधिक गर्न र तत् सम्बन्धमा आवश्यक अन्य सवै काम गर्न तथा आयोगको निर्देशन बमोजिम व्यवस्थित तरिकाले कार्यक्रम संचालन तथा नियमन गर्नको लागी प्रत्येक जिल्लामा एक जना प्रमुख नाम दर्ता अधिकारीका साथै निर्वाचन कार्यालयका अन्य कर्मचारीहरु यस कार्यक्रममा परिचालन हुन्छन् । हाल निर्वाचन कार्यालयमा कार्यरत प्रदेश जिल्ला निर्वाचन अधकारी वा निमित्त प्रदेश जिल्ला निर्वाचन अधिकारी सम्बन्धित जिल्लाको प्रमुख नाम दर्ता अधिकारी हुने व्यवस्था छ ।

जिल्ला स्तरमा हुने कार्यक्रमको व्यवस्थापन तथा अनुगमन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक समिति रहने ब्यवस्था छ । जसको सदस्यमा जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालयको प्रमुख, जिल्लास्थित सशस्त्र प्रहरी बलको कार्यालय प्रमुख र सदस्य सचिवको रुपमा प्रमुख नाम दर्ता अधिकारी रहने व्यवस्था छ ।

मतदाता नामावली अध्यावधिक (दावी विरोध समेत) कार्यक्रम तालिका निम्नाअनुसार रहेको छ ।

(लेखक मल्ल, जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिममा जिल्ला निर्वाचन अधिकारीको रुपमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्