सोसल मिडिया
रुकुम पूर्व / विगतको सशस्त्र जनयुद्धको बेला ज्यान गुमाएका सहिदहरुको सम्झना र सम्मानमा रुकुमपूर्वको सिस्ने गाउँपालिका –२ नेटामा सहिद स्मारक संग्राहलय तथा पार्क निर्माणको काम अन्तिम अवस्थामा रहेको छ ।करिब चार करोडको लगानीमा बन्न लागेको यो पार्क यस आर्थिक वर्षमा निर्माण सम्पन्न हुने जनाईएको छ । सिस्ने गाउँपालिका २ का निवर्तमान वडा अध्यक्ष जीवन केसीले पार्कको काम करिब अन्तिम अवस्थामा भैरहेको बताउनुभयो । केहि डिजाईन र सामाग्री व्यवस्थापन बाहेक अरु काम भैसकेको केसीले जनाउनुभयो ।
नेटाको मुल बाटोदेखि पार्कसम्म जाने सिढि निर्माणको कार्य, संग्राहलय भवन निर्माण, जनयुद्धकालका १४ सहिदहरुको सालिक निर्माण, बगैचा निर्माण, प्रतिक्षालय तथा बिसौनी निर्माणको काम सकिएको छ । पानी र बिजुली जडान, म्युजियम कक्षको व्यवस्थापन र अन्य केहि संरचनाको काम भने अझै बाँकि रहेका छन् । जनयुद्धको बेला यस वडाका १४ जनाले सहादत प्राप्त गरेका थिए ।
रुकुम पूर्वका सुन्दर बस्तिहरुको दृश्यावलोकनका साथै यस क्षेत्रको जडिबुटी, वन्यजन्तु, धर्म, संस्कृति, रितिरिवाज, भेषभूषा र पेशा झल्किने गरेर संग्राहलय स्थापना गरिरहेको वडा अध्यक्ष कृष्णबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७५/०७६ बाट निर्माण कार्य सुरु गरिएको यो संग्राहलय निर्माणमा तीन करोड ९१ लाख बजेट खर्च हुनेछ ।
हालसम्म सिस्ने गाउँपालिकाको एक करोड ३१ लाख, लुम्बिनी प्रदेश सरकारको एक करोड १० लाख र प्रतिनिधि सभा सदस्य कमला रोकाको संसद विकास कोषको ५० लाख गरि दुई करोड ९१ लाख लगानी भैसकेको छ । यस बर्ष एक करोड बजेट गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको समपुरक बजेटबाट छुट्याइएको छ ।
सिस्ने गाउँपालिकाको केन्द्र समेत रहेको जिल्ला सदरमुकाम रुकुमकोटबाट झण्डै साढे तीन घण्टा लगाएर सानीभेरीको किनारै किनारको पैदल यात्रापछि पार्कमा पुग्न सकिन्छ । हिउँदयामको समयमा देउखोलासम्मको सवारी साधनको करिव ४० मिनेटको यात्रा र एक घण्टाको पैदल यात्राबाट पनि यस स्थलमा पुग्न सकिन्छ ।
निर्माणाधिन अवस्थामा रहेको यस पार्क तथा संग्राहलयमा अहिले नै स्थानीय तथा बाह्य पर्यटकहरुको अवलोकनका लागि आउन थालेका छन् । बिशेषगरी चाडवाड र स्थानीय पर्वका बेला पार्क अवलोकन गर्नेहरुको संख्या बढि हुने गरेको छ ।