कविता - 'मेरा बालाई केही आउँदैन'

  • हेमन्त गिरी

कहिलेकाहिं झरक्क झर्किन्छु -
'जमाना कहाँबाट कहाँ पुगिसक्यो
तिमी उनै थोत्रा कुरा गरिबस्छौ,'
मेरा बालाई केही आउँदैन

साँच्चै हो,
मेरा बालाई केही आउँदैन !

अक्षर चिनेका छैनन,
पढ्न आउँदैन
छिद्रै छिद्रा परेका पैतला लिई
समयको गतिसँग
अगाडि बढ्न आउँदैन !

रातभरमा खेतले
कहाँबाट हरियाली बोलाउँछ खै,
देखिने गरी मेरा बालाई
पसीना आउँदैन !
पीरका पहाडहरु फुटेर
परिवार सबैको आँखाबाट
झरना बगिरहँदा पनि
देखाउने गरी मेरा बाको आँखामा
आँशु आउँदैन !

कस्तो धातुले बनेका हुन्छन खै
महामारीहरु आउँछन जान्छन,
मेरा बालाई
टुसुक्क जोरो सम्म आउँदैन !
बिरामी परें भनून भने
भविष्य बिगार्ला भन्ने सोंच्दा हुन,
अफ्टेरोमा भेट्न उनलाई
छोरी आउँदैन, छोरो आउँदैन !

अझ के के आउँदैन आउँदैन !
सबका निधार आशीर्वादले भरिदिन्छन
आफू खाली निधारमा मुस्कुराउँछन,
मेरा बालाई दशैं आउँदैन !
प्रत्येक वर्ष
पात्रोहरु फेरिइरहँदा भित्तामा
बाको दौरा फेरिन्न बित्तामा,
सबैलाई आउने नयाँ वसन्त मेरा बालाई आउँदैन !

सन्तान उनको बारे
कविता लेखिरहेछ
गीत लेखिरहेछ
कथा लेखिरहेछ,
वाहवाही पाइरहेछ
देश विदेश धाइरहेछ !
विडम्बना१
मेरा बालाई
त्यही पढ्न पनि आउँदैन,
मेरा बालाई केही आउँदैन !

सबका आँखा पढेर पनि
अनपढ कहलिने मानिसलाई नै सायद,
‘बा’ भनिने चलन चलेको होला युगौं देखि !

‘मेरा बालाई केही आउँदैन !!'

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्