Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहिरोमा पुरिएका आमाछोरीको मृत्यु, एक जनाको जीवितै उद्धार

tribeni2

रुकुम पश्चिम / अविरल वर्षाको कारण आईतबार आएको पहिरामा परेर आमाछोरीको मृत्यु भएको छ । पहिरोमा पुरिएकी एक बालिकाको जीवितै उद्धार गरिएको छ ।

जिल्लाको आठबीसकोट नगरपालिका १४ पिपलचौरमा रहेको सामुदायीक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको हो । घटनास्थलबाट आठबीसकोट नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष हुकुम पुनले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरि नगरपालिका १ मैदैकी ३० बर्षिया बालमती राना र उहाँकी दुई बर्षिया छोरी प्रतिक्षा राना रहेका छन् । पहिरोमा आमा र बहिनीसँगै परेकी १२ बर्षिया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको छ । दिउँसो १२ बजे पहिरोमा आएर उनीहरुलाई पुरेको थियो । 

आईतबार बिहान जाजरकोटको नलगाड नगरपालिका १ स्थित माईतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उनीहरु पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए ।

सोहि समयमा भवन माथीबाट आएको पहिरोमा परेर उनीहरु पुरिएका हुन् । नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायीक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको वडा अध्यक्ष पुनले बताउनुभयो । घाईते तिर्सनालाई एम्बुलेन्स मार्फत अस्पताल लिईएको छ ।

वडा अध्यक्ष पुनका अनुसारपहिरोले सोहि ठाउँमा रहेको एक काष्ठ उद्योग समेत पुरेको छ । पहिरोले स्थानीय अनु जैसीको घर र शौचालय पुरेको छ भने सामुदायिक वनको भवन पूर्ण रुपमा क्षति भएको छ । पहिरोसँगै आएको बाढीले स्थानीयका केहि घर जोखिममा छन् भने धानखेती बगाएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकि रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्