Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
डेंगु संक्रमण

रुकुम पश्चिममा एक सातामा १८ जनामा डेंगु संक्रमण

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा पछिल्लो एक सातामा १८ जनामा डेंगु फेला परेको छ । जिल्ला अस्पताल सल्ले र एक निजि अस्पतालमा मात्र एक हप्तामा १८ जना डेंगुका बिरामी फेला परेका हुन् ।
जिल्ला अस्पताल सल्लेमा चार जना र साझा मुराल अस्पतालमा आएका १४ जनामा डेंगु भेटिएको हो । जिल्ला अस्पताल सल्लेका मेडिकल रेकडर राजेन्द्र ओलीका अनुसार पछिल्लो एक सातामा अस्पतालमा आएका चार जनामा डेंगु फेला परेको हो । त्यसमध्ये एक जनालाई नेपालगंज रेफर गरिएको हो भने तीन जनाको जिल्ला अस्पतालमै उपचार गरिएको ओलीले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिका १ मा रहेको साझा मुराल अस्पतालमा पनि एक सातामा १४ जना डेंगुका बिरामी फेला परेका छन् । अस्पतालका प्रबन्धक डा. दिपक पुनका अनुसार अस्पतालमा भर्ना भएका आठ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने पाँच जना अस्पतालमा उपचाररत छन् । उनीहरु सबैको अवस्था सामान्य नै रहेको छ । एक जनालाई भने थप उपचारको लागि रेफर गरिएको छ । बिरामी हुनेहरुमा ६ महिनाको बालक देखि बृद्धा सम्म रहेका छन् ।

डा. पुनका अनुसार घर तथा बजारका बिभिन्न स्थानमा थुप्रिएको फोहोर, खोल्साखोल्सीमा जम्मा हुने पानी लगायतका कारण बढेका लामखुट्टेको टोकाई, सचेतनाको अभाव लगायतका कारण डेंगु फैलने गरेको हो । विशेषगरी साँझ बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण फैलिने गर्छ ।

डा. पुनले गर्मि स्थान तथा तराईका ठाउँमा फेला पर्ने डेंगु पछिल्लो समय पहाडी क्षेत्रहरुमा फैलदै गएको समेत बताउनुभयो । डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त विकल्प रहेको डा. पुनले बताउनुभयो । उहाँका अनुसार एक जनाको पहलले मात्र डेंगु नियन्त्रण सम्भव नभएकोले सबै जना लाग्न आवश्यक छ ।

डेंगुको संक्रमण बढिरहदा स्वास्थ्य कार्यालय तथा स्थानीय सरकारले सचेतनाको कार्यक्रम सञ्चालन नगरेको जनगुनासो बढेको छ । यस बिषयमा मुसीकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्रीले यस वर्ष त्यस खालका कुनै पनि कार्यक्रम नआएको बताउनुभयो । उहाँले गत वर्ष भने किटजन्य महामारी अन्तर्गत बिषादी छर्ने कार्यक्रम गरिएतापनि यस वर्ष लामखुट्टे नियन्त्रणको कुनै कार्यक्रम नरहेको खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्