Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गोठमै पुगेर 'सुत्केरी भैसीलाई' भत्ता वितरण

२०७९ भदाै २५
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा सुत्केरी भैसीलाई भत्ता वितरण गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाले सुत्केरी भैसीको गोठमै पुगेर भत्ता वितरण गरेको हो ।

गाउँपालिकाले भैसीपालक किसानहरुलाई व्यवसायिक बन्न प्रेरित गर्ने र पशुपालन व्यवसायमा आकर्षण बढाउन यस्तो कार्यक्रम ल्याईएको जनाएको छ । सुत्केरी भैसीलाई भत्ता उपलब्ध गराउने क्रममा गाउँपालिकाको वडा नम्बर ५ र ६ का २० वटा सुत्केरी भैसीलाई गोठमै पुगेर भैसीपालक किसानलाई भत्ता वितरण गरिएको पशु सेवा शाखा प्रमुख भिमबहादुर झाँक्रिले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले वडा नम्वर ५ र ६ को समन्वयमा सुत्केरी भैसीका लागि छुट्याईएको भत्ता रकम भैसीपालक किसानलाई उपलब्ध गराईएको छ । पहिलो चरणमा ५ नम्वर वडामा १७ र ६ नम्वर वडाका तीन वटा भैसीलाई भत्ता उपलब्ध गराईएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार एउटा सुत्केरी भैसीलाई दुई हजार पाँच सयका दरले भत्ता वितरण गरिएको झाँक्रिले जनाउनुभयो । आईतबार गाउँपालिकाको वडा नम्वर ३, ७ र ८ मा सुत्केरी भैसीको लागि भत्ता वितरण कार्यक्रम तय गरिएको छ । वडा नम्वर ३ मा एक, ७ मा ६ र ८ मा १० वटा भैसीलाई सुत्केरी भत्ता उपलब्ध गराउने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

भैसी गोठमै पुगेर गाउँपालिकाले सुत्केरी भैसीको लागि भत्ता उपलब्ध गराउँदा खुशि लागेको भैसीपालक किसानहरुको प्रतिक्रिया रहेको छ । सिस्ने गाउँपालिका –५, का भैसीपालक किसान वसन्त मल्लले स्थानीय सरकारले किसानको हौसला बढाएको बताउनुभयो । यस कार्यले भैसीपालन व्यवसायमा लाग्न थप उर्जा मिलेको उहाँको भनाई छ ।

वडा नम्वर ६, का किसान कुबेर खड्काले सुत्केरी भैसीका लागि उपलब्ध गराएको रकमले सुत्केरी भैसीलाई पोषिलो खानेकुरा तथा घाँस खरिदमा सहयोग पुग्ने बताउनुभयो । खड्काले सरकारले किसानलाई साथ दिएको र आफूहरु पनि निरन्तर कृषिमा लागेको उल्लेख गर्नुभयो ।

आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ । कुनै किसानको भैसी सुत्केरी भएपश्चात किसानहरुले दिएको निवेदनका आधारमा घरदैलो मार्फत भत्ता वितरण गरिने जानकारी गाउँपालिकाले दिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्