महिलाको नाममा उद्योग, व्यवसाय दर्ता गर्नेको संख्यामा बृद्धि

'दर्ता राजश्वमा छुट, अनुदान र ऋणको आशा'

रुकुम पश्चिम / पछिल्लो समय रुकुम पश्चिममा महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्नेको संख्यामा बृद्धि भएको छ । दर्ता राजश्वमा छुट, सरकारी अनुदान र बैंकबाट ऋण पाउने आशाले महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता बढेको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमका अनुसार कार्यालयमा दर्ता हुन आएका उद्योगी तथा व्यवसायीहरुमा महिलाको संख्या बढी रहेको छ । कार्यालयका सूचना अधिकारी शेरबहादुर ओलीले गत आर्थिक वर्षमा दर्ता भएका ६३० ओटा व्यवसायमध्य ३२४ वटा महिलाको नाममा दर्ता भएको जनाउनुभयो । पुरुषको नाममा उद्योगतर्फ १९९ र वाणिज्यतर्फ १०७ वटा गरेर ३०६ ओटा व्यवसाय दर्ता भएका छन् । कार्यालयको रेकर्ड अनुसार महिलाको नाममा १६४ वटा उद्यम र १६० वाणिज्य तर्फका व्यवसाय दर्ता भएका छन् ।

महिलाको नाममा उद्योग, व्यवसाय दर्ता गर्दा ५० प्रतिशत राजस्व छुट दिएपछि महिलाको नाममा उद्योग दर्ता गराउनेको संख्या बढेको सूचना अधिकारी ओलीले बताउनुभयो । यसका साथै सरकारले दिने विभिन्न अनुदानका कार्यक्रममा महिलाहरुलाई प्राथमिकता दिने भएपछि महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्नेको संख्या बढेको हो ।

ओलीले पछिल्लो समयमा बैंक तथा लघुवित्तहरुले महिलाहरुको नाममा दर्ता भएका उद्योग व्यवसायलाई ऋण दिनेभएकोले पनि महिलाहरुको नाममा उद्योग तथा व्यवसाय दर्ता बढेको पाईएको बताउनुभयो । कार्यालयका अनुसार महिलाहरुको नाममा सिलाईकटाई, भैसीपालन, बाख्रापालन, बंगुरपालन लगायतका व्यवसाय बढी मात्रामा दर्ता भएका छन् ।

राज्यले महिलालाई आर्थिक हिसाबले बलियो बनाएर आत्मनिर्भर बनाउन विभिन्न गतिविधिहरु सञ्चालन गरेकोले पनि महिला उद्यमी तथा व्यवसायीको संख्यामा वृद्धि भएको बताईएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय उद्यम विकास सहजकर्ता मेनका चन्दले पिछडिएका दलित र महिलाहरुलाई उद्यम र व्यवसायको महत्व, महिला सहभागिता लगायतका विषयमा सहजिकरण गरिएको बताउनुभयो । स्वरोजगार बन्नका लागि प्रेरित गरिरहेकोले पनि महिलाहरु उद्योग तथा व्यवसायउन्मुख भएको उहाँँको भनाई छ ।

उद्यम गर्न चाहनेहरुलाई वडा तथा पालिकामा गएर सीप विकास, व्यक्तित्व विकास, उद्यमी बन्ने प्रक्रिया लगायतका विषयमा जानकारी दिने गरेकोले पनि महिलाहरु उद्योग तथा व्यवसाय दर्तामा अगाडि आएको चन्दले उल्लेख गर्नुभयो । राज्यले वास्तविक रुपमा महिला उद्योगी व्यवसायी भएको हेर्न चाहेकोेले महिलाहरु सशक्तरुपमा उद्योग व्यवसायमा लाग्न कार्यालयले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्