उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम अगाडि बढाउन आग्रह

काठमाडौं / प्रतिनिधिसभा बैठकमा सांसद कमल रोकाले उत्तरगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि पटकपटक प्रक्रिया अगाडि बढाउन आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले ढोरपाटन सिकार आरक्षलाई कुनै पनि समस्या नपर्ने गरी सो आयोजना तत्काल अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

कुल आठ सय २८ मेगावाट क्षमताको सो आयोजना हाल अध्ययनका क्रममा छ । सो आयोजनाबाट निकास हुने पानीका विषयमा कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन । केहीले आयोजनाबाट निकास हुने पानी बाग्लुङतर्फ नै खसाल्नुपर्ने धारणा राख्नछन् । धेरैले सो आयोजनाको पानी हाल उत्तरगङ्गा नदीकै प्राकृतिक बहाव अनुसार बग्न दिनुपर्ने बताउँछन् ।

त्यस्तै, सांसद रोक्काले ढोरपाटन शिकार आरक्षबाट स्थानीयवासीले लाभ लिने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो । सांसद डिला सङ्ग्रौला पन्तले संसद्को पाँचवर्षे कार्यकालमा आफूले देश, जनताका दैनिक समस्या उठाउन पाएको र आफूले पनि केही कुरा सिक्न पाएको बताउनुभयो ।

सांसद नारायण मरासिनीले सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्न आग्रह गर्दै पहिरोका कारण नियमितरुपमा यातायात सञ्चालनमा समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रेम सुवालले भक्तपुरमा वितरित इन्टरनेट सेवा गुणस्तरीय नभएकाले अस्पतालमा उपचाररत बिरामी र विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले कठिनाइ भोग्नुपरेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खेमप्रसाद लोहनीले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावितको क्षतिपूर्ति, मुआब्जा, पुनर्बास र पुनर्स्थापनाको काम बाँकी नै रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद गजेन्द्र महतले सिङ्गो कर्णालीलाई पाल्नसक्ने रारा ताल तथा त्यस क्षेत्रमा फैलिएको निकुञ्जलाई पूर्वतर्फ स्थानान्तरण गर्न आग्रह गर्नुभयो । - रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्