Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णाली प्रदेशमा पहिलो पटक खोरेत रोग विरुद्धको खोप अभियान रुकुमबाट सुरु

tribeni2

रुकुम पश्चिम / कर्णाली प्रदेशमा पहिलो पटक पशुहरुमा खोरेत रोग विरुद्धको खोप अभियान सुरु गरिएको छ । पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले रुकुम पश्चिमबाट पशुहरुमा लाग्ने खोरेत रोग विरुद्ध खोप अभियान सुरुवात गरेको हो ।

प्रयोगशालाका पशु चिकित्सक लक्ष्मी नारायण दासका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमको सहकार्यमा प्रदेशमै पहिलो पटक खोरेत रोग विरुद्धको खोप अभियान चलाईएको हो । उहाँले रुकुम पश्चिमका ५० हजार पशुहरुमा उक्त खोप लगाउने लक्ष्य रहेको बताउनुभयो ।

जिल्लाको मुसीकोट नगरपालिका २, कालच्यूरीमा रहेको सिद्धबाबा कृषि फर्ममा रहेका गाई, भैंसीलाई खोप दिएर अभियानको सुरुवात गरिएको हो । असोज १ गतेबाट सुरु भएको खोप अभियान असोज ९ गतेसम्म जिल्लाभरमा संचालन हुने पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घर–घरमै पुगेर गाई, भैंसी, भेडा, बाख्रा, बंगुर, सुँगुर लगायतका पशुलाई खोरेत रोग विरुद्धको खोप दिइने छ । यसका लागि जिल्लाका सबै पालिकामा ३५ जना खोपकर्ता परिचालन गरिएको निमित्त प्रमुख शर्माले बताउनुभयो ।

जिल्लाका ६ वटा स्थानीय तहमा रहेका पशुलाई खोरेत रोग विरुद्धको खोप दिनको लागि पशुपंक्षी रोग अन्वेषन प्रयोगशाला सुर्खेतले ४० हजार खोप सहयोग गरेको छ भने १० हजार खोप पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले व्यवस्था गरेको छ ।

पशुहरुमा खोरेत रोग विरुद्धको खोप अभियान उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लामा पशुपालनको राम्रो सम्भावना रहेकोले पशुहरुलाई लाग्ने हरेक खालमा रोग विरुद्ध सचेतनाका कार्यक्रम जरुरी रहेको बताउनुभयो । उहाँले पशुपालक किसानहरुको व्यवसायीक हितको लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेकोले दत्तचित्त भएर पेशामा लाग्न किसानहरुलाई आग्रह गर्नुभयो । किसानहरुमा परिआएका समस्या समाधानका लागि आफु लागिपर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।

खोरेत रोग खुर फाटेका जनावरहरुमा लाग्ने सरुवा रोग भएकोले अन्य पशुहरुमा सर्नबाट रोक्नलाई अभियानकै रुपमा खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको हो । यो रोग लागेमा पशुहरुको खुट्टा तथा मुखको वरिपरी घाउ हुने, गन्हाउने, पाक्ने, पशुहरुलाई ज्वरो आउने लगायतका लक्षण देखा पर्ने पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका पशु चिकित्सक लक्ष्मी नारायण दासले जानकारी दिनुभयो ।

भैसीमा खोप लगाएर खोरेत रोग विरुद्धको अभियान सुरुवात गर्नुहुँदै पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका पशु चिकित्सक लक्ष्मी नारायण दास ।



प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्