तीन बर्षिय नाबालक बिनाकसुर रुकुमको कारागारमा

रुकुम पश्चिम / सुधारगृहको रुपमा चिनिने कारागारमा एक नाबालक दुईबर्ष देखि बिनाकसुर सजाय भोगिरहेका छन् । रुकुम पश्चिमको मुसीकोटस्थित कारागारमा एक नाबालकले बिनाकसुर सजाय भोगिरहेका हुन् ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका –६, का तीन बर्षिय नाबालक प्रभास लोहरले कारागारमा अभिभावकसँगै सजाय भोगिरहेको कारागार कार्यालय रुकुमपश्चिमले जनाएको छ । लागूऔषध (अफिम) मुद्दामा कैद सजाय भोगिरहेकी आमा गाइने कामीको कारण नाबालक कारागारमा बस्नु परेको हो ।

कारागार कार्यालय रुकुमपश्चिमका प्रमुख प्रमुख अकबिर घर्तिका अनुसार नाबालक प्रभास आमासँगै २०७७ साउन ९ गतेदेखि कारागारमा रहेका छन् । प्रभास अदालत आउँदा एक वर्षका मात्र थिए । गाईने कामी बिरुद्ध रुकुमकोट जिल्ला अदालतले २०७८ पुस ८ गते १५ वर्ष कैद, पाँच लाख जरिवाना र २० हजार क्षतिपुर्तिको फैसला गरेको थियो ।

महिला ब्लकमा रहेका नाबालकले कैदीबन्दीहरुले झेल्दै आएका अन्य समस्याहरु पनि झेलिरहेका छन् । पाँच जना महिलाको क्षमता रहेको यस कारागारमा अहिले नौ जना महिला कैदिबन्दी रहेका छन् । नौ जना महिलाहरुसँगै नाबालकले आफ्नो बाल्यकाल बिताईरहेका छन् ।

बस्ने, खाने, सुत्ने, खेल्ने लगायतका विषयमा नाबालकका कानूनी अधिकार खुम्चिएको नेपाल बार एशोसियशन रुकुमपश्चिमका अध्यक्ष अधिवक्ता गणेश हमालले बताउनुभयो । नाबालकलाई कारागारमा राखिनुले बालकलाई थप पीडा हुने गरेको उहाँले उल्लेख गर्नुभयो । बालबालिका सम्बन्धि ऐन, २०७५ अनुसार नाबालकलाई बाल सुधार गृहमा वा अभिभावकको जिम्मामा राखिनुपर्ने हुन्छ । बिनाअपराध नाबालकलाई यसरी कारागारमा राखिनु बालअधिकारको ठाडो उल्लंघन भएको अधिवक्ता हमालले जनाउनुभयो । जिल्लामा बाल सुधार गृह छैन ।

कारागारमा कैद भुक्तान गरिरहेकी आमासँगै रहेका प्रभासलाई भविष्यमा मानसिक समस्या हुनसक्ने मनोविमर्शकर्ता दीपा धितालले बताउनुभयो । महिला पुनस्र्थापना केन्द्र रुकुमका जिल्ला संयोजक समेत रहनुभएकी धितालले बाल्यकाल कारागारमा बिताउँदा बाहिरि संसार थाह नहुने भएकोले भविष्यमा समस्या हुनसक्ने उल्लेख गर्नुभयो । सन्तुलित तथा पोषणयुक्त आहार, स्याहारसुसार लगायतको कमीको कारण कारागारमा रहेका नाबालकको स्वास्थ्य बाहिरका बच्चाको जस्तो नहुने पनि उहाँले जनाउनुभयो ।

२५ जना कैदीबन्दीको क्षमता रहेको कारागार कार्यालयमा हाल ११५ जना रहेका छन् । १०५ पुरुष, नौ जना महिला र एक नाबालकले कारागारको साघुँरो र कठिन समय भोगिरहेका छन् । क्षमता भन्दा चार गुणा बढी कैदी बन्दीको कारण कैदीहरुलाई सुत्न, खेल्न, पानी तथा शौचालयको प्रयोगमा समेत कठिनाई हुने गरेको छ ।

रुकुम अदालत रुकुमपश्चिम र रुकुमकोट जिल्ला अदालत रुकुमपूर्वबाट भएका फैसला कार्यान्वयनको लागि रुकुमपश्चिममा रहेको कारागार कार्यालयमा कैदीबन्दीहरुलाई राखिने गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्