कविता - प्रेम संगको मेरो प्रेम

  • विद्याश्री सिंह
तिम्रो पाँगो हृदयमा उम्रीएका भावनाका बेर्नाहरु
यो बलौटे पत्थरिलो छातीमा सार्नु पहिले,
पर्ख!
सोचेको छौँ ?
कौसीमा सार्दा,कसरी औलाउछन्?
करेसाका कलिला मुनाहरु,
पाउन छाडे अञ्जुली भरीको ओसिलो प्रेम!
 
देखेको छौँ?
सडेर जान्छ!पाकेर परिपक्व भएको बाली पनि,
समयमै भेटेन भने ओभानो आश्रय!
म चाहन्न,
तिम्रो प्रेम पनि मेरो छातिमा ओइलिएर सडोस!
अबोध प्रेम संग अथाह प्रेम छ मलाई
तर अथाह प्रेम माथि भरोसा छैन।
 
खहरे जस्तो उर्लदो प्रेमले
अक्सर बगाएर लान्छ आँखाको गाजल
हृदयको सिढी चडेर उक्लिएको प्रेम
आँखा बाट ओर्लिएको हेर्न
मन्जुर छैन यी आँखाहरुलाइ!
नाइल जस्तो लामो यात्रा गर्न नदिए पनि नियति ले
प्रेमको सुपेरियरमा डुबुल्की मार्न सकियोस्!
 
भन!
के त्यति स्वच्छ छन् तिम्रा संकल्पहरु?
जन्जिर बिना नै बाध्न सक्नुपर्छ प्रेमलाई,
घागो बिना नै उड्न दिनुपर्छ।
सम्बन्धको साघुरो परिधि भन्दा
फराकिलो हुनसक्छ बिचारहरुको उडान!
के सक्छौं?
सम्झौताहरुको पर्खाल भत्काएर अन्कुराएका
बिचारहरु संग सहकार्य गरेर मुस्कुराउन!
 
मान्छे,
कल्पनाको जस्तो सहज
अनि पर्दामा जस्तो सुन्दर मात्रै हुँदैन प्रेम!
नयनका केही शंकास्पद हर्कदहरु,
हृदयका केही अस्पष्ट चालहरुले पनि
प्रश्नवाचक लगाउन सक्छन् भावनाहरुको व्याकरणमा
अर्धवयस्क सम्बन्ध माथि पनि लागिदिनसक्छ पुर्णविराम!
समर्पणको महाकाव्य लेख्न नसके पनि
'प्रेमीले' सगौरव लेख्न सक्नुपर्छ, निष्ठाका अनुच्छेदहरु!
के त्यति सत्यनिष्ठ छन् ? तिम्रा आचरणहरु!
 
शंकामा बाचेको प्रेम,
अनि सम्झौताले मात्रै हुर्किएका सम्बन्धहरु लाई
प्रेम गर्दिन म!
विकल्पमा उभिएको प्रेम भन्दा,
प्रेम संगको वियोग स्वीकार्छ मेरो स्वाभिमानले
 
त्यसैले,
अलमस्त अनुराग
उर्लदो उत्तेजना
अस्थिर पैताला संगै
डगमगाउदो धरातलमा उभिएर
मेरो अञ्जुलीमा आफ्नो प्रेम पोख्नु पहिले
तिमीले यति याद राख्नु
म मेरो पहिलो प्रेम लाई पनि
दोस्रोपटक प्रेम गर्न सक्दिन।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्