Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लेकबाट बेँसी झरे गोठाला

२०७९ असाेज ८
tribeni2

रुकुम पूर्व / लेकमा थरिथरिका फूल फूल्न थाले, बतास चिसो चल्न थाल्यो । शरद यामसँगै चाडबाड नजिकिए । गाउँमा मकै पाक्न थाले । रुकुम पूर्वको भूमे गाउँपालिका -३ को राम्लीलेकबाट गाईवस्तुसँगै औल (बेशी) झरेका छन्, गोठालाहरु ।

समुन्द्र सतहबाट लभगभ दुई हजार पाँच सय मिटर उचाईमा रहेको राम्ली लेकमात्र हैन रुकुमपूर्व, रोल्पा र बाग्लुङको सिमानामा रहेको पाथीहाल्न लेक, पुथा उत्तरगंगा गाउँपालिकाको १२ र भूमे गाउँपालिकाको सिमाना रिकाधुरी, साउने भदौरे लेक, पुथा उत्तरगंगाको बुकिपाटन लगायतका लेकबाट गाईभैसीका गोठ गाउँमा झारिएको छ ।

वर्षायामभरिमा पाटनमा गुड लगाएर बसेका गोठहरु असोज ५ को मौकामा बेशी झर्न झरेका छन् । करिब ६ महिनासम्म लेकमा गोठ लिएर बसेका गोठाहरु असोज ५ मा गाउँ फर्कन्छन् । ‘बुढापुरानाले पहिलेदेखि असोज ५ मा गोठगाउँ ल्याउने रिति बसोलेकोले हामीले पछ्याईरहेका छौ’, भुमे गाउँपालिका –३, का सम्पति मगरले भन्नुभयो, ‘५ गतेभित्र गाउँझरिसक्नु पर्छ, यो हाम्रो गाउँले नियम हो ।’ जेठमा लेकमा गोठ सारेका सबै गाउँलेहरुले असोज ५ भित्र औलमा गाईगोरु ल्याईसक्छन् । सम्पति मगरका अनुसार भेडिगोठ भने लेकमै रहन्छन् ।

‘हिउँद लाग्यो, जाडो भयो त्यसकारण झरिम्’, मगरले आफूले जेठमा लेकमा गोठ लिएको सुनाउदै थप्नुभयो, ‘बल्ल गाउँघरमा चाडपर्व आएको जस्तो हुन्छ अब ।’ लेक देखि बगरसम्म गोठ सार्ने काम नगरेमा आफ्नो पशुपालन पेशा संकटमा पर्ने यहाँका स्थानीयहरु बताउछन् ।

गाउँमा रहेको बारीभरिमा मकै लगाएगर लेकतिर लाग्छन् । डिंगा (गाईभैसी) बाध्ने ठाउँ समेतको अभाव हुँदा सबै किसानले गाई, भैसी, भेडा, बाख्रा मकै लगायतका बाली तयार नुहन्जेल लेककै गोठमा राख्छन् । गाउँमा बालिबोट थन्काउनलाई पनि घरमूलि गाईवस्तुसँगै असोजमा गाउँ आईपुग्छन् । स्थानीयहरुलाई पनि बर्षामा लेक राम्रो, हिउँदमा गाउँ राम्रो लाग्छ । लेकबाट झर्दै गर्दा आधा बाटोसम्म लिन आउने बालबच्चाहरुको खुशिले छुट्टै रौनक दिएको हुन्छ । बर्षायामभरिमा सुनसान गाउँ असोज लोगपछि रमझम हुन्छ ।

लेकबाट गाईभैसीसँगै गाउँ झर्न लागेकी भुमे गाउँपालिका -३ कै लयनसरी बुढाले गर्मी छल्न र गाउँभैसीलाई ताजा घासपात खुवाउन लेक गएको बताउनुभयो । ‘लिएको अन्नपात सकियो, भएको घाँसपात खुवाईयो’ लयनसरीले भन्नुभयो, ‘अब गाउँमा गाईभैसीको गोठ बनाएर मल र माटो मिस्ने हो ।’ उहाँका अनुसार मकै भाँचेर अब बारीमा गोठ बनाईन्छ । गहुँ छर्नका लागि खेतमै गोठ बनाउँदै गोठ सार्दै गर्ने चलन रहेको छ । मंसिरमा गहुँ छरेपछि पुस देखि फागुन सम्म घरमै रहन्छन्, गोठाला र वस्तुभाउ । यतिबेला हिउँको कारण अन्यत्र जान नसकिने पनि हुन्छ ।

भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढाले वस्तुभाउ चराउन,, घाँस काट्न, गाईभैसी दुहुनु र गोठ स्यार्नमा लेकमा करिब ६ महिना व्यस्त रहेका गाउँपालिकाका विभिन्न वडाका किसानहरु गाउँ फर्किका छन् । यस बिचमा बालबालिकाहरु विद्यालय जानलाई र केहि महिलाहरु घरभन्दाको लागि गाउँमै बसेका हुन्छन् । बुढाका अनुसार लेकबाट फर्केकाहरुको माहौलले गाउँमा परदेशीहरु आएझै भएको हुन्छ । लेकमा रहँदा गोठालेहरुले डोको, दाम्ला र कम्बलहरु पनि बुनेका हुन्छन् ।

असोज १ देखि ५ गते सम्म तकबाट बुकि गएकाहरु, भूमेका बिभिन्न गाउँबाट राम्ली लेक, पाथिहाल्न, साउने भदौरे खर्क गएका गोठालाहरु गोठसँगै गाउँ फर्किने चलन रहेको बुढाले बताउनुभयो । पशुपालनका लागि राम्रो सम्भावना रहेको यस जिल्लामा लेक सार्ने र बेशी झार्ने क्रम पुखौदेखि नै चलिआएको हो ।

 

 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०७:०९
प्रतिक्रिया दिनुहोस्